News and Updates

देउखुरी दाङ, १७ वैशाख । घोराही उपमहानगरपालिका–८ कटुकीका वसन्ती चौधरी समूहमा आबद्ध भएको दुई वर्ष भयो । उनी जनचेतना महिला कृषक समूहको कोषाध्यक्ष हुन् । समूहमा रहेका २० जनाले सामूहिक खेती गर्ने गरेको उनले बताए ।
उनले भने, “नौ कट्ठा जमिन भाडामा ल्याएर आलु र प्याजखेती गरेका थियौँ, आलु उत्पादन राम्रो भयो र प्याज पनि राम्रो भएको छ, दुई वटा टनेल बनाएर खेती गरेका छौँ, कृषि ज्ञान केन्द्र दाङले लक्षित वर्गका लागि बजेट सहयोग गरेको छ ।” सोही कार्यालयले २० जनालाइ रु २० हजारका दरले बीउपुँजी सहयोग गरेको उनले बताए ।
“समूहमा आबद्ध भएपछि सरकारी कार्यालयमा के के कार्यक्रम आउछन्, त्यसका बारेमा जानकारी हुने गरेको छ”, उनले भने । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दाङले बङ्गुरपालनका लागि खोर बनाउन रु १० लाख बजेट सहयोग गरेको उनले बताए ।
जनचेतना महिला कृषक समूहका अध्यक्ष देउकुमारी चौधरीले वित्तिय साक्षरता सिकेर बचत गर्न, लगानी गर्न, ऋण व्यवस्थापन गर्न, आम्दानी र खर्चमा योजना बनाउन जानेको बताए । उनले भने, “सामूहिक काम गर्दा छिटो र छरितो हुने गरेको छ, खेताला लगाउन नपर्ने सजिलै काम सकिने भएको छ ।”
घोराही–१२ का नन्दा योगीले मौरीपालन तालिम लिएर मौरी पाल्न सुरु गरेका छन् । मुक्त कमलरी विकास मञ्च र सोसेक नेपालले तालिमसँगै पाँच घार मौरी दिएको थियो । मौरीपालन तालिमपछि व्यावसायिक रुपमा पालन सुरु गरेको उनले बताए । अहिले उनीसँग १० घार मौरी छन् ।
उनका अनुसार करिब ८६ किलो मह उत्पादन भएको र सबै बिक्री भएको थियो । रु ५०० देखि रु ६०० प्रतिकिलोमा बिक्री गरेको उनले बताए । गाईबस्तु पालेकोभन्दा सजिलो हुने भएर यो काम राम्रो लागेको उनले बताए । उनका अनुसार तालिमपछि क्षमता विकास र वित्तीय साक्षरता पनि भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१६ टिक्रालहलौराकी उर्मिला चौधरी पूर्वकमलरी हुन् । उनी प्रगति पशुपालन महिला समूहको अध्यक्ष बनेका छन् । समूहमा आबद्ध भएपछि उनले च्याउखेतीको तालिम लिए । उनले समूहमा आबद्ध भएपछि रु ३० हजार घुम्ती कोषबाट पैसा लिएर च्याउखेती गरे ।
चार सय लोकल कुखुरा र दुई हजार ५०० गिरीराज कुखुरापालन गरेर प्रशस्त आम्दानी गरेको उनले बताए। समूहले आम्मनिर्भर बनाएकाले यसैलाई निरन्तरता दिने उनले बताए । उनीहरुको ३० जनाको समूह छ । उनका अनुसार घुम्ती कोषको पैसा एक वर्षमा साँवामात्रै फिर्ता गर्नुपर्छ ब्याज लाग्दैन ।
घोराहीका उपप्रमुख हुमा डिसीले मुक्तकमलरीसँग सहकार्य गरेर काम गरेको बताए । “विभिन्न तालिम दिएर काम गरेका छौँ”, उनले भने । पालिकाभित्र रहेका छाना नभएकालाई मुक्त कमलरीलाई छाना दिने कार्यक्रम रहेकाले छाना नभएकाहरुले पालिकामा सम्पर्क गर्न उनले आग्रह गरे । सीप सिकेकालाई स्वरोजगार बन्न पनि उनले आग्रह गरे ।
मुक्त कमलरी विकास मञ्चका परियोजना अधिकृत सुवोध चौधरीले मुक्त कमलरी सशक्तीकरण परियोजनाअन्तर्गत प्रत्यक्ष ४६५ जनालाई सहयोग गरेको बताए । उनले दाङका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकामा कार्यक्रम लागू भएको छ ।
लक्षित वर्गमा पूर्वकमलरी, सीमान्तकृत तथा असहाय रहेको बताए । महिलाहरुले समूह बनाएर व्यावसायिक कामबाट आम्दानी गर्न थालेको उनले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया