२७ फाल्गुन २०८२, बुधबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

वातावरणमैत्री यातायात र विकास संरचना नेपालको प्राथमिकतामाः मन्त्री दाहाल

काठमाडौँ, २९ चैत । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वातावरणमैत्री यातायात र विकास संरचना नेपालको प्राथमिकतामा रहेको बताएका छन् ।

सोसाइटी अफ ट्रान्सपोर्ट ईन्जिनियर्स नेपालको आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटनका क्रममा उहाँले विकास संरचना निर्माणदेखि नै वातावरणीय क्षति हुन नदिनेमा सचेत रहने र वातावरणमैत्री सवारीसाधनलाई प्रोत्साहन गरिने उनको भनाइ छ ।

नेपालकोे यातायात प्रणालीलाई आधुनिक र सुव्यवस्थित बनाउन सरकार सक्रिय रहेको उल्लेख गर्दै मन्त्री दाहालले वातावरणमैत्री, दिगो, प्रविधियुक्त, अपाङ्तामैत्री र प्रयोगकर्तामैत्री यातायात प्रणाली विकास गर्ने नेपालको लक्ष्य रहेको बताए।

“सुरक्षित, बलियो र वातावरणमैत्री सडक पूर्वाधार निर्माण गर्नुका साथै सहरी तथा ग्रामीण क्षेत्रलाई जोड्ने सडक सञ्जाल विस्तार गर्नु र सार्वजनिक यातायात, सडक सुरक्षालगायत क्षेत्रमा सुधार ल्याउन नीति र कानुनी संरचना लागू गर्नु अहिलेको आवश्यकता हा । सरकारले त्यसतर्फ काम गरिरहेको छ”, उनले भने।

दुई दशकअघिसम्म देशको मुख्य सडक पूर्व–पश्चिम राजमार्ग मात्र रहेको सन्दर्भमा पछिल्लो समय नेपालको पूर्वाधार निर्माण तीव्र रूपमा भइरहेको उल्लेख गर्दै मन्त्री दाहालले हालको अवस्थामा तीनवटा प्रमुख पूर्वपश्चिम राजमार्ग र एसियाली मापदण्डको एउटा राजमार्ग एकैसाथ निर्माण भइरहेको बताए ।

यसैगरी, उत्तर–दक्षिण राजमार्ग र करिडोरको पनि विकास भइरहेको र राजधानी काठमाडौँबाहेक व्यापारिक र रणनीतिक दृष्टिले महत्त्वपूर्ण सडक निर्माण भइरहेका उहाँले उल्लेख गरे । नेपालमा केही भएन र केही हुन सकेन भन्ने भाष्य चिर्न जरूरी रहेको भन्दै मन्त्री दाहालले सडक तथा पुलहरूका साथै हाल दुईवटा अन्तरराष्ट्रिय विमानस्थल निर्माण भइसकेका र नेपाल आधुनिक सुरुङमार्गको युगमा प्रवेश गरिसकेको धारणा राखे ।

“नागढुङ्गा सुरुङ आगामी एक वर्षभित्र सञ्चालनमा आउने तयारीमा रहेको र सिद्धबाबा सुरुङमा ‘ब्रेकथ्रु’ भइसकेको छ । काठमाडौँ—तराई—मधेश द्रुतमार्ग फास्ट ट्रयाक निर्माण तीव्र रूपमा भइरहेको छ”, मन्त्री दाहालले भने, “जसले केही भएको छैन भन्छन् नि उनीहरूलाई केही वर्षभित्रै चारदेखि छ लेनसम्मका पूर्वपश्चिम राजमार्ग र कम्तीमा दुई लेनका उत्तर–दक्षिण सडक पूर्ण रूपमा निर्माण भइसकेको देखाउनेछौँ ।”

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा पूर्वाधार निर्माणको अवस्था, चरण र भावी कार्यदिशाबारे प्रकाश पारेका थिए । तीनदिने सम्मेलनमा विश्वका विभिन्न देशका विज्ञ तथा प्राध्यापकहरूले कार्यपत्र प्रस्तुत गर्ने आयोजक संस्थाका अध्यक्ष डा हरेराम श्रेष्ठले जानकारी दिए ।