१८ कार्तिक २०८२, मंगलवार
अर्थ बागमती बैंक–वित्त मुख्‍य समाचार विचार समाचार समाज

वित्तीय क्षेत्रमा लगाइएको दोहोरो कर खारेजको माग

काठमाडौँ, २२ चैतः नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले वित्तीय क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्न र सामाजिक सुरक्षामा लगाइने दोहोरो कर खारेज गर्नुपर्ने माग गरेको छ ।
सङ्घको ३५औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सङ्घले श्रमको सम्मान, बैंक तथा वित्तीय संस्था÷कर्मचारीमाथिको आक्रमण रोक्नुपर्ने र समस्त वित्तीय क्षेत्रमा पूर्ण सुरक्षाको ग्यारेन्टी गर्नसमेत माग गरेको छ ।
सङ्गठित हुने, सामूहिक सौदाबाजी गर्ने श्रमिकको मौलिक अधिकार सुनिश्चित गर्न र काम गर्ने समय÷विश्राम÷सुरक्षासम्बन्धी श्रम ऐनको व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा सङ्घले जोड दिएको छ । सोही अवसरमा पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत सङ्घले उठाएका जायज माग पूरा गर्नको निम्ति पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सङ्घका अध्यक्ष पदमराज रेग्मीले आयकर छुटको सीमा वृद्धि गर्नुपर्नेमा जोड दिँदै नीति निर्माणमा श्रमिकको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, राजनीतिक हस्तक्षेप बन्द गर्न र श्रम ऐन कानुनको पूर्ण कार्यान्वयन गर्नुपर्ने बताए ।
अन्तरराष्ट्रिय श्रम सङ्गठन आइएओ अभिसन्धि नम्बर ८७ अनुमोदन गर्न माग गरेको सङ्घले सुमधुर औद्योगिक वातावरण निर्माण र बढ्दो महँगी नियन्त्रण गर्नुपर्ने माग गरेको छ । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर र पूर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेतले श्रमको उचित मूल्य हुनेपर्नेमा जोड दिए।
सङ्घले आज प्रभातफेरी कार्यक्रमसमेत गरिएको थियो । प्रभातफेरी भृकुटी मण्डपबाट सुरु भएर सहिद गेट, नयाँ बाटो रत्नपार्क हुँदै भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएको थियो ।