Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

‘बेरोजगारी समस्या, विदेसिनु बाध्यता’

रासस
6 महिना अघि

कमलामाई सिन्धुली, २७ फागुन । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी बजार शान्त छ । बसपार्क सडक छेवैका चिया पसलहरुमा भने चहलपहल देखिन्छ ।

गाउँ सुनसान पारेर सहरमा उज्यालो भविष्य खोज्न हिँडेका केही युवाहरु हतारोमा छन्, कोही गफमा मस्त । यहीँ एउटा कुनामा एक्लै चिया पिउँदै छन्, पुजन बस्नेत ।

पुजन सिन्धुलीको तीनपाटन गाउँपालिका–११, कन्याखोलाका बासिन्दा हुन् । २२ वर्ष पुगेका यी युवाले सूचना तथा प्रविधि आइटीमा स्नातक गरेका छन् । उनीसँग वेबसाइट बनाउने, मोबाइल एप बनाउने, ग्राफिक्स डिजाइन र भिडियोग्राफी गर्ने सीप छ । तर, सीप र सङ्र्घर्र्षअनुसारको कमाई छैन ।

पुजन जिल्लामै केही गर्ने सोचले अघि बढ्न खोजे । आफ्ना साथीसँग मिलेर स्थानीय रूपमा केही काम गर्ने प्रयास गरे । तर, लगानीको अभाव भयो । बैङ्कहरूले कर्जा पत्याएनन्, परिवारको आर्थिक कमजोर थियो । “तपार्इसँग सीप छ, आफ्नै व्यवसाय थाल्न सक्नुहुन्छ नि ” उनले मुस्कुराउँदै भने, “लगानी छैन । बिना धितो बैङ्कले कर्जा दिँदैन । विदेश गएर पैसा कमाउँछु, अनि फर्केर व्यवसाय गर्छु ।”

रोजगारीका लागि विदेसिनु उनको रहर नभएर बाध्यता बन्यो । उनले देशमै रोजगारीको प्रयास नगर्नु भएको कहाँ हो र स्थानीय तहमा आइटी अफिसरका लागि आवेदन दिए । १५ पटक परीक्षा दिए । लिखितमा नाम निस्कियो, तर मौखिकमा भने जति पैसा बुझाउन नसक्दा अनुत्तीर्ण गराइयो । “एक पटक होइन, पटक–पटक पैसा मागियो । एउटा पालिकामा आठ लाखसम्म मागियो । मैले कहाँबाट ल्याउनु त्यति पैसा ” उनले चियाको चुस्की लिँदै भने, “त्यसैले अब विदेश जाँदैछु ।” जगिरमा लाग्न शक्तिमा भएकाहरुको सिफारिस वा घूस चाहिने तीतो अनुभव पुजनले निराश हुँदै सुनाए।

हुन त, पुजनले जिल्लास्थित एक संस्थामा सीपअनुसारको काम गरिराख्नुभएको छ । तर श्रमअनुसारको पारिश्रमिक नपाउँदा उहाँमा नैराश्यता भित्रिएको छ ।

श्रम बिहानदेखि रातिसम्म गर्नुपर्छ । तोकिएको रु १० हजार मासिक तलब पनि समयमा पाइँदैन । यसले आफ्नो व्यक्तिगत जीविका गुजार्नसमेत उनलाई धौधौ हुन्छ ।

पुजनका धेरैजसो साथीहरू पहिल्यै विदेश गइसकेका छन् । कोही अस्ट्रेलिया, कोही अमेरिका, कोही खाडी मुलुकमा छन् । पुजनले पनि विदेश जाने प्रक्रिया पूरा गरिसकेका छन् । उनी अब केही दिनमै इटाली जाँदै छन् ।

सीप भएका, केही गर्ने जोस भएका तर अवसर नपाएका पुजनजस्तै युवाहरू जिल्लाभित्र कम छैनन् । देशभित्र अवसर खोज्न धाइरहेका छन् तर जब भ्रष्टाचार, सिफारिस र राजनीतिक चलखेलको सामना गर्नुपर्छ, उनीहरू हार खाएर विदेसिन बाध्य हुन्छन् ।

यो केवल एकजना युवाको कथा होइन, यो लाखौँ युवाको साझा व्यथा हो । यसैका कारण विशेषगरी जिल्लाको ग्रामीण क्षेत्रमा बिहानै खोल्सामा पानी भर्ने, खेतबारीमा जाने, गाउँलाई उज्यालो बनाउने, बिरामी पर्दा बुबाआमाको स्याहार गर्ने युवाहरु देखिँदैनन् ।

सुनसान देखिन्छन् गल्लीहरू । सहरको उज्यालो सपना बोक्ने युवाहरु यहाँ भेटिँदैनन् । कोही पढ्न हिँडेका छन्, कोही रोजगारीको खोजीमा छन्, कोही भने भोलिका अनिश्चित यात्राबारे सोचिरहेका भेटिन्छन् ।

एक्काइस वर्षीया सविना दनुवार पनि यस्तै यात्राको दोबाटोमा उभिएकी छीन् । अहिले बिबिएस दोस्रो वर्षमा अध्ययन गर्दै छीन् तर उनको पढाइ निरन्तर रहने कि अधुरै छोड्ने भन्ने अन्योल उस्तै छ । “घरको अवस्था दयनीय छ । जागिर छैन । दैनिक खर्च चलाउन गाह्रो छ । अब पढाइ छोडेर विदेश जाने सोच्दैछु,” सविनाले सुनाइन्।

सविनाका साथीहरूमध्ये कोही अस्ट्रेलिया गइसके, कोही दुबई । उनीहरूसँग बेलाबेला कुराकानी हुन्छ । “विदेश गएर दुःख गरे पनि यहाँभन्दा कमाई राम्रै छ,” भन्ने उनीहरूको भनाइले सविनालाई पनि त्यही बाटो रोज्न बाध्य बनाइरहेको छ । “सिन्धुलीमा जागिरका अवसर सीमित छन् । जहाँ अवसर छ, त्यहाँ सिफारिस चाहिन्छ, घूस चाहिन्छ । मसँग न त बलियो स्रोत छ, न त पैसा,” सविनाले भने ।

आफ्नो ठाउँमा आयआर्जन गर्ने अवसर नभेटेकी सविनालाई परिवारले विवाह गर्न दबाब दिइरहेका छन् । तर उनलाई आफ्नो खुट्टामा आफैँ उभिएर त्यो निर्णयमा पुग्ने सोच्च छ । पढ्दै, कमाउँदै गर्न कठिन सङ्घर्ष गरिरहनु भएकी सविना अब विदेश जाने तयारीमा छन् ।

पुजन र सविना त यस कथाका प्रतिनिधि पात्र मात्रै हुन् । जिल्लामा सञ्चालित कन्सलटेन्सीमा विद्यार्थीको भीडभाड हेर्ने हो भने सहजै अनुमान गर्न सकिन्छ की जिल्लाका थुप्रै युवा रोजगारीको खोजीमा विदेश जाने तरखरमा छन् ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट पाँच वर्षको अवधिमा २८ हजार ६५२ जना युवाले राहदानी बनाएको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७७ देखि २०८१ माघ १३ सम्म उक्त सङ्ख्यामा राहदानी बनाएका हुन् ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सूचना, परामर्श, सीप विकास, कानुनी सहायता, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता प्रदान गर्दै आएको सुरक्षित आप्रवासन परियोजना, सिन्धुलीका संयोजक विजय दाहालका अनुसार गएको दुई वर्षयता बर्सेनि १० हजार युवा जिल्लाबाट विदेश गइरहेका छन् ।

वैदेशिक रोजगार र पढाइको सिलसिलामा विदेश गएका युवाको आकलन तथ्याङ्क जिल्ला प्रशासन कार्यालय र सुरक्षित आप्रवासन केन्द्रमा हुने गरेको भए पनि फर्किएकाहरुको तथ्याङ्क सम्बन्धित निकायसँग छैन ।

सुरक्षित आप्रवासन केन्द्र, सिन्धुलीका अनुसार १६ वर्षयता रोजगारीका लागि विदेश गएकाहरुमध्ये १५१ जनाको विभिन्न कारणले उतैै मृत्यु भएको छ ।

एघार वर्षयता ५१ जना बिरामी र काम गर्ने सिलसिलामा अङ्गभङ्ग भएर फर्किएका छन् । यसरी फर्किनेहरुमा विदेश जाँदा लागेको ऋणसमेत तिर्न नसकेकाहरु रहेको पाइएको छ ।

नेपालमा सरकारले रोजगारी सिर्जना गर्न नसक्दा युवा विदेसिन बाध्य छन् । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि मुकेश घिमिरेका अनुसार सरकारले सीप भएकाहरुलाई समेत उचित अवसर प्रदान गर्न सकेको छैन ।

उत्पादनमूलक क्षेत्र सीमित हुनाका साथै उद्योग, कलकारखाना, व्यापार–व्यवसायलाई तथा निजी क्षेत्र प्रोत्साहित गर्ने नीति प्रभावकारी ढङ्गले लागू गर्न नसक्दा रोजगारीको अभाव झन् चर्किएको छ ।

स्थानीय सरकारले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नका लागि विशेष खालका कार्यक्रमहरु गरेको पाइँदैन । “सरकारले निजी क्षेत्रलाई आवश्यक सहजीकरण र प्रोत्साहन दिएको भए देशभित्रै रोजगारीको अवसर वृद्धि हुने थियो । तर त्यसो हुन नसक्दा, रोजगारी नपाएर नेपाली युवाहरू विदेसिन बाध्य छन्,” युवानेता घिमिरेले भने ।

देशभित्रै पर्याप्त रोजगारी सिर्जना गर्न सरकार र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको उनको बुझाइ छ । उत्पादनमूलक उद्योगहरू स्थापना गरी रोजगारी सिर्जना गर्न सके सीप भएका युवा विदेसिने बाध्यता कम हुने उनले बताए ।

हालै तीनपाटन गाउँपालिका–१ बेलघारीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेर बेलुका सिन्धुलीमाडी आइपुग्नुभएका कांग्रेस महामन्त्री गगनकुमार थापाले समय सान्दर्भिक विषयमा युवाहरुसँग संवाद गरे । युवाहरुले बढ्दो बेरोजगारीका कारण देश छाड्ने युवा बढिरहेका र समाजमा देखापरेका समस्याहरुका बारेमा सुनाएका थिए ।

महामन्त्री थापाले बेरोजगारी समस्याले युवाहरु विदेसिनु बाध्यता रहेका कुरालाई केन्द्रमा राखेर कांग्रेसले अब एक वर्षसम्म ‘मिसन रोजगारी’ अभियान सञ्चालन गर्ने जानकारी गराए ।

उनले भने, “रोजगारीका क्षेत्र र सम्भावनामाथि सबै क्षेत्रसँग बहस चलाउने कांग्रेसको योजना छ । यसले समस्याको पहिचान र समाधानको उपाय खोजी गर्न सहज हुनेछ । राजनीतिक छलफल, संसद् वा अन्य स्थानमा रोजगार केन्द्रित बहस हुन नसकेका बेला कांग्रेसले मिसन रोजगारी अभियान चलाउँदैछ ।”

रोजगारी सिर्जना गर्न सकिने माध्यम र समस्याका बारेमा पार्टीकै तर्फबाट अध्ययन र अनुसन्धान गरिने कांग्रेसको योजना छ । संवादका लागि छुट्याइएका विषयमा रोजगारीको अर्थ राजनीति, वैश्विक परिदृश्य, उत्पादकत्वको समस्या, सीपको समस्या, व्यावसायिक सुरक्षा, श्रम र रोजगारीको भविष्य लगायत छन् ।

महामन्त्री थापाले नेपालमा रोजगारी छैन भनिरहँदा किन प्राप्त हुन सकिरहेको छैन भन्नेबारे अध्ययन नभएको बताए ।

गत आइतबार नै कांग्रेसले ‘मिसन रोजगारी’ अभियान औपचारिक रुपमा सुरु भएको उद्घोष गरेको छ । के कांग्रेसको यो अभियानले माथिको कथाका प्रतिनिधि पात्रहरु पुजन र सविना जस्ता युवाहरु विदेसिनुको बाध्यता, बेरोजगारी र यसले समाजमा देखिएका समस्याहरुलाई सम्बोधन गर्न सक्ला त भन्नेको जवाफको खोजीमा धेरै युवा पर्खिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया