९ बैशाख २०८३, बुधबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

पशुपतिमा सुन दान आउन थाल्यो, व्यवस्थित गरौं : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई धार्मिक भावले बलियो बनाउने बताएका छन् ।

धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन)को आज पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरपरिसरमा शुभारम्भ गर्दै उनले मानिसलाई आत्मानुशासनमा ल्याउन धार्मिक भाव र लोकतान्त्रिक भाव आवश्यक पर्ने बताए ।

धार्मिक भाव र लोकतान्त्रिक भावले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई सबल बनाउने मन्त्री पाण्डेको भनाइ थियो ।

उनले भने, ‘पशुपति क्षेत्रमा आउने मानिस धार्मिक भावका हुन्छन्, यस्तो भाव हुनेहरुले जताततै फोहोर गर्नुभएन, आफूले गरेको फोहोर सही स्थानमा व्यवस्थापन गर्नुपर्छ, आत्मानुशासन हुने गरेकै कारण कति देशमा सडकमा ट्राफिक बस्नुपर्दैन, हामी पनि धार्मिक र लोकतान्त्रिक भावले त्यही मार्गमा अघि बढ्नुपर्छ ।’

यसका साथै, पशुपतिनाथ मन्दिरलाई सुन दान गर्ने दाता आउन थालेको उल्लेख गर्दै त्यसलाई व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्बाट समिति गठन गरिएको कार्यक्रममा जानकारी दिए ।

उनले भने, ‘सुन लिएर व्यवस्थित गर्ने कार्यविधि नभएका कारण समितिले अध्ययन गरेर आवश्यक कानुन निर्माणमा गरी दाताबाट सुन लिएर त्यसको सदुपयोग हुन्छ, गोवाका मन्त्रीले नै सुनदान गर्न चाहनुभएको छ, पशुपति क्षेत्रमा दानको सदुपयोग हुन्छ ।’

धर्म र संस्कृतिका क्षेत्रमा कलम चलाउने पत्रकार अरुका तुलनामा अनुशासित एवं उदाहरणीय बन्नुपर्ने मन्त्री पाण्डको विचार थियो ।