Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

आर्थिक विधेयकमाथि छलफलः राजस्व चुहावट नियन्त्रणमा सांसदको जोड

रातो कागज
1 वर्ष अघि

११ असार, काठमाडौँ । सांसदहरुले राजस्व चुहावटलाई नियन्त्रणमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ माथिको सामान्य छलफलका क्रममा सांसदहरुले राजस्व सङ्कलन प्रक्रियालाई व्यवस्थित गरेर मुलुकको ढुकुटी बलियो बनाउन सुझाव दिए ।

सांसद जीवन परिवारले आर्थिक विधेयकमा करका दायरा बढाउन भन्दा दर हेरफेरमा मात्रै ध्यान दिइइएकाले राजस्व चुहावटलाई ध्यान दिन आग्रह गरे । सांसद उदयशमशेर जबराले जलविद्युत् आयोजनामा शेयर किनबेच गर्दा राजस्व छली हुने स्थिति भएकाले त्यसलाई रोक्न माग गरे ।

सांसद प्रेम सुवालले मुलुकमा प्रगतिशील कर प्रणाली लागू गरी जनताको घाँटी थिच्ने प्रणाली हटाउन माग गरे । उनले स्रोत नखुलेको सम्पत्तिलाई वैधानिक बाटोमा ल्याउने, विदेशमा सम्पत्ति राख्न नपाइने, जलविद्युत् आयोजना विदेशी दिन नहुने, चुरे दोहन गर्न नदिनेजस्ता नीति ल्याएमा मुलुक धनी हुने तर्क राखे ।

सांसद प्रभु साहले संविधानले दिएको सम्पत्तिको हकलाई कुनै कानुनले खोस्ने अवस्था आउन नहुने बताउनुभयो । सांसद मनिष झाले मुलुकको आर्थिक स्थिति बलियो नभएको अवस्थामा राजस्वको लक्ष्य निर्धारण गर्दा वास्तविकताका आधारमा गर्न र सङ्कलनका चुनौती सामना गर्ने नीतिमा केन्द्रित हुन सुझाव दिए ।

सांसद बद्रीप्रसाद पाण्डेले आर्थिक समृद्धिका लागि राजनीतिक स्थिरता र नीतिगत निरन्तरता हुनुपर्नेमा जोड दिए । सांसद श्यामकुमार घिमिरेले नेपालमा विश्वका अन्य मुलुकका तुलनामा धेरै करका दर उच्च भएको मुलुक भएको स्थितिमा लगानी अभिवृद्धि हुन नसक्ने भनाइ राखे।

प्रतिनिधिसभाबाट आजै विनियोजन विधेयक, २०८१ पारित भएपछि आर्थिक विधेयकमाथि छलफल सुरु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया