१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार

अन्तिम खेलअघि ‘समूह–२’ को अवस्था : ‘गर या मर’ !

९ असार, काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा आइतबार राति र सोमबार बिहान ‘सुपर–८’ चरणका दुई खेल हुँदैछन् । यी दुई खेलले ‘सुपर–८’ चरणको समूह–२’ बाट सेमिफाइनलमा पुग्ने दुई टोलीको टुङ्गो लगाउने छ ।आइतबार रातिको खेलमा आयोजक राष्ट्र अमेरिकाले साबिक विजेता इङ्ल्यान्डलाई चुनौती दिँदैछ । उक्त खेल ब्रिजटाउनस्थित केनसिङ्टन ओभल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार, राति २०ः१५ बजे सुरु हुनेछ ।

अर्को खेल आयोजक राष्ट्र वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबिच खेलिने छ । उक्त खेल एन्टिगुआस्थित सर भिभियन रिचर्डस स्टेडियममा नेपाली समयअनुसार सोमबार बिहान ६ः१५ बजे सुरु हुनेछ । त्यो खेलसँगै ‘सुपर–८’ चरणको ‘समूह–२’ को भिडन्त पनि सकिनेछ ।सुपर–८’ चरणअन्तर्गत ‘समूह–२’ को समीकरण रोचक मोडमा छ । चारवटै टोलीको अन्तिम चरणमा स्थान बनाउने सम्भावना जीवितै छ । यद्यपि, अमेरिका अझै अङ्कविहीन अवस्थामा छ । चारवटै टोलीले दुई–दुई खेल खेलिसकेका छन् ।

हालसम्म अपराजित रहेको दक्षिण अफ्रिका चार अङ्कसहित तालिकाको पहिलो स्थानमा आसीन छ । दुई–दुई अङ्क जोडेका वेस्ट इन्डिज र इङ्ल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । अमेरिका तालिकाको चौथो स्थानमा छ ।

आइतबार राति खेलिने खेलमा अमेरिकाले इङ्ल्यान्डलाई हराए तीनवटा टोलीको दुई–दुई अङ्क पुग्नेछ । यस्तो स्थितिमा सेमिफाइनलमा पुग्ने दुई टोलीको टुङ्गो लगाउन दक्षिण अफ्रिका र वेस्ट इन्डिजबिचको खेलको नतिजा पर्खनुपर्ने हुन्छ ।

तर, आइतबार रातिको खेलमा इङ्ल्यान्डले अमेरिकालाई हराएमा पनि समीकरण रोचक नै रहने छ । त्यसपछि अमेरिका उपाधि होडबाट बाहिरिने छ भने इङ्ल्यान्ड र दक्षिण अफ्रिकाको चार–चार तथा वेस्ट इन्डिजको दुई अङ्क हुनेछ ।

यस्तो स्थितिमा पनि वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबिच सोमबार बिहान खेलिने खेल निर्णायक बन्नेछ । सोमबार बिहान हुने खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई हराए तीनवटा टोलीको अङ्क चार–चार पुग्नेछ । त्यसपछि नेट रन रेटका आधारमा सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लगाइने छ ।

तर, अन्तिम खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई हराएमा दक्षिण अफ्रिका र इङ्ल्यान्ड सेमिफाइनलमा पुग्नेछन् । त्यसैले अहिले नै ‘सुपर–८’ चरणको ‘समूह–२’ बाट सेमिफाइनलमा पुग्ने टोलीको अनुमान गर्न गाह्रो छ ।

अङ्कमा पछाडि परे पनि दक्षिण अफ्रिकाभन्दा वेस्ट इन्डिजको नेट रन रेट निकै राम्रो छ । हाल दक्षिण अफ्रिकाको नेट रन रेट ०.६२५, वेस्ट इन्डिजको नेट रन रेट १.८१४, इङ्ल्यान्डको नेट रन रेट ०.४१२ र अमेरिकाको नेट रन रेट –२.९०८ रहेको छ ।

अमेरिकाविरुद्ध इङ्ल्यान्ड

अमेरिका र इङ्ल्यान्ड दुवै प्रारम्भिक चरणमा दुई फरक समूहको उप–विजेता बन्दै प्रतियोगिताको ‘सुपर–८’ चरणमा पुगेका हुन् । अमेरिका समूह ‘ए’ को उप–विजेता बनेको थियो । अमेरिकाले प्रारम्भिक चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

प्रारम्भिक चरणमा आयोजक अमेरिकाले चारमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको थियो । अमेरिकाको एक खेल भने अनिर्णीत रूपमा सकिएको थियो । अमेरिकाले आफ्नो पहिलो खेलमा क्यानडालाई सात विकेटले हराएको थियो ।

अमेरिकाले आफ्नो दोस्रो खेलमा पूर्वविजेता पाकिस्तानलाई ‘सुपर ओभर’ मा हराएको थियो । सोही हारका कारण पाकिस्तान प्रारम्भिक चरणबाटै घर फर्कन बाध्य बनेको थियो । भारतसँग भने अमेरिकी टोली सात विकेटले पराजित भएको थियो । अमेरिका र आयरल्यान्डबिचको खेल वर्षाका कारण अनिर्णीत रूपमा सकिएको थियो ।

इङ्ल्यान्ड भने समूह ‘बी’ को उप–विजेता बन्दै ‘सुपर–८’ चरणमा पुगेको हो । इङ्ल्यान्डले पनि चारमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको थियो । इङ्ल्यान्डको एक खेल भने अनिर्णीत रूपमा सकिएको थियो । इङ्ल्यान्ड र स्कटल्यान्डबिचको खेल वर्षाका कारण रद्द भएको थियो । आफ्नो दोस्रो खेलमा इङ्ल्यान्डको टोली अस्ट्रेलियासँग ३६ रनले पराजित भएको थियो ।

पछिल्ला दुई खेलमा इङ्ल्यान्ड लयमा फर्किएको थियो । तेस्रो खेलमा इङ्ल्यान्डले ओमानलाई आठ विकेटले हराएको थियो । चौथो खेलमा इङ्ल्यान्डले नामिबियालाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ४१ रनले पराजित गरेको थियो ।

‘सुपर–८’ चरणमा भने इङ्ल्यान्डले आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा इङ्ल्यान्डको टोली दक्षिण अफ्रिकासँग सात रनले पराजित भएको थियो । अमेरिका भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग १८ रनले र दोस्रो खेलमा वेस्ट इन्डिजसँग नौ विकेटले पराजित भएको थियो ।

टी–२० विश्वकपमा इङ्ल्यान्डको यो नवौँ सहभागिता हो । सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै इङ्ल्यान्डले टी–२० विश्वकप खेल्दै आएको छ । इङ्ल्यान्ड दुईपटक टी–२० विश्वकपको उपाधि जित्ने दोस्रो राष्ट्र पनि हो । इङ्ल्यान्डले सन् २०१० र सन् २०२२ मा उपाधि जितेको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected