रातो कागज

काठमाडौं । लिच्छवीकालीन राजा गुणकामदेवको पालादेखि निरन्तर चलिआएको राजधानी काठमाडौंको एक ऐतिहासिक, धार्मिक र सांस्कृतिक पर्व इन्द्रजात्रा (यँःया) यस वर्ष पनि भव्य ढंगले सुरु भएको छ ।
जात्राको प्रारम्भ अन्तर्गत भदौ ९ गते वनबाट यंसिँ (इन्द्रध्वज) काटेर ल्याउने कार्य सम्पन्न भइसकेको छ भने, उक्त यंसिँ भदौ १५ गते बिहान ९ः५२ बजे शुभ साइतमा नगर प्रवेश गराइएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।
जात्राको औपचारिक सुरुआत मानिने इन्द्रध्वज उत्थान (यःसिं थनेगु) भदौ १९ गते बिहीबार बिहान १०ः३१ बजे हुने कार्यक्रम तय गरिएको छ । परम्पराअनुसार चस्वाँद्व मानन्धर सनागःगू खलःका गुथियारले यंसिँ डोरीले कस्ने कार्य गर्नेछन् । यंसिँ उठेपछि सजिलै फुकाउन मिल्ने गरी विशेष सीपमा आधारित तरिकाले डोरी बाँध्ने चलन छ ।
जात्राको प्रमुख आकर्षण जीवित देवी कुमारीको रथ यात्रा यस वर्ष भदौ २१ गते शनिबार क्वने याः (तल्लो टोल) बाट सुरु हुनेछ । यसअघि राष्ट्रप्रमुखसहित विशिष्ट पदाधिकारीहरूले गद्दी बैठकबाट कुमारीको दर्शन गर्ने परम्परा अनुसार दर्शन गरिनेछ ।
भदौ २२ गते थने याः (माथिल्लो टोल) मा कुमारीको रथ यात्रा हुनेछ। त्यसपछि भदौ २६ गते राति १०ः३१ बजे इन्द्रध्वज विसर्जन (यःसिं क्वः थलेगु) संगै यस वर्षको इन्द्रजात्रा सम्पन्न हुनेछ ।
कुमारीको पूजा परम्परा मल्लकालसम्म पुगी जोडिएको छ । जनविश्वास अनुसार, तान्त्रिक शक्तिमा निपुण तत्कालीन राजाले देवीसँगको सम्बन्धमा अनुचित भावना उत्पन्न भएपछि श्रापित भएका थिए । त्यस पापमोचन र राज्य सुरक्षाको लागि कुमारी पूजा र रथ यात्रा आरम्भ गरिएको विश्वास छ ।
इन्द्रजात्राका अवसरमा काठमाडौंको विभिन्न ठाउँ—काष्ठमण्डप, इन्द्रचोक, नरदेवी, किलाघः, ज्याठा लगायतमा इन्द्रका मूर्तिहरू प्रदर्शन गरिनेछ । काष्ठमण्डप नजिक ३० फिट अग्ला ४ वटा खम्बामा राखिने इन्द्रको मूर्ति विशेष आकर्षणको केन्द्र बन्नेछ ।
पुरानो जनविश्वास अनुसार, आमा बसुन्धराका लागि फूल चोर्न आएकै क्रममा इन्द्र यसै ठाउँमा समातिएका थिए, र उनलाई बाँधिएको भनिन्छ । यही कथाका आधारमा मूर्ति प्रदर्शनको चलन रहेको हो ।
इन्द्रजात्राको गरिमा बढाउन काठमाडौं महानगरपालिका, ललितपुर, भक्तपुर र कीर्तिपुरका नगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल कला परिषद्, होटल एसोसिएसन नेपाल, युनेस्को क्रियटिभ सिटिज नेटवर्क लगायत संस्थासँग सहकार्यमा विभिन्न कार्यक्रम आयोजना हुने भएका छन् ।
जात्रासँग सम्बन्धित विविध पक्ष समेटिएको भिडियो डकुमेन्ट्री च्यालेञ्ज सञ्चालन हुने भएको छ ।
१६–४० वर्ष उमेर समूहका युवाहरूको सहभागिता अपेक्षित गरिएको छ । विजेतालाई पहिलो, दोस्रो र तेस्रो स्थान अनुसार क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ ।
‘काठमाडौँ महानगरमा जात्राको यात्रा’ भन्ने नारासहित भदौ २० गते जमलदेखि हनुमानढोकासम्म सम्पदा पदयात्रा आयोजना गरिने भएको छ । यसमा विशिष्ट व्यक्तित्व र कूटनीतिक नियोगका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।
महानगरपालिकाबाट तालिमप्राप्त महिलाले उत्पादन गरेका सामग्रीहरू, रैथाने नेवारी परिकार, माटोका सामान बनाउने जीवित प्रदर्शनी तथा फोटो पत्रकारले देखेको जात्रा सम्बन्धी तस्बिर प्रदर्शनी पनि भदौ २३, २४ र २५ गते आयोजना गरिनेछ ।
काठमाडौँ महानगरपालिकाले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई जीवित देवीदेवताहरूको रथयात्रा, तान्त्रिक नृत्य, परम्परागत वेशभूषा, सांगीतिक प्रस्तुति तथा धार्मिक अनुष्ठानको अवलोकन गर्न काठमाडौँ आउन आह्वान गरेको छ ।
महानगरले जात्राको सफल सञ्चालनमा योगदान पुर्याउने गुठीगहना, हनुमानढोका दरबार संग्रहालय विकास समिति, टोल सुधार समिति, क्लब, संघसंस्था र स्थानीय बासिन्दाको स्वतःस्फूर्त सहभागिताप्रति धन्यवाद ज्ञापन गरेको छ ।
साथै, काठमाडौँ उपत्यकामा मनाइने अरु जात्रा र पर्वहरूको संरक्षण र प्रवर्धनमा नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
महानगर प्रवक्ता नविन मानन्धरले सम्पूर्ण सञ्चारकर्मीहरूलाई इन्द्रजात्राको धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक पक्षको अध्ययन गरी तथ्यमा आधारित सन्देश सम्प्रेषण गर्न आग्रह गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया