Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

तीजमा नाजिर हुसेन नाचे लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूसँग

रातो कागज
7 घण्टा अघि

काठमाडौं । काठमाडौंमा मंगलबार ब्लु डायमण्ड सोसाइटीको आयोजनामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले विशेष तीज कार्यक्रम मनाएका छन् । कार्यक्रममा नयाँ नेपाली चलचित्र ‘गुन्यु चोलो ः द ड्रेस’ का कलाकारहरूले पनि सहभागिता जनाएका थिए ।

चलचित्रका प्रमुख कलाकार नाजिर हुसेन, अनुपम श्रेष्ठ (हटिनटी) लगायतले उक्त समूदायका सदस्यहरूसँग नाचगान र रमाइलो गर्दै तीजको उत्सव मनाए । कार्यक्रममा बोल्दै नाजिर हुसेनले आफ्नो नयाँ चलचित्र ‘गुन्यु चोलो ः द ड्रेस’ लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको कथामा आधारित रहेको जानकारी दिए ।

‘आफ्ना छोराछोरीका लागि सपना साँचेर बस्नु भएको एक आमाको कथा हो । यो कथा पीडाको हो, जसलाई व्यक्त गर्न सकिएको छैन । यस्तो व्यक्तिको कथा हो, जसले आफू भएर बाँच्न चाहन्छ । यस्तो समाजमा हामीले ब्लु डायमण्ड सोसाइटीको कथा भन्नै पर्छ,’ हुसेनले भने।

चलचित्रकी अर्की कलाकार अनुपम श्रेष्ठ (हटिनटी) पनि कार्यक्रममा नाचगानमा सहभागी भइन् । ‘गुन्यु चोलो ः द ड्रेस’ आउँदो शुक्रबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउने तयारीमा छ ।

यस विशेष अवसरमा ब्लु डायमण्ड सोसाइटीले तीज मनाउने सामाजिक बहिष्कारविरुद्ध आवाज उठाउँदै विविधता र समावेशीपनको सन्देश दिन खोजेको थियो । सोसाइटीकी सल्लाहकार पिंकी गुरुङले तीजजस्ता सांस्कृतिक चाडपर्वहरूमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई सहभागी हुन अझै पनि समाजले सहज वातावरण नदिएको गुनासो गरिन् ।

‘हामी पनि तीज मनाउन चाहन्थ्यौं, आफू बालक भएर जन्मिए पनि आत्मा महिलाको थियो । तर तीज मनाउने हाम्रो अधिकारलाई सधैं नकारियो, बहिष्कार गरियो,’ गुरुङले भनिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया