Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

‘तीजलाई मौलिक र सामाजिक चेतनासँग जोड्नसक्नुपर्छ’: हरिदेवी कोइराला

News and Updates
7 घण्टा अघि

पोखरा । हरिदेवी कोइराला नेपाली लोकसंगीत तथा साहित्य क्षेत्रकी एक चम्किलो तारा हुन् । आठसय भन्दा बढी गीत गाइसकेकी, ८० भन्दा बढी एल्बम निकालिसकेकी र २५० भन्दा बढी सम्मान तथा पुरस्कार प्राप्त गरिसकेकी कोइराला विगत पाँच दशकदेखि निरन्तर गायन, लेखन र संस्कृतिको संरक्षणमा समर्पित छिन् । ढल्किदो उमेरमा पनि उनी बेफुर्सद छिन्, स्टेज उक्लिरहेकी छिन् ।
वि.सं. २०१५ साल चैत १७ गते पोखराको फेवाताल किनारमा रहेको बैदाम (हालको लेकसाइड) मा जन्मिएकी हरिदेवीले आफ्नो बाल्यकाल रमाइलो र सांगीतिक वातावरणमा बिताइन् ।
तालवारा स्कुलमा पढ्ने बेलादेखि नै उनी तालमा पौडी खेल्ने, खेतालाहरूले गाएको लोकगीत सुन्ने र कविता वाचन गर्थिन् । संयुक्त परिवारमा हुर्केकी हरिदेवीको बाल्यकालले नै उनीभित्रको सिर्जनात्मकता र सांगीतिक चेतना निर्माण ग¥यो ।

सानैदेखि कविता लेख्ने र लयमा गाउने बानीले उनको जीवनको बाटो तय ग¥यो । स्कुलका गुरुहरूबाट प्रेरणा पाउँदै, खेतालाहरूको मौलिक भाकाबाट प्रभाव लिँदै उनले लेखन र गायनलाई जीवनको अभिन्न अङ्ग बनाइन् ।त्यो समय समाजले छोरीहरूलाई खुलेर आफ्नो इच्छाअनुसार अघि बढ्न सजिलो वातावरण दिँदैनथ्यो ।

तर हरिदेवीलाई श्रीमानको साथ र हौसला मिल्यो । विवाहपछि उनका लागि गीत गाउने र लेख्ने बाटो खुलेको हो । श्रीमानको साथले गर्दा उनले पोखरामै बसेर सांस्कृतिक क्षेत्रमा क्रियाशील हुन सकिन् । हरिदेवीका गीतहरूमा पर्व, जात्रा, महिला अधिकार, समाजका विकृति–विसङ्गति, प्राकृतिक प्रकोप र जनचेतनाका सन्देशहरू समेटिएका छन् । उनले गणतन्त्र, भूकम्प, कोरोना, राजदरबार हत्याकाण्ड, चेलीबेटी बेचबिखन जस्ता विषयवस्तुहरूलाई गीतमार्फत् अभिव्यक्त गरेकी छन् ।

०४५ सालदेखि तीज गीत गाउन थालेकी हरिदेवी तीजलाई शुद्ध, मौलिक र सामाजिक चेतनासँग जोडिएको पर्वका रूपमा हेर्छिन् । उनीसँग हामीले कुराकानी गरेका छौं ।

यति धेरै गीतहरु गाउनु भएको छ तर हजुरको बाल्यकाल र पारिवारिक पृष्ठभूमि कस्तो थियो ?

बाल्य अवस्थाको कुरा गर्दा म जन्मेको ठाउँ या गाउँ भनौँ, अहिले लेकसाइड भनिन्छ। त्यतिखेर वैदाम भनिन्थ्यो–वैदाम वा लेकसाइड। फेवातालको किनारमै हो त्यो ठाउँ । जहाँ म त्यही फेवातालको पानी पिएरै हुर्केकी हुँ । अत्यन्तै रमाइलो थियोवाल्यकाल । पोखरा नै रमाइलो, त्यसमा पनि लेकसाइड झनै रमाइलो । अत्यन्तै रमाइलोसँग बित्यो । किनभने, पढ्ने स्कुल नजिकै तालवारा स्कुल थियो ।स्कुल पढ्दा एक बजेको छुट्टीमा तालमा गएर पौडन्थ्यौँ । हाम्रो ठूलो परिवार थियो, संयुक्त परिवार थियो । घरमा पनि अत्यन्तै रमाइलो वातावरण थियो । ३०–३५ जनाकै जहान परिवार थियो।पानीको कुरा गर्दा घरमा पानीको अभाव थियो, धारा थिएनन् । फेवातालको पानी पिएर हुर्कनुपर्नेअवस्था थियो ।त्योबेला फेवातालमा आमासँग पानी लिन जान्थें। आफू बुझ्ने भएपछि त्यही पौडी खेल्ने, लुगा धुने, नुहाउने गर्दथ्यौं । यसरी फेवातालको एउटा छालसँगै बित्यो बाल्यकाल ।

गीत संगीतमा रुचि बढाउँदै गएकाबेला समाज परिवारबाट कत्तिको सहयोग समर्थन पाउनुभयो ?

मेरो रुचि भनेको साहित्यिक र सांगीतिक दुई क्षेत्रमा हो । मैंले सानैदेखि कविताहरू लेख्ने, गीतहरू गाउने गर्दथें । स्कुलमा कविता लेखेर वा लयमा गाएर धेरै नै पुरस्कारहरू पाएकी थिएँ । त्यसैकै प्रेरणा पनि भन्नुपर्छ । र आफू जन्मेको ठाउँको सुन्दरताले पनि धेरै प्रेरणा मिल्यो । वैदामको बारीमा खेतालाहरूले गुनगुनाएको गीत गाउने, असारमा खाजा लिएर जाँदा उहाँहरूले धेरै गीत गाउनुहुन्थ्यो । त्यसले पनि धेरै कुरा सिकायो । अनि स्कूलमा पनि कविता वाचनका कार्यक्रम भइराख्थ्यो । गुरुहरूले कविता भन्नलाई एकदमै प्रेरित गर्नुहुन्थ्यो । सानैबाट कविता लेख्दालेख्दै, गाउँदागाउँदै यात्रा तय भयो । गुरुहरूको स्याबासी र पाएको पुरस्कारले गाउन र लेख्न प्रेरित गर्यो । मैले धेरै कविताहरू गीतीलयमा गाउँथे । तारादेवीको, अरुणा लामाको लय पक्रिएर गाउने गर्थें । अनि खेतालाहरूले गाएका लोकगीतका भाकाहरू, भजन, चुड्काहरूले पनि धेरै कुरा सिकाउथ्यो । सुन्दै, हुर्कंदै गरेकाले गाउन र लेख्नमा म प्रेरित भएँ । र त्यही प्रेरणाको उपज नै हो अहिलेको स्थानमा पुग्नुमा । १३ वटा जति कृति कविताका आइसकेका छन् । गीतहरू पनि म आफ्नै लय, शब्द, गायनमा करिबकरिब आठ–नौ सय गीतहरू गाइसकेकी छु । र मलाई मेरो रूचि भनेको परम्परागत मौलिक कुराहरूलाई संरक्षण गर्नु, सम्बर्धन गर्नु हो । यसमै आनन्द आउँछ। वास्तवमा गीतहरूले सबै जीवनका आयामहरूलाई जोड्नुपर्छ ।चाहे पर्व हुन्, चाहे जात्रा हुन्, चाहे मेला पर्व हुन्, चाहे बारमासी गीत हुन् । जीवनसँग जोडिएका हरेक कुराहरूलाई गीतमा उतार्नुपर्छ भन्ने मलाई लाग्छ।

त्यसैले मैंले तीजका सन्दर्भमा हिजोका दिनमा हाम्रा हजुरआमाहरूले गाएकादेखि अहिले जनचेतनामूलकसम्मलाई सम्हालेर, सबै पक्षहरूलाई अँगालेर ०४५ सालदेखि निरन्तर गाउँदै आएकी छु । र मेरा धेरै गीतहरु घटनामा आधारित छन् । राजदरबारको हत्याकाण्ड होस् चाहे भूकम्प, कोरोना होस्, गणतन्त्रका कुरा हुन् सबै सन्दर्भहरुलाई समेटेको छु । समाजका विकृति विसंगती लिएर महिला दिदीबहिनीहरूको वेदना, बेचिएका चेली, प्राकृतिक पर्यावरणका कुराहरू, आमाका बिलौनाहरू समेटेको छु । विदेशिएका पीडाहरूपनि तीजका गीतमा ल्याउने गरेकी छु ।

लामो यात्रा तय गरिसक्नु भएको छ, यस बिचमा के कस्ता चुनौतिहरुको सामना गर्नुभयो ?

अवश्य पनि नेपाली समाजमा छोरीलाई खुलेर बोल्ने छुट अझै पनि छैन् । विगतमा त झनै जटिलताहरु थिए । आफ्नोरूचि अनुसारको काममा बन्देजजस्दै थियो । अहिलेको समयमा छुट्टै किसिमको आधुनिक जमाना आएपनि, ठुला कुरा गरेपनि घरपरिवारमा छोरीलाई बाहिर जानु हुँदैन, यसो गर्नु हुँदैन, उसो गर्नु हुँदैन भन्ने किसिमको जुन व्यवहार हुन्छ । विगतमा त छोरीचेलीले सकभर बाहिर नहिँडे हुन्थ्यो, नबोल्दिए हुन्थ्यो भन्ने सोच थियो । लेखेर वा गाएर के हुन्छ भन्ने खालको मानसिकता थियो । तर आफ्नो इच्छा, रूचि वा भित्रको इच्छा शक्ति भयो भने आउन पनि सकिँदो रहेछ भन्ने लाग्छ । मलाई मेरो घरको वातावरणमा एकदमै सजिलो पनि भयो ।श्रीमानले गाउनुपर्छ, लेख्नुपर्छ, आफ्नो कला देखाउनुपर्छ भन्ने किसिमको वातावरण बनाइदिनुहुन्थ्यो । तरपनि थुप्रै समस्या र संघर्षहरूको सामना त गर्नु पर्यो ।

पुरानै भाकाको प्रवद्र्धन गर्दै आइरहनुभएको छ, त्यस्तै गाउँदै आउनु भएको छ । तर अहिलेका तीजका मौलिकता हराएजस्तो लाग्दैन ?

यसबारे मैंले अगाडि पनि भनिसकें । मैले सबै प्रकारका गीतहरू गाएकी छु । संस्कृतिसँग जोडिएका मात्र होइन रतौली, जेठे, असारे, भदौरे गीतहरू, भजनहरू, बाल गीतहरू गाएको छु । आफ्नो रचनामा विभिन्न आधुनिक गीतहरू रेकर्ड भएका छन्, गजल रेकर्ड भएका छन् ।तीजको गीत भनेको पर्वमूलक हो । पर्वमूलक गीतहरु चाडपर्वमा विशेष अवधिमा गाइन्छ। यसमा आफ्नै मौलिक लय हुन्छ, मौलिक भाका हुन्छ । विषयवस्तु पनि फरक खालका हुन्छन् ।

छोरीचेलीहरुले आफ्नो मनमा लागेका कुराहरू, विरह, वेदनादेखि लिएर घरपरिवार, समाज, राष्ट्रका कुराहरू साथै चेतना हुने खालका विषयहरु गीतमा उठाउनुपर्छ । सशक्तिकरणका आवाज उठाउनुपर्छ । यसमा विरह वा व्यथा धेरै कुराहरू समेटिएका हुन्छन् । बाबाआमा, दाईभाइ, माया, सम्झना, साथीसंगी, आफू जन्मेको ठाउँ पानीपधेंरो आदी प्रसंगहरू गीतमा आउनुपर्छ । धार्मिक पाटो धेरै नै आइरहेको छ । सामाजिक, धार्मिक, विधि विधान, ब्रत विधि, पूजाआजाका कुराहरु पनि आउनुपर्छ ।

हुनत शुद्ध एवम पवित्र मौलिक पर्व केही वर्षयता बिस्तारै बिस्तारै धमिलिँदै गएको छ ।सुन्न पनि नसकिने खालका शब्दहरु बजारमा आउँदा नराम्रो लाग्छ । यस्ता गीतहरु सुनेर हाम्रा, भाइ, छोराछोरीहरूले, नातिनातिनाहरूले के सिक्लान भन्ने कुरा सोच्नसक्नुपर्छ ।यो एउटा चिन्तनको विषय पनि हो । हाम्रो आफ्नै नेपाली संस्कृति, कला, भाषा छ । बहुभाषा र बहुसंस्कृतिको समाजमा हामी बसेका छौं । यो देश सुन्दर फुलबारी पनि हो । सबै प्रकारका जातजातिका आ–आफ्ना पहिचान छन् । आ–आफ्ना संस्कृति छन्, सबैको साझा सद्भाव बोकेको तीजमार्फत हामीले अझ धेरै खुसी हुनुपर्छ । यस्तो मौलिक खालको पहिचानयुक्त तीज र गाइने गीत संगीतहरूले मर्म एवम महत्व नै अर्कै मार्गतिर परिवर्तन हुने त होइन भन्ने चिन्ता समेत जन्माउछ ।भोलिको पुस्ताले तीज भनेको यस्तै रहेछ, आफूलाई जे मन लाग्यो त्यही गर्ने, छाडा गीतहरू गाउँदा चिन्ताको विषय बनेको छ ।

यस्ता पर्व, चाड, जात्रा, मेला, हाम्रा यी आ–आफ्ना पहिचानयुक्त, रैथाने भाकाहरू,सबै मौलिक मान्यताहरूका सन्दर्भमा एकदमै विचार पुर्याउनुपर्छ । अहिले संस्कृतिमाथि विचलन या प्रहार हुनु दुःखद पक्ष हो । तीजले एउटा शुद्ध महत्व बोकोस् भन्ने मेरो धारणा छ।

हजुरका हजार गीतहरूको आर्काइभ तयार पारेर हजुरले आत्मकथा लेख्दै हुनुहुन्छ रे, यो कहिलेसम्म तयार हुन्छ?
त्यो आत्मकथा एउटा सोच मात्रै हो । बिस्तारै त्यतापट्टि पनि केही सोच्नुपर्लाजस्तो लागेको छ ।

जुन सोच तपाईले बनाउनु भएको छ । त्यसले नयाँ पुस्तामा एक किसिमकोसहयोग र कोशेढुंगा नै बन्छ जस्तो लाग्दैन ?

हो, अवश्य पनि । कसैको पनि बितेका कुराहरूले आउने पुस्ताहरूलाई सिकाउनुपर्छ । त्यहाँबाट सिक्ने कुराहरू धेरै हुन्छन् । यो मेरो मात्रै होइन हरेक व्यक्तिबाट सिक्ने कुराहरु हुन्छन् । त्यसले भोलि त्यहाँका सकारात्मक र नकारात्मक कुराहरूले केही सिक्न अवश्य पनि सकिन्छ । पछिल्लो पुस्ताले सिक्छ।
लय,शब्द र गायनमध्ये हजुरलाई कुन चाँही सजिलो लाग्छ ?
मलाई त गाउन धेरै मन लाग्छ । तर कहिलेकाहीं एक किसिमको सिर्जना आउँछ, कुनै शब्दले भावअनुसारको लय सिर्जना गराउँछ। लोकगीतमा हिजो संकलन गरेर ल्याएका गीतहरू पनि थुप्रै छन् ।अहिले त संकलनभन्दा पनि सिर्जना गर्ने पनि एउटाबाटो छ । विकासले फड्को मारेको छ । गाउँ, सहर, एकैजस्तो भएका छन् । एउटै मोबाइलमा संसार आँटेको छ । तथापी मलाई गीत गाउन असाध्यै मनलाग्छ, अझै रहर लाग्छ। तथापी, संगीतका तीनवटै पाटोमा म रमाउन चाहन्छु ।

अहिलेको पुस्तामा संगीतप्रतिको आकर्षण कस्तो छ ?

लोकगीत भनौं, या लोक संगीत भनौं या नेपाली संगीत भनौंअहिलेको पुस्ताहरूले धेरै उत्साहित भएको पाउँछु । विदेशमा रहेका नेपालीहरू हुन् या स्वदेशमै संगीतप्रति झुकाव रहेको पाइन्छ । विद्यालयहरूमा पनि विद्यार्थीहरूलाई प्रशिक्षण दिने गरिन्छ ।संगीत पाठशालहरू खुल्नेक्रममा छन् । र युवा पुस्तामा संगीतप्रति अत्यन्तै आकर्षण छ। संगीतमा रुचि राख्ने नयाँ पुस्ताहरुलाई पुराना पुराना गीतहरू मनपर्छ । पुरानाप्रति एकखालको जिज्ञासा पनि हुन्छ । तसर्थ पुरानो र नयाँ पुस्ता संगीतमा जोडिनु पनि पर्छ । अनि बल्ल त्यो हिजोको इतिहास आजको पुस्ताले थाहा पाउँछ। हिजोको इतिहासमा टेकेर वर्तमानको निर्माण हुन्छ। तसर्थ अघिल्लो पुस्ता र पछिल्लो पुस्ता, अघिल्लो पुस्ताकोप्रेरणा, उनीहरूको कामहरू, अनुकरणीय प्रयासहरु पछिल्लो पुस्ताले लियो भने बल्ल संगीत मजबुत हुन्छजस्तो लाग्छ । हिजो हाम्रा हजुरआमाहरूले गाएका गीतहरू हामीले संकलन गरेर ल्यायौँ । त्यस्तै हामीले गाएका गीतहरु पछिल्लो पुस्तालाई त्यतिकै महत्वपूर्ण हुनसक्छन् । त्यसैले युवा पुस्ताको आकर्षण देख्दा मलाई असाध्यै खुसी लाग्छ।

विवाहपछि संगीत यात्रामा तपाईंलाई केही असहज भयो कि ?

एसएलसी दिएपछि मेरो बिबाह भएको हो। त्यतिखेर म कविता लेख्थें । आठ कक्षादेखि नै लेख्थे र गाउँथे पनि । तर घरमा खुलेर भन्न सक्दिनथिए । साहित्यिकलगायका कार्यक्रममा लुकि लुकि जान्थेँ । स्कुल जानुछ भनेर कार्यक्रममा पुग्थें । पछि विवाहपछि श्रीमानको पूर्ण साथ पाए । त्यसले केही सहज गरायो । काम गर्न केही अफ्ठयारो भएन् । हामी दुई जनाले यही क्षेत्रमा केही न केही गर्ने प्रयास गर्यौं ।

त्यसोभए संगीत क्षेत्रमा तपाईं पूर्ण सन्तुष्ट हुनुहुन्छ ?

सन्तुष्ट हुने काम त केही पनि गरेको छैन। आफूले सोचे अनुसार गर्न सकेकै छैन । धेरै समय पोखरामै बसेर काम गर्छु । घरपरिवार सबैतिर महिलाको भूमिका धेरै हुन्छ। तर अब केही गरौँ भन्ने किसिमले काम गरिरहेको छु ।धेरै संघ संस्थामा भएकाले व्यस्त पनि छु । सकभर समय निकालेर आफूले गर्नसक्ने, विशेष गरेर आफ्नो कलालाई, गायनलाईसंरक्षण वा सम्वद्र्धन गर्ने हिसाबले काम गर्ने सोचमा छु । कुनै नाफा नोक्सान नहेरी आफ्नो पूरै लगानी यही सांस्कृतिक क्षेत्रलाई अर्पण गर्ने सोचमा छु । नाफाघाटा नहेरी कला र यसको संरक्षणका लागिभनेर काम गर्दै आएकी छु ।तर पूर्ण सन्तुष्ट हुन सकेको छैन् ।

विशेषगरी नयाँ पुस्ता र महिला सर्जकहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?

महिलाहरू अर्थात छोरीहरूलाई समाजले हेर्ने दृष्टिकोणसाँघुरो नै छ। यही साँघुरो दायराबाट महिला वा छोरीहरूलाई आफ्नो रुचिअनुसार काम गर्न सकिरहेका छैनन् । त्यसैले सबै परिवारले यस्ता समस्याहरुमा प्रेरणा दिनुपर्छ । एक जना छोरीको रुचि अनुसार प्रेरित पनि गर्नुपर्छ । अझैपनि गीत संगीतमा लागेर के हुन्छ भने सोच छ । हुनपनि गीत संगीतमा लागेर हामी धेरैले गुजारा चलाउन नसकेको अवस्था छ । राज्यले पनि आम कलाकारलाई सम्बोधन गर्न नसकेको स्थिति छ। तसर्थ यो क्षेत्रमा प्राप्ती केही पनि छैन होला । औँलामा गणना हुने कलाकारहरूले कमाउनुभएको होला तर सबैको अवस्था उस्तै छैन् ।यो क्षेत्र खर्चिलो पनि छ र पहुँच पुर्याउन नसक्दा समस्या हुने गरेको छ ।

संगीतमै दिनरात विताएका दूरदराजका कलाकारहरू, भाइबहिनीहरू कति मरिरहेकाछन्, कस्ता–कस्ता कलाकारहरू त्यसै मरेकाछन् । त्यसै पलायन भएकाछन् । कयौँ विदेशिएकाछन् । तसर्थ यस्तो कुरामा राज्यले अलिकति सम्बोधन गर्नसक्नुपर्छ । गरेर घरपरिवारले सहयोग गर्नुपर्छ । साहित्य–संगीत पनि राष्ट्रको मेरुदण्ड हो । र यसमा लाग्दा भविष्य उज्यालो हुन्छ भन्ने एउटा सद्भाव पनि दिनसक्नुपर्छ । राज्यले पनि आफ्नो रुचिअनुसार कलाको एउटा परीक्षण गरेर कलालाई सबद्र्धन गर्ने, फलाउने– फुलाउने भनेर सोच राख्नुपर्छ । धेरै भाइबहिनीहरू यतातिर आउन आग्रह पनि गर्छु सोही अनुसारको वातावरण बनाउने काम हामी सबैको हो । कलाको एउटा धर्म हुन्छ, शिष्टता हुन्छ, आफ्नै सभ्यता छ । हाम्रो सभ्यता एकदमै गहन छ, पुर्वीय दर्शनमा बाँचेका हामीहरुको आफ्नै किसिमको मौलिकता छ। तसर्थ हामीले यतापट्टि त्यो ध्यान दिन जरुरी छ । जतिपनि कलाकार छौँ सबैले आ–आफ्नो धर्म सम्झेर कला एउटा साधना हो, पूजा हो, आराधना हो भनेर सम्मान गर्न सक्नुपर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया