रातो कागज

रामेछाप । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वागमती प्रदेश इञ्चार्ज डा.राजन भट्टराईले नेकपा एमाले देशको विकास, समृद्धि र राष्ट्र हितको पक्षमा उभिने पार्टी भएको बताएका छन् ।
नेकपा एमाले रामेछापको पाँचौँ पूर्ण बैठकलाई शुक्रबार मन्थलीमा सम्बोधन गर्दै भट्टराईले विकास र राष्ट्रियताको अगुवाइ गर्ने पार्टी नेकपा एमाले नै भएको बताए ।
भट्टराईले एमाले सरकारमा हुँदा र अरू सरकारमा हुँदा गरेको काम तुलना गरेर हेर्न चुनौती दिए । ‘हामी कुनै क्षेत्रमा पछाडि परेका रहेछौँ भने कान समातेर उठबस गर्न तयार छौँ’, उनले भने ।
भट्टराईले पार्टीले गरेको राम्रो कामको चर्चा पार्टीका नेता कार्यकर्ताले गर्न नसकेका भन्दै असन्तुष्टि व्यक्त गरे । ‘विचार, नारा र कार्यक्रमले मात्र भनिरहेका छैनौँ, एमाले काम गर्ने पार्टी हो भनेर व्यवहारमा नै प्रमाणित गरेर देखाएका छौँ’, उनले भने ।
नेपाललाई जानकारी नदिइ भारत र चीन बिच लिपुलेक नाका सञ्चालन गर्ने विषयमा भएको सहमति एमालेलाई स्वीकार्य नभएको उनले बताए । केपी ओली नेतृत्वको वर्तमान सरकारले सो विषयमा जानकारी आउने बित्तिकै आपत्ति जनाएको उनले स्मरण गराए ।
पार्टी जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षता सुरु भएको बैठक २ दिनसम्म चल्ने पार्टी जिल्ला कमिटी सचिव प्रकाशकुमार कार्कीले जानकारी दिए ।
बैठकमा वार्षिक आयव्यय विवरण, वार्षिक कार्ययोजना, जरा अभियानको रिपोर्ट, विधान संशोधन लगायतका विषयमा छलफल गरी निर्णय हुने पार्टी जिल्ला कमिटी अध्यक्ष कडरियाले जानकारी दिए ।
त्यस्तै जिल्ला पार्टीमा विभागको पूर्णता, प्रदेश क्षेत्रीय समन्वय कमिटी पूर्णता, जिल्ला सल्लाकार परिषद् गठन, सचिवालय गठन लगायतका विषयमा पनि निर्णय हुने उनले बताए ।
त्यस्तै पार्टीले मन्थलीमा निर्माण गरिरहेको मदन आश्रित स्मृति भवनका बारेमा पनि छलफल हुने कडरियाले जानकारी दिए । बैठकले पार्टीको पालिका कमिटीका निर्णयहरू पनि अनुमोदन गर्ने छ ।
बैठकमा नेकपा एमाले पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज कमलप्रसाद चौलागाईँ, केन्द्रीय सदस्य माधव ढुङ्गेल, गीता कार्की, जिल्ला भूगोले भएका प्रदेश कमिटीका नेताहरू लगायतका सहभागिता रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया