रातो कागज

पाँचथर, २७ साउनःपाँचथरमा आर्थिक वर्ष २०८१ र८२ मा लडेर २५ जनाको मृत्यु भएको छ । भवितव्य ज्यान गुमाउनेमध्ये लडेर मृत्यु हुने सबैभन्दा बढी छन् ।
विशेषतः ग्रामीण क्षेत्रमा रातको समयमा पैदलयात्रा गर्नेहरूको लडेर ज्यान जाने गरेको छ । मेलापात, गाउँघर, छरछिमेकबाट घर फर्कँदा रातको समयमा धेरै मानिस लड्ने र ज्यान जाने गरेको छ । गत आवको एकै वर्षमा २५ जनाले लडेर ज्यान गुमाएका हुन् । गाउँघरमा मादक पदार्थ सेवन गरी पैदलयात्रा गर्ने क्रमले पनि धेरैको अनाहकमा ज्यान जाने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले बताए । घाँसदाउरा गर्न, पशु चराउन गएकाहरू पनि अचानक लडेर ज्यान जाने गरेको छ । ग्रामीण क्षेत्रमा दुर्घटनामा परेकाहरूको उद्धारसमेत समयमा हुन नसक्दा मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ ।
गत आवमा कारण नखुली १४ जनाको अकस्मात ज्यान गएको छ । यसैगरी अचानक बिरामी भएर र खोलाले बगाएर छ–छ जना, आगोले जलेर, अरिङ्गालले टोकेर र करेन्ट लागेर दुई–दुई जनाको ज्यान गएको प्रनाउ बुढाथोकीले जानकारी दिए। यसैगरी चट्याङ लागेर, रुखले किचेर, सवारीसाधनबाट र पहिरोमा परेर एक–एक जनाको ज्यान गएको छ ।
गत वर्ष पाँचथर प्रहरीमा दुई सय ३२ वटा मुद्दा दर्ता भएका छन् । जसमा सबैभन्दा बढी भवितव्य ज्यानका ६२ वटा छन् । यस्तै आत्महत्याका घटनालाई समेत प्रहरीले मुद्दाका रूपमा दर्ता गर्ने गरेको छ । गत वर्ष आत्महत्याका ४८ तथा अभद्र व्यवहारका २७ वटा मुद्दा दर्ता भएका छन् । यसैगरी बैंकिङ कसुरका र जबर्जस्ती करणीका १२–१२ वटा, ज्यान मार्ने उद्योगका १० वटा, लागुऔषधसम्बन्धी र फुटकर ज्यानसम्बन्धी नौ–नौवटा, बाल यौन दुव्र्यवहारका छवटा, ज्यानसम्बन्धी र बहुविवाहका पाँच–पाँचवटा, सवारी ज्यान, चोरी र ठगीका समान चार–चारवटा मुद्दा दर्ता भएका छन् ।
विगतका चार आवमा मुद्दा दर्ता सङ्ख्या करिब स्थिर रहेको प्रनाउ बुढाथोकीले जानकारी दिए । आव २०७८र७९ मा दुई सय ३५ वटा, २०७९ र ८० मा दुई सय ३४ र २०८० र ८१ मा दुई सय ३७ मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्क छ । पाँचथर प्रहरीले जिल्लामा अपराधको प्रवृत्ति र दरका आधारमा कार्ययोजना निर्माण गरी काम गर्दै आएको प्रनाउ बुढाथोकीले जानकारी दिए।
–––
फेसबुकबाट तपाईको प्रतिक्रिया