Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

बेनीको प्रादेशिक अस्पतालमा ‘डायलाइसिस’ सेवाको ‘सिफ्ट’ थपियो

रातो कागज
4 घण्टा अघि

म्याग्दी, २६ साउनः म्याग्दीमा रहेको प्रादेशिक अस्पताल बेनीले मिर्गौलाका बिरामीको डाइलाइसिस सेवाको अवधि बढाएको छ । यसअघि दैनिक दुई चरण सिफ्टमा डाइलाइसिस’ सञ्चालन गर्दै आएको अस्पतालले तीन घण्टा समय बढाएर तीन सिफ्ट बनाएको हो ।

अस्पतालका प्रमुख चिकित्सक डा रविरञ्जन प्रधानले बिहान ७ बजेदेखि राति १० बजेसम्म डाइलाइसिस सेवा दिन थालिएको जानकारी दिए । यसअघि बिहान १०देखि राति १० बजेसम्म डाइलाइसिस सेवा सञ्चालन गर्दा ३० जनाले सेवा लिने गरेका थिए, उनले भने सिफ्ट बढाएपछि हाल ३५ देखि ३७ जनाले डाइलाइसिसगर्न पाउएका छन् ।

थप जनशक्ति र उपकरण व्यवस्थापन गरेर प्रतिक्षामा रहेका थप पाँच जना मिर्गौलाका बिरामीलाई जिल्लामै डाइलाइसिस सेवा उपलब्ध गराउने प्रयासमा रहेको डा प्रधानले बताए । उनीहरु हाल डाइलाइसिसका लागि बागलुङ, कुश्मा र पोखरा जाने गरेका छन् । डाइलाइसिसका लागि पालो कुरेर बस्ने मिर्गौला रोग सम्बन्धी बिरामीको सङ्ख्या शून्यमा झार्ने लक्ष्य रहेको अस्पतालका प्रमुख डा प्रधानले बताए ।

विसं २०७७ देखि बेनी अस्पतालमा निःशुल्क डाइलाइसिस सेवा सञ्चालन भएको थियो । अस्पतालमा पाँच ‘डाइलाइसिस मेसिन’ छन् । बेनी अस्पतालले डाइलाइसिस सेवा अवधि थप गरेपछि डाइलाइसिसका लागि पोखरा, बागलुङ र कुश्माको अस्पतालमा जाँदा हुने समय र खर्चको बचत भएको छ । मिर्गौलाका बिरामीले हप्तामा कम्तीमा दुईदेखि बढीमा चार पटक डाइलाइसिस गर्नुपर्छ ।

निजी अस्पतालमा एकपटक डाइलाइसिस गराउँदा यातायात, खानाबस्नसहित गरी एक पटकमा रु आठ हजार भन्दाबढी खर्च हुन्छ । गण्डकी प्रदेशमा म्याग्दी धेरै मिर्गौला पीडित भएको जिल्लाको रुपमासमेत चिनिन्छ । अस्पतालको सम्पर्कमा करिब ४० मिर्गौलाका बिरामी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया