Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

प्रधानमन्त्रीको व्यवहारप्रति राप्रपा सांसद प्रधानको आपत्ति, ‘समाधान खोजौं, आरोप होइन’

नेपाल न्युज बैंक
4 घण्टा अघि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले सरकार र कार्यकारी प्रमुखको व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद प्रधानले मधेसमा परेको वर्षापछि किसानले राहत महसुस गरेपनि, सरकारले युरिया मल वितरणमा असमर्थता देखाएको भन्दै ध्यानाकर्षण गराए ।

उनले भने, ‘भगवानको कृपाले मधेसमा वर्षा भएको छ । किसानले राहत पाएका छन् । तर सरकारले राहत वितरणका क्रममा युरिया मल उपलब्ध गराउनेतर्फ ध्यान दिएको छैन ।’

भिजिट भिसाको विषयमा बोल्दै सांसद प्रधानले वास्तविक समस्या भिजिट भिसा नभएको स्पष्ट पारे । उनले श्रम मन्त्रालय अन्तर्गतका संयन्त्रहरुले मानिसलाई विदेश पठाइरहेको उल्लेख गर्दै, ‘जब कुनै ठाउँमा कमीकमजोरी देखिन्छ र सदनबाट आवाज उठ्छ, कार्यकारी प्रमुखबाट राप्रपा र रास्वपामाथि व्यवस्था विरोधी र संविधान विरोधी आरोप लगाइनु खेदजनक छ,’उनले भने ।

प्रधानले भिजिट भिसा प्रकरणको समाधानका लागि न्यायिक छानबिन समिति गठन गर्न माग गरे । उनले स्वार्थ बाझिने समितिले निष्पक्ष छानबिन गर्न नसक्ने भन्दै संसदीय वा न्यायिक समितिको आवश्यकता औंल्याए ।

‘हामी समाधान चाहन्छौं, आरोप होइन । हामी जनताको प्रतिनिधि हौं र सदन चलाउन सहयोग गर्न तयार छौं,’उनले भने ।

सभामुखको भूमिकामाथि पनि प्रश्न उठाउँदै सांसद प्रधानले भने, ‘सभामुखले सरकार पक्षीय भएर सोच्नुभयो । तर उहाँ क्षमतावान हुनुहुन्छ, समाधान निकाल्न सक्छन् । हामी जनताको आवाज उठाइरहेका छौं, यसको सम्बोधन हुनुपर्छ ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया