रातो कागज

त्रिवेणी रुकुम पश्चिम, १६ साउनः आँखा उपचार केन्द्र सल्ले रुकुम पश्चिमको भवन निर्माणका लागि जग्गा खरिद गर्न रु पाँच लाख ७१ हजार ९४९ सङ्कलन गरिएको छ । रुकुम सर्जिकल आँखा उपचार केन्द्रले जग्गा खरिदका लागि सहयोग आह्वान गरेको थियो ।
सोही आह्वानअनुसार नेत्र ज्योति सङ्घ जिल्ला शाखा रुकुम पश्चिमको खातामा उक्त रकम जम्मा भएको आँखा सर्जिकल सेन्टर प्रमुख धनबहादुर केसीले जानकारी दिए । देश तथा देशबाहिर बस्ने ३४ जना व्यक्तिले सहयोग गरेको उनले बताए ।
केसीका अनुसार भवन निर्माणका लागि मुसिकोट–१ सल्लेमा ५९७ वर्गमिटर जग्गा बैङ्कबाट ‘लोन’ लिएर खरिद भइसकेको छ । जग्गा खरिद तथा आवश्यक प्रक्रियामा रु १९ लाख खर्च भएकाले सहयोग आह्वान गरिएको उनले जानकारी दिए ।
भवन निर्माणका लागि भने सहरी विकास मन्त्रालयबाट रु दुई करोड ८० लाख विनियोजन गरिएको र यसबाट साढे तीन तलाको भवन निर्माण हुने आँखा सर्जिकल सेन्टर प्रमुख केसीले बताए । भवन निर्माण ठेक्का प्रक्रियामार्फत हुने भएकाले सोहीअनुसार तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया