Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सीमा व्यवस्थापन तथा सहकार्यका नाममा भइरहेको ‘सन्धि र समझदारी’माथि एमालेको आपत्ति

नेपाल न्युज बैंक
19 घण्टा अघि

काठमाडौं  । नेकपा (एमाले) को नवौँ केन्द्रीय कमिटीको बैठक च्यासलस्थित पार्टी मुख्यालयमा मंगलबार राति सम्पन्न भएको छ ।

 

बैठकले आत्मसमीक्षा, सांगठनिक सुधार र वैचारिक स्पष्टताको आवश्यकतासँगै जनताबीच दूरी घटाउने कार्यक्रमलाई सशक्त ढंगले अघि बढाउने निष्कर्ष निकालेको छ ।

 

एमालेले पछिल्लो समय भारतसँग गरिएको भू सर्वेक्षण, सीमा व्यवस्थापन तथा सहकार्यका नाममा भइरहेको ‘सन्धि र समझदारी’माथि गम्भीर आपत्ति जनाउँदै नेपाली राष्ट्रियताको पक्षमा प्रष्ट अडान लिएको छ । पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको स्पष्ट गर्दै पनि राष्ट्रहित विपरीत हुने कुनै पनि निर्णय मान्य नहुने बताएको छ ।

 

एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले आठ वटा विषयगत प्रस्ताव पारित गरेको बताए । जसमा वैदेशिक सम्बन्ध, आर्थिक नीति, सामाजिक न्याय, महिला सशक्तीकरण, युवा समावेशीकरण, सांगठनिक विस्तार, भ्रष्टाचारविरुद्धको अभियान र नेतृत्व अभ्यासमा सुधारका खाका तय गरिएको उनले जानकारी दिए ।

 

गौतमले विज्ञप्तीमा भनेका छन्, ‘भ्रष्टाचार र अनियमितताप्रति निशर्त विरोध एवं सुशासन र विधिको शासनप्रति अविचलित निष्ठा नेकपा (एमाले) को आधारभूत मान्यता रहँदै आएको छ । यसै मान्यतामा उभिएर भ्रष्टाचार विरुद्धका कानुनहरू निर्माण गर्न, नियमनकारी निकायहरूलाई प्रभावकारी बनाउन र समाजमा सुशासनका पक्षमा जनचेतना अभिवृद्धि गर्न पार्टी निरन्तर क्रियाशील रहदै आएको तथ्य सर्वविदितै छ ।’

 

बैठकले वर्तमान सत्ता सहकार्यलाई अझ सुदृढ गर्दै सात बुँदे सहमति कार्यान्वयनमा दृढता दोहोरÞ्याउने र सरकारलाई अझ प्रभावकारी एवं गतिका साथ अगाडि बढाउन आह्वान गर्ने निष्कर्ष निकालेको छ ।

 

मनसुनको मध्यअवस्थामा मधेस प्रदेश लगायत कतिपय भूभागमा पर्याप्त वर्षा नभएर सुख्खा बढ्दै गएको, धान रोपाई गम्भीर रुपले प्रभावित भएको र पिउने पानीको समेत हाहाकार पर्दै गएको अवस्थाप्रति नेकपा (एमाले) गहिरो चिन्ता व्यक्त गरेको छ ।

 

बैठकले सरकारको ध्यानाकर्षण गर्दै जलवायु अनुकूलका कार्यक्रमहरुको विस्तार र चुरेको संरक्षण एवं पुनर्भरणका विशेष कार्यक्रमहरू तत्काल कार्यान्वयन गर्दै तराई मधेसको दीर्घकालीन समस्या समाधान गर्न माग समेत गरेको छ ।

 

 

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया