Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

स्थानीय सेवा ऐनमा स्वास्थ्यकर्मीलाई विभेद नगर्न माग

नेपाल न्युज बैंक
8 घण्टा अघि

बैतडी, ४ साउन ः सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । प्रदेश सरकारले ल्याएको स्थानीय सेवा ऐनमा स्वास्थ्य कर्मीलाई विभेद गरिएको जनाउँदै उनीहरुले आपत्ति जनाएका हुन् ।

 

स्वास्थ्यकर्मीले प्रदेश सरकारले आफ्नो माग पूरा नगरेको जनाउँदै आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णयमा पुगेका सङ्घर्ष समितिका संयोजक राजेन्द्रसिंह साउदले जानकारी दिए ।

 

स्थानीय तह स्वतन्त्र स्वास्थ्यकर्मी सङ्घर्ष समितिले आफूहरूका न्यायोचित माग सम्बोधनका लागि प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको तर सरकारका तर्फबाट माग सम्बोधनका विषयमा कुनै चासो नदिएपछि आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको हो ।

 

सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरूमा आजदेखि आकस्मिक बाहेकका सेवा बन्द छन् । स्थानीय तहमा समायोजन भएर आएका स्वास्थ्यकर्मीलाई ऐनले विभेद गरेकाले आफूहरू आन्दोलन उत्रन बाध्य भएको संयोजक साउदले बताए।

 

स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा ऐन, २०५३ बमोजिम पदनाम कायम हुनेगरी समायोजन ऐन, २०७५ बमोजिम स्थानीय तहमा समायोजन भएका स्वास्थ्यकर्मीलाई तह वृद्धि गर्नुपर्ने आफूहरूको माग रहेको संयोजक साउदले बताए । सुदूरपश्चिम सरकारले ल्याएको स्थानीय सेवा ऐनले सबैलाई समान किसिमको व्यवहार नगरेकाले आफूहरू आन्दोलनमा उत्रेको उनको भनाइ छ ।

 

स्वास्थ्य कर्मीहरूले कर्मचारी समायोजन ऐन, २०७५ ले व्यवस्था गरेअनुसार आफूहरूको दरबन्दी र सेवासुविधा मिलाउनु पर्ने बताएका छन् । सुरुमा स्थानीय तहमा समायोजन गर्दा पनि स्वास्थ्य कर्मीमाथि विभेद गरिएको र अहिलेको ऐनले पनि विभेद गरेको उनीहरूको आरोप छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया