नेपाल न्युज बैंक

काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा सपना, संघर्ष, प्रेम र धोका छ ।
विवाहको दृश्यसँगै सुरु हुने टिजरमा चलचित्रका मुख्य पात्र विजय बरालको कोरिया सपना केन्द्रमा छ । कोरिया जान बुवालाई मनाउँदाको नोकझोक र काठमाडौं पुगेपछि आफ्नै गाउँलेले गरेको ठगीको वरिपरि टिजर घुमेको छ ।
कोरिया जान्छु भनेर काठमाडौं आएका विजय कसरी काठमाडौंमै अलमलमा पर्दा सपना पनि गन्तव्यहीन भइरहेको छ भन्ने टिजरमा उल्लेख छ । सामान्य जानकारी समेत नलिई तय गरिएको गन्तव्यमा पुग्न कति कठिन छ भन्ने तथ्य टिजरले उजागर गरेको छ । परिवारको दुःख कटाउने सपना बोकेर हिँडेको पात्र कसरी आफैँ घनघोर दुःखको दुष्चक्रमा फसेको छ टिजरमा उल्लेख छ ।
यही मेसोमा बस्ने प्रेम र त्यसको सुख टिजरमा देख्न सकिन्छ । टिजरमा चलचित्रका मुख्य पात्र विजयसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटालगायतलाई देख्न सकिन्छ । ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’लाई निर्देशक हिमाल न्यौपानेले निर्देशन गरेका छन् ।
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुनेछ । चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । बलियो लाइनअप देखिएको चलचित्रमा विजय, केकी, मिरुना, भोलाराज र सुशांकसँग रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय रहेको छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । चलचित्रमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।
नवीन गुरुङको डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको चलचित्रमा दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक, तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।
चलचित्रमा शाहिल खानको टिजर–ट्रेलर, सुप्रिम पराजुलीको कलर, सुनील क्षेत्रीको कोरियोग्राफी, चुल्ठे काजीको एक्सन निर्देशन, निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल रहेका छन् । ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्मसले लिएको छ ।
अल टाइम ब्लक बस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो । विजयले सोमवार ‘पूर्णबहादुरको सारंगी’बाट उत्कृष्ट अभिनेताको राष्ट्रिय चलचित्र अवार्ड समेत पाएका छन् ।
विसं. २०८१ मा नेपाली चलचित्र उद्योगलाई ब्लकबस्टर सिनेमा दिने विजय र केकी ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को मुख्य भूमिकामा सँगै देखिँदै छन् । यसैगरी आफनै टिमको हिस्सा बनेका मुख्य कलाकार र सम्पादकले सोमबार राष्ट्रपति निवास महाराजगञ्जमा आयोजित समारोहमा उत्कृष्ट अभिनेता र उत्कृष्ट सम्पादनको राष्ट्रिय चलचित्र अवार्ड पाएपछि ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’को टिमले हिजै विजय बराल र भरत रेग्मीलाई सम्मान पनि गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया