Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

कोशीका मुख्यमन्त्री र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका प्रतिनिधिबीच भेटवार्ता

नेपाल न्युज बैंक
7 घण्टा अघि

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका नेपाल तथा भुटान हेर्ने प्रतिनिधि केन सिमिजुबीच सोमबार भेटवार्ता भएको छ ।

 

मुख्यमन्त्री कार्यालयमा भएको उक्त भेटमा मुख्यमन्त्री कार्कीले सो संस्थाले कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत संचालन गरेका परियोजनाहरूमा आभार व्यक्त गरे ।

 

उनले विशेषगरी मध्यपहाडी जिल्लाहरूमा वातावरणीय प्रभाव न्यूनीकरण, उच्च मूल्यका फलफूलको उत्पादन तथा बजारीकरण र व्यवस्थापनमा थप सहयोगको अपेक्षा समेत राखेका छन् ।

 

‘कोशी प्रदेशको कृषि, जलवायु र विपद् व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्न सके ठूला उपलब्धि हासिल गर्न सकिन्छ ।’ मुख्यमन्त्री कार्कीले भने ।
साथै जलवायु परिवर्तनले पारेको असरप्रति प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्दै हिमाल, पहाड र तराई क्षेत्रले भरिएको कोशी प्रदेश जैविक विविधतायुक्त प्राकृतिक स्रोत–साधनले भरिपूर्ण रहेको जानकारी गिराएको मुख्यमन्त्रीका प्रेस सल्लाकार विक्रम लुईटेलले जनाए ।

 

संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका प्रतिनिधि सिमिजुले प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्न आफूहरू तयार रहेको बताउँदै कोशी प्रदेशमा सम्पर्क कार्यालय सञ्चालन गर्ने तयारीमा रहेको जानकारी गराए ।

 

उनले जैविक विविधता, माटो संरक्षण, चुरे क्षेत्रको वातावरणीय सन्तुलनजस्ता क्षेत्रमा कार्यरत रहेको र आगामी दिनमा थप समन्वयमा काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
भेटवार्तामा कृषि तथा वातावरणीय क्षेत्रमा संयुक्त कार्यक्रम, नीति तथा कार्यान्वयन सुदृढीकरणमा सहकार्य गर्ने विषयमा समेत छलफल भएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया