Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

उपत्यकाका विद्यालयहरूमा चर्को शुल्कवृद्धिको विरोधमा अखिल क्रान्तिकारीको कडा आपत्ति

News and Updates
9 घण्टा अघि

काठमाडौं । उपत्यकाका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरूमा कक्षा ११ र १२ मा गरिएको बिना आधार चर्को शुल्कवृद्धिप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले गम्भीर आपत्ति जनाएको छ ।

 

संगठनले यस्तो शुल्कवृद्धिलाई जनविरोधी र शैक्षिक व्यापारीकरणको संकेत भएको भन्दै तुरुन्त खारेज गर्न माग गरेको हो ।

 

संगठनका इन्चार्ज निरोज श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै शिक्षाको सर्वसुलभ पहुँच सुनिश्चित गर्नुको सट्टा विना आधार शुल्कवृद्धि गरेर विद्यार्थीहरूलाई निजीकरणको चक्रमा धकेलिएको टिप्पणी गरेका छन् ।

 

‘शिक्षाको सर्वसुलभ पहुच सुनिश्चित गर्नुको सट्टा यसरी शुल्कको भार थोपर्ने कार्यले सिंगो विद्यार्थी वर्गलाई निजीकरण र व्यावसायिकरणको चक्रभित्र धकेल्ने काम गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

 

त्यस्तै, अखिल (क्रान्तिकारी) ले विभिन्न स्थानीय तहहरूबाट छात्रवृत्तिको सिफारिसमा देखिएको पक्षपात, भेदभाव र दलगत हस्तक्षेपप्रति पनि आपत्ति जनाएको छ।

 

संगठनले दलगत वा व्यक्तिगत सम्बन्धका आधारमा छात्रवृत्तिको पहुँच निर्धारण हुनु असंवैधानिक र अमानवीय भएको स्पष्ट पारेको छ । ‘शिक्षा सबैको अधिकार हो, सुविधा र सिफारिसको विषय होइन,’ विज्ञप्तिमा भनिएको छ ।

 

संगठनले सम्बन्धित निकायहरूको गम्भीर ध्यानाकर्षण गराउँदै शुल्कवृद्धि र छात्रवृत्तिमा देखिएको भेदभाव तत्काल अन्त्य गर्न माग गरेको छ ।

 

साथै, यदि मागहरू सम्बोधन भएनन् भने देशभरका विद्यार्थीहरूलाई एकजुट गर्दै सशक्त संघर्षका कार्यक्रमहरू अघि बढाइने चेतावनी पनि दिएको छ ।

 

‘शिक्षा अधिकार हो, व्यापार होइन’ भन्ने नारासहित संगठनले सार्वजनिक शिक्षा प्रणालीको रक्षा गर्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया