२८ आश्विन २०८२, मंगलवार
मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

महाकाली नदी किनारका बस्ती जोगाउन ठूलो वर्षा हुनुअघि नै बाँध निर्माण हुन्छः गृहमन्त्री लेखक

दोधारा चाँदनी कञ्चनपुर, २२ असारः गृहमन्त्री रमेश लेखकले महाकाली नदी किनारका बस्ती जोगाउन ठूलो वर्षा हुनुअघि नै बाँध निमार्ण गर्नेगरी नेपाली सेनालाई जिम्मा दिइएको बताएका छन ।

 

आज कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माणाधीन बाँधको अनुगमन गर्दै उहाँले बाढीका कारण वर्षौदेखि नदी किनारका नागरिकले भोग्दै आएका समस्या समाधानका लागि सरकारले विशेष निर्णय गरेर सेनालाई जिम्मा दिएको बताए ।

 

मन्त्री लेखकले भने,“महाकाली किनारका बस्ती वर्षौदेखि बाढीको जोखिममा छन् । यसैकारण ती बस्ती जोगाउन गृह मन्त्रालयले सेनासँगको समन्वयमा काम अगाडि बढाएको हो । अब बजेट अभावले बाँध निमार्णकार्य रोकिँदैन, बस्ती जोगाउन सरकारले चाहिने जति बजेट व्यवस्थापन गर्छ ।”

 

गत वर्ष महाकालीको बाढीले दुई सय ६० मिटर बाँध भत्काएपछि महाकाली नदी बस्तीतर्फ सोझिएको थियो । यसले भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका विभिन्न बस्ती जोखिममा परेपछि सरकारले उक्त क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेर काम अघि बढाएको हो ।

 

गृहमन्त्री लेखकले महाकाली नदीका कारण यहाँ बनेको चारलेन पुल र बस्ती नै जाखिममा परेपछि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको बाँध निर्माणको जिम्मा सेनालाई दिइएको बताए । “सरकारले नदी नियन्त्रण तथा संरक्षणका लागि विशेष प्राथमिकताका साथ बाँध निर्माण गरिरहेको छ । अब स्थायी रूपमा समस्या समाधान हुनेगरी काम हुन्छ”, उनले भने ।

 

गृहमन्त्री लेखकले निर्माण कार्यमा सङ्लग्न टोलीलाई निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्देशनसमेत दिए । यहाँ गत जेठ ६ गतेको निर्णयअनुसार सेनालाई एक महिनामा बाँध निर्माण गर्ने गरी जिम्मेवारी दिइएको थियो ।