Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

वैरागी नेतृत्वको समिति १४ गृहमन्त्रीलाई उन्मुक्ति दिने प्रपोगाण्डा हो : शाही

नेपाल न्युज बैंक
13 घण्टा अघि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले ‘पहेंलो हो भन्दैमा पित्तललाई सुन भन्न नसकिने’ जस्तै कर्मचारीको उच्च स्तरीय छानबिन समिति हो भन्दैमा छानबिन समिति हुन नसक्ने बताएका छन् ।

 

मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले समिति भिजिट भिसा प्रकरणमा संलग्न भएका १४ जना गृहमन्त्रीहरुलाई कसरी उन्मुक्ति दिने भनेर ल्याएको यो नयाँ प्रपोगाण्डा भएको भन्दै यसका विरुद्धमा राप्रपा सडक र सदनमा उभिने बताए ।

 

उनले भने, ‘पहेंलो हो भन्दैमा पित्तललाई सुन भन्न सकिदैँन् । यो कर्मचारीको उच्च स्तरीय छानबिन समिति हो भनेर भन्दैगर्दा के हो छानबिन समिति हुनसक्छ ? यो त निगाहा प्राप्त गरेको, अझ अपराधलाई कसरी ढाकछोप गर्ने, भिजिट भिसा प्रकरणमा संलग्न भएका १४ जना गृहमन्त्रीहरुलाई कसरी उन्मुक्ति दिने भनेर ल्याएको नयाँ प्रपोगाण्डा हो । यसका विरुद्धमा राप्रपा सडक र सदनमा जान्छ । यो समितिले न्याय दिन सक्दैँन् । संख्याको आधारमा यो प्रकरणलाई निस्तेज नपारियोस । यो मान्छे बेच्ने प्रक्रिया हो । यसमा हाम्रो आपत्ति छ ।’

 

यस्तै, उनले सत्ताको नसा लागेपछि मान्छेले आफूलाई भगवान सम्झिने भन्दै भिजिट भिसा प्रकरणमा बेचिएका नागरिक राप्रपा र रास्वपाका मात्रै होइनन् काङ्ग्रेस, एमाले, माओवादीमा आस्था राख्ने पनि भएको बताए ।

 

उनले भने, ‘सत्ताको नसा यस्तो लाग्छ कि मान्छेले आफूलाई भगवान सम्झिन्छ । जनताको भलाई बिर्सिएर केवल आफ्नो स्वार्थमा लिप्त रहन्छ । भिजिट भिसा प्रकरण आज हामी कति दल छौ, कति सांसद छौ, कति हाम्रो संख्या छ यसले महत्व राख्दैँन् । अहिले जसरी ती बेचिएका नागरिक छन् ती नागरिकहरु के राप्रपा र रास्वपाका मात्रै हुन् त ? ती बेचिएका नागरिकहरु काङ्ग्रेस, एमाले, माओवादीमा आस्था राख्ने पनि छन् । वा एक वाक्यमा भन्दा नेपाली नागरिक हुन् । ती नागरिकलाई बेच्ने जुन अपराध भयो, यस्तो अपराधमा शंकाको घेरामा राजनीतिक दलहरु, विशेष गरेर१८ वर्षमा १४ जना गृहमन्त्रीहरु भए । ती सबैलाई नै अनुसन्धानको घेरामा ल्याउनुपर्छ भनेर माग गरिरहेका छौ । तर अहिले दूधको साक्षी बिरालो जस्तो मात्र भयो ।’

 

जसका विरुद्धमा छानबिन हुनुपर्ने हो, उनीहरुले नै कर्मचारी राखेर छानबिन समिति बनाए यसले विधिको शासन स्थापना नगर्ने पनि उनको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया