Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल

रासस
8 घण्टा अघि

काठमाडौँ, ९ असार । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल गरिएको छ ।

 

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आज बसेको दोस्रो बैठकमा सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन ७७ वटै जिल्ला सुरक्षा समितिलाई  निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

 

 

प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले मनसुन अवधिभर भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो, डुबानसमेतलाई दृष्टिगत गरी सम्भावित जोखिम रहेका क्षेत्र, नदी, खोला नाला र पानीको बहाव समेत उच्च हुनसक्ने राष्ट्रिय राजमार्ग,स्थानीय सडक सञ्जालहरू समेतमा मौसम पूर्वानुमान र परिस्थिति समेतको विचार गरी सवारी साधनमा रोक लगाउन पहल गरिने बताए ।

 

 

“गत जेठ २८ गते बसेको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठकको निर्णय कार्यान्वयन अवस्थाबारे छलफल तथा समिक्षा भएको र समिक्षाबाट मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ को कार्यान्वयनका लागि सबै निकायको एकीकृत र समन्वयात्मक प्रयास गर्नुपर्ने देखिएको छ,” उनले भने,“सबै निकायले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ को प्रभावकारी कार्यान्वयन गरी सोको प्रगति मासिक रूपमा प्राधिकरणमा पठाउने  निर्णय भएको छ ।”

 

 

सडक/राजमार्गमा बाढी, पहिरो,डुबान आदिका कारणले जुनसुकै बेला जुनसुकै स्थानमा अबरोध आउन सक्ने हुँदा सडक राजमार्ग तत्काल सञ्चालन गर्न आवश्यक पर्ने उपकरण २४सै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था गर्न सडक विभाग र ७५३ वटै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरिएको कार्यकारी प्रमुख भट्टले जानकारी दिए ।

 

 

उनका अनुसार यसैगरी तत्काल उद्धार र राहतमा प्रयोग हुने न्यूनतम सामग्रीहरू समेत तयारी अवस्थामा राख्न र विशेष अवस्थामा सडक अवरूद्ध भई सवारी साधनहरू चल्न  नसक्ने परिस्थितिमा कम्तिमा १५ दिनका लागि खाद्यान्न अभाव नहुने गरी व्यवस्था मिलाउन ७५३ वटै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया