रासस

म्याग्दी, ४ असार । तीर्थयात्रीलाई निःशुल्क आवासीय सुविधा उपलब्ध गराउदै आएको म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरको परम वैदिक सनातन धार्मिक आश्रममा भोजनालय भवन निर्माण भएको छ ।
मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, पञ्चकोट, गुप्तेश्वर गुफालगायत धार्मिकस्थल दर्शनका लागि आउने भक्तजनलाई लक्ष्य गरीसङ्घीय सरकारको बिशेष अनुदानमा बेनी नगरपालिकाले भोजनालय भवन बनाएको हो । १५० जना बसेर भोजन गर्न मिल्ने क्षमताको भान्छा कोठासहितको भवन, एक वटा शयनकक्ष र दुई वटा सार्वजनिक शौचालय निर्माण भएको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताए ।
“धर्मशालामा बास बस्ने तिर्थयात्री र हरेक वर्षको पुष महिनामा श्रीहरि मन्दिरमा हुने धनुरमासको कथा श्रवणका लागि आउने भक्तजनलाई भोजन र प्रसाद वितरण गर्न समस्या थियो,” उनले भने “पूर्वाधार विस्तार भएपछि सहज हुने विश्वास गरेका छौँ ।”
भवन निर्माणका लागि बेनीको शंकर निर्माण सेवाले रु ५८ लाखमा ठेक्का सम्झौता गरेको थियो । म्याग्दी, बागलुङ र पर्वतको सङ्गमस्थलमा रहेको रत्नेचौर मुस्ताङको मुक्तिनाथ, दामोदरकुण्ड जाने बाटोमा पर्छ । धर्मशाला सञ्चालन भएपछि होटलमा बास बस्न नसक्ने कमजोर आर्थिक क्षमता भएका भक्तजनलाई सहज भएको छ ।
मन्दिरका महन्थ जगतगुरु श्रीदण्डी स्वामी हिमालय बाबाले दाता र समुदायको सहयोग जुटाएर धर्मशालामा निःशुल्क भोजनसहित आवास सुविधाको व्यवस्था मिलाएको बताए । एक दिनमा ५० जना बास बस्न सक्ने क्षमताको धर्मशाला भवन रहेको छ ।
बेनी नगरपालिका, गण्डकी प्रदेश सरकार,सङ्घीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालयको करिब रु ३० लाख सहयोगमा निर्माण भएको दुईतले धर्मशाला भवनको दोस्रो तलामा छजना दाताले आफन्तका नाममा एक–एकवटा कोठा बनाएका छन् ।
धर्मशाला र लक्ष्मीहरि मन्दिर परिसरमा घेराबार पर्खाल र प्रवेशद्धार निर्माण भएको छ । सहरी विकास मन्त्रालयको रु ३० लाख बजेटमा गत वर्ष धर्मशालाको डिलतर्फ पक्की पर्खाल भएको थियो । डिलमुनि भिर रहेको हुँदा दुर्घटनाको जोखिम भएकाले पक्की पर्खाल बनाएर घेराउ गरिएको हो ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले मन्दिर परिसरको अधुरो हवन कुण्डलाई पूर्णता दिन र गौशाला निर्माणका लागि सङ्घीय तथा प्रदेश सरकारसँग समन्वय गरिएको बताए ।हाल तीन/तीन वटा स्थानीय जातका गाई र बाच्छाबाच्छी छन् । स्थानीय जातका गाई संरक्षणका लागि गौशाला सञ्चालनको तयारी भएको छ ।
ढोडेनी खोला र कालीगण्डकी नदीको दोभानमा पहाडको बीच भागमा समथर भूगोलमा अवस्थित रत्नेचौर प्राकृतिक हिसाबले रमणीय छ । पृष्ठभूमिमा धवलागिरि हिमाल देखिने रत्नेचौरको श्रीलक्ष्मीहरि मन्दिर परिसरदेखि बागलुङको कुडुले जोड्ने ३८८ मिटर लामो र १७० मिटर अग्लो झोलुङ्गे पुल निर्माण भएको छ ।
नजिकै २०० वर्ष पुरानो मानव निर्मित बूढोपोखरी रहेको छ । रत्नेचौरको तोरीबारी, लामो पुल, लक्ष्मीहरि मन्दिरलाई एकीकृत धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल गरिएको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापाले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया