Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

उद्यम क्षेत्रमा प्रेरणाका स्रोत हुन् रुद्रनारायण

रासस
11 घण्टा अघि

रामपुर, २ असार । सुन्दा अचम्म लाग्न सक्छ, कुनै बेला रित्तो हात रामपुर झरेका रुद्रनारायण श्रेष्ठको उद्यमशीलता यतिखेर अन्यका लागि अनुकरणीय बनेको छ । जीवनका विभिन्न उतारचढावलाई पार गर्दै सफल व्यवसायीका रुपमा स्थापित बन्नुभएका श्रेष्ठको उद्यमशीलता यतिखेर धेरैका लागि दरिलो पाठ बनेको हो ।

 

 

किताबका पाना पल्टाएजस्तै गरी व्यवसायको दौरानमा श्रेष्ठको जीवनमा धेरै अनुभव सँगालिएका छन् । उहाँको पहिचान भने सिन्के चाउचाउ र झिनियाँका नामले प्रख्यात छ । उनको व्यापारिक जीवनशैली पढ्ने हो भने धेरै उतारचढावका छन् । कहिले दुःख त कहिले सुख, कहिले हार त कहिले सफलता यस्तै यस्तै व्यावसायिक जीवनलाई अगाडि बढाउनुभएका रुद्रनारायण अहिले आइपुग्दा भने एउटा सफल व्यवसायी मात्रै नभई उद्योग, व्यवसायको क्षेत्रमा प्रोरणाका स्रोत हुन् ।

 

पाल्पा रामपुर नगरपालिका–५ स्थित राङभाङ बस्ने उहाँ यो समाजकै एक प्रतिष्ठित र सफल उद्यमी हो । व्यापार, व्यवसायमा राम्रो सफलता कमाउनुभएका श्रेष्ठले युवालाई व्यवसायमा ल्याउन प्रोत्साहन गर्ने, नयाँ व्यवसायीलाई आड, भरोसा, बजारीकरण, अहिलेको प्रतिस्पर्धात्मक बजारमा कसरी व्यवसाय गर्ने लगायतका सन्दर्भमा सहजीकरण गर्दै आएका छन् ।

 

 

श्रेष्ठले हाल आफ्नै घरमा कालिका सिन्के चाउचाउ तथा झिनियाँ उद्योग सञ्चालन गरिरहेका छन् । हालको पूर्वखोला गाउँपालिका ५ स्थित बिरकोटमा जन्मनुभएका श्रेष्ठले भविष्यमा व्यवसायका लागि रामपुर बजारको राम्रो सम्भावना देखेपछि २०५२ सालमा व्यवसाय गर्ने अठोट बोकेर रित्तो हात आएको उहाँ बताउनुहुन्छ । त्यसअघि भने उहाँले पाल्पाकै बिरकोट, आर्यभन्ज्याङ र जब्गादीमा किनारा पसल चलाउनुभयो तर, सफल भने हुनुभएन ।

 

 

जस्तोसुकै कठिनाइ आइपरे पनि कहिल्यै विचलित नहुने श्रेष्ठलाई रामपुर बजार झरेपछि भने व्यवसायमा सफलता मिल्यो । उहाँले चलाउनुभएको कालिका सिन्के चाउचाउ तथा झिनियाँ उद्योगमा आठ जनाले रोजीरोटी गर्ने अवसर पाएका छन् । “रामपुर बजार हेर्दा समथर भूभाग, पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर क्षेत्रको एउटा व्यापारिक केन्द्र भएकाले यो ठाउँमा व्यवसायका लागि उपयुक्त छ भन्ने लागेर रित्तो हात गाउँबाट झरेको हुँ,” उहाँले भन्नुभयो, “व्यवसायका लागि हातमा पैसा त थिएन तर बैङ्कबाट ऋण लिएर सुरुमा व्यवसाय चलाउन थाले, राम्रो हुँदै गयो ।”

 

 

यतिबेला उनको दैनिकी उद्योगमा उत्पादित चाउचाउ तथा झिनियाँ गाउँ तथा बजारमा बिक्री गर्नमा बितिरहेको छ । रामपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष तथा विभिन्न सङ्घसंस्थामा नेतृत्व सम्हालेका श्रेष्ठले आफैँ मोटरसाइकलमा चाउचाउ बोकेर पसल तथा होटलमा पु¥याउन जानुहुन्छ । यसरी सामान पसल तथा घरघरमा पुगेर बिक्री गर्न पाउँदा उनी उत्साहित छन् ।

 

 

“ग्राहक तथा व्यापारीले माग गरेपछि जुनसुकै समयमा घरमै सामान बिक्रीका लागि पुग्ने गरेको छु, व्यवसाय नाफा कमाउने थलो मात्र होइन, यसलाई सेवामूलक हिसाबले लिनुपर्छ,” श्रेष्ठले भने, “उद्योगमा कामदारसँगै दैनिक खटिएर काम गरिरहेको हुन्छु, कामदारलाई व्यवसायमा लगाउने र मालिक बनेर म कहिल्यै बसिनँ, उनीहरुसँगै काम गर्दा रमाइलो लाग्छ, एकापसमा सिकाइ आदानप्रदान भइरहन्छ, व्यवसायमा यहीँ छ आनन्दको जिन्दगी ।”

 

 

उद्योग तथा व्यवसायको क्षेत्रमा कुरा गर्ने हो भने उनको नाम अग्रपङ्क्तिमा आउँछ । प्रतिस्पर्धात्मक युगमा व्यवसाय भरसक आफ्नै मात्रै चलोस्, आफूले मात्रै कमाउन सकुँ भन्ने यो धारणा धेरैमा हुन्छ । व्यवसायमा आफू पनि सफल बन्ने प्रयत्न गरौँ, अन्य व्यवसायीलाई पनि सफल बनाउनुपर्छ भन्ने उनको दृढ सङ्कल्प छ । सायद यस्तो व्यक्ति समाजमा विरलै भेटिन्छन् । उनको यो व्यवसायले युवावर्गलाई आकर्षित बनाएको छ ।

 

 

श्रेष्ठले रामपुरमा सुरुआती चरणमा किसानबारी बजारमा दुई वर्षसम्म किराना पसल चलाए । त्यहाँ रहँदा गाउँ–गाउँमा किरानाका सामान होलसेलमा पु¥याए । किनारा पसलपछि रामपुर–५ राङभाङमा कुखुरापालन व्यवसाय सुरु गरे । कुखुरापालनमा पनि सोचेअनुसार सफलता मिलेन । व्यवसाय थालनीको दुई वर्षमै कुखुरा मरेर ठूलो क्षति बेहोर्नुप¥यो । तैपनि व्यवसायमा हार भने मान्नुभएन । पुनः व्यवसायलाई अगाडि बढाउँदै गए ।

 

 

कुखुरापालनसँगै सिन्के चाउचाउ उद्योग स्थापना गरे । चाउचाउ उद्योगमा निरन्तर जोड दिएर लागे । चाउचाउबाट राम्रो आम्दानी हुँदै गएपछि झिनियाँको व्यापारसमेत थालनी गरेका हुन् । कामदार पारिश्रमिक खर्च र व्यवसायको लगानी खर्च कटाएर वार्षिक रुपमा हाल पाँच लाख बढी नाफा लिने गरेको उनी बताउछन् । रामपुरमा फार्मका रुपमा विस्तार गर्ने चाउचाउ, सिन्के र कुखरापालन व्यवसाय यो क्षेत्रकै पहिलो व्यवसायी श्रेष्ठ हुन् ।

 

 

“पहिलाको तुलनामा अहिले व्यापार–व्यवसायको बजार हेर्ने हो भने आधाभन्दा धेरै घटेको छ तैपनि मैले व्यवसायबाट राम्रै लाभ लिइरहेको छु,” श्रेष्ठले भने, “व्यापार राम्रो हुँदाका बखत एक महिनामै रु दुई लाख बराबरको आम्दानी गर्थे, कोभिड–१९ पश्चात् सबै क्षेत्रका व्यापार व्यवसाय कम भएका छन्, म यस व्यवसायबाट सन्तुष्ट छु, बाँचुन्जेल यसमै रमाउने हो ।”

 

 

उत्पादन भएका सामान पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका विभिन्न स्थानमा खपत भइरहन्छ । कक्षा १० सम्मको औपचारिक शिक्षा लिनुभएका श्रेष्ठले व्यवसाय गर्ने क्रममा धेरै अनुभव बटुलेका छन् । आफ्नो गाउँठाउँमा विभिन्न व्यापार, व्यवसाय विस्तार गर्ने त्यसबाट आर्थिक समृद्धि ल्याउने उनको अभियान छ ।

 

 

“व्यवसायबाट फाइदा र लाभ भन्ने मात्रै छैन, व्यवसाय गरेपछि समाजमा पनि हित हुने खालको योगदान दिनुपर्छ भन्ने मेरो सङ्कल्प छ, मैले आफ्नो व्यवसायलाई मात्रै प्राथमिकता दिएको छैन, यहाँ सञ्चालन भएका विभिन्न व्यवसाय, उद्योगमा बेला–बेलामा जाने, सल्लाह दिने, बजारीकरणका लागि सघाउने कार्य गरिरहेको छु, व्यवसायमा आफू पनि टिकौँ र अरूलाई पनि टिकाऔँ भन्ने नै मेरो मुख्य सङ्कल्प छ,” श्रेष्ठले भने ।

 

 

रामपुर बजार उहाँका लागि आयआर्जन गर्ने र समाजसेवा गर्ने थातथलो बनेको छ । हरेक क्षेत्रमा पुग्दा व्यापार–व्यवसायकै सन्दर्भमा छलफल र बहस गर्छन् । आफूले जानेका अनुभव अरूलाई बाँड्ने र अरूका नयाँ अनुभव ग्रहण गर्दै व्यवसायमा लगाउछन् । काममा मेहनत र जाँगर गरियो भने सफलता एक दिन अवश्य हात पर्छ भनेझैँ अहिले व्यवसायबाट उहाँको जीवनमा सफलता नै सफलताले छाएको छ ।

 

 

व्यापार–व्यवसायमा उनले सानै उमेरदेखि नै रुचि राख्ने गर्नुहुन्थ्यो । विद्यालयमा पढ्ने क्रममा गाउँका पसलबाट होलसेल मूल्यमा मिठाई खरिद गरेर कक्षाकोठमा केही नाफा गरेर साथीभाइमाझ बिक्री गर्ने गरेको उनले अनुभव सुनाए । मिठाई बिक्रीबाट गरेको नाफाले कापी, कलम, किताबमा खर्च गर्नुहुन्थ्यो । यसरी बिक्री गर्दा नाफा हुने रहेछ भन्ने जानकारी भएपछि उनको मन व्यापारमा नै तानियो । अन्ततः उनले आफ्नो जीवन नै व्यापारमा लगाए ।

 

 

सामाजिक सङ्घसंस्थामा नेतृत्व गर्ने श्रेष्ठ यो क्षेत्रकै एउटा सफल उद्योगी मात्र होइन, सबैका लागि व्यवसायमा उत्प्रेरणाको स्रोत हुन् । यही व्यवसायबाट पाँचजना छोराछोरीलाई उच्च शिक्षा दिएका छन् । व्यवसायबाटै आफ्ना सन्ततिलाई एमबिबिएस चिकित्सा स्नातक र शल्यचिकित्सा स्नातक सम्मको शिक्षा दिन सफल भएको उनी बताउछन् । यही व्यवसायबाटै चारजना छोरीको बिहे खर्चसमेत व्यवस्थापन गरेका छन् ।

 

 

यो व्यवसायमा रुद्रनारायणलाई श्रीमती लक्ष्मी र छोराछोरीको राम्रो साथ रहेको छ । उच्च शिक्षा सकेर अन्य रोजगारीमा आबद्ध रहेका छोराछोरीले पनि व्यवसायलाई सघाइरहेको उनी बताउछन् । रामपुर बजारका अलवा काठमाडौँ, बुटवल बजारमा घरघडेरी समेत बन्दोबस्त गरेका छन् । व्यवसायका लागि बैङ्कबाट लिएको ऋणलाई व्यवसायमा राम्रो सदुपयोग भएको उनी बताउछन् । व्यवसायमा आउने उतारचढावलाई सामान्य रुपमा लिने उनको बानी छ ।

 

 

उद्योग, व्यवसायको क्षेत्रमा रुद्रनारायणले योगदान अतुलनीय रहेको हुँदा उनको व्यवसाय सबैका लागि सिक्न र हेर्न लायकको रहेको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए । “व्यवसायमा हुने सफलता र असफलताका परिस्थितिलाई मिलाएर अगाडि बढ्न सक्यो भने एक दिन सफलता हात पर्छ भन्ने एउटा उदाहरण उनले समुदायमा दिनुभएको छ, व्यापार–व्यवसाय कसरी गर्ने भन्ने उहाँबाट सिक्न जरुरी रहेको छ, उहाँ जस्ता सफल व्यवसायीले नगरपालिकामा उद्योग, व्यवसायको क्षेत्रमा ठूलो योगदान पुगेको छ,” नगर प्रमुख थापाले भने ।

 

 

सादा जीवन उच्च विचार राख्ने श्रेष्ठको कार्यशैली साँच्चिकै सबैले सिक्नुपर्ने खालको छ । व्यवसायबाट सफलता चुलिँदै जाँदा पनि उनको कार्यशैली अत्यन्तै सरल छ । उमेरले उनी छ दशक प्रवेश गरे पनि युवा पुस्तामाझ लोकप्रिय व्यक्ति हुनुहुन्छ । ढल्कँदो उमेरमा पनि व्यवसायप्रतिको लगाव र मेहनत देख्दा आजका युवा पुस्ताले अनुकरण गर्नुपर्नेछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया