Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

आशा र विश्वास जगाउँदै सकियो पदमार्गको खोज अन्वेषण

रासस
14 घण्टा अघि

गण्डकी, २ असार । गुरुङ पर्यटन व्यवसायी सङ्घ जिटिन गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड, क्व्होलाँसोथार गाउँपालिका,मस्र्याङदी गाउँपालिकाको आर्थिक सहयोगमा पोखराबाट लमजुङको सिङ्दीहुँदै दुधपोखरीलगायतका स्थानलाई समेट्दै गरिएको खोज तथा अन्वेषणात्मक पदयात्रा सम्पन्न भएको छ ।

 

 

गुरुङ सम्पदा पदमार्गका रूपमा परम्परागत भेडीगोठसँगै प्राचीन नुन बोक्ने मार्गलाई पदयात्रा पर्यटनसँग जोड्ने लक्ष्यका साथ यही जेठ २३ गतेदेखि असार १ गतेसम्म विभिन्न  कार्यक्रम तय गर्दै प्रवद्र्धनात्मक खोज तथा अन्ुसन्धानात्मक पदयात्रा गरिएको गुरुङ पर्यटन व्यवसायी सङ्घका संस्थापक अध्यक्ष एवम् कार्यक्रम संयोजक बोबरजङ्ग गुरुङले जानकारी दिए ।

 

 

सङ्घको आयोजनामा यसअघि पहिलो चरणमा कास्कीको ताङतिङहुँदै मनाङको तिमाङसम्म र दोस्रो चरणमा कास्कीको सिक्लेस हुँदै कोरी क्होँलासोँथर, कर्पु हुँदै याङ्जाकोटसम्म खोज तथा अनुसन्धानात्मक पदयात्रा गरिएको थियो ।

 

 

“यस पदमार्गमा ठाउँठाउँमा टि हाउससहितका पूर्वाधार, खानेपानीको व्यवस्थासँगै सञ्चार सम्पर्क सहज हुने किसिमका व्यवस्था गरिनु जरुरी देखिन्छ”,सङ्घका अध्यक्ष किसमकुमारी गुरुङले भने ।

 

 

खोज तथा अनुसन्धानका चरणसँगै आगामी सन् २०२६ देखि यस पदमार्गलाई सञ्चालनमा ल्याउने तयारी गरिएको उनको भनाइ छ । गुरुङ सम्पदा पदमार्गमा समेटिएका ऐतिहासिक गुरुङ गाउँहरूका प्राचीन संस्कार र संस्कृतिलाई जगेर्ना गर्दै पर्यटकीय रूपमा भरपुर उपयोग हुनुपर्ने उनले बताए ।

 

 

पदयात्राका क्रममा उक्त क्षेत्रमा सञ्चार सम्पर्कको विद्यमान अवस्था बारे स्थलगत प्राविधिक अध्ययन गरिएको थियो । अध्ययनका क्रममा कतिपय स्थानमा सञ्चारसम्पर्क विहिनताको अवस्था रहेको पाइएको छ ।

 

 

खोज अन्वेषण पदयात्रामा ४८ जनाको सहभागिता थियो । पदमार्गमा ठाउँठाउँमा खोला तथा मनोरम पोखरीसँगै ठूलाठूला खर्क र पाटन रहेको पदमार्गबाट अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लुजस्ता हिमशृङ्खलालाई नजिकैबाट अवलोकन गर्न सकिने जनाइएको छ । पदमार्गमा भेंडा, गाई, भैँसी तथा चौँरीको गोठ बस्ने खर्क, गोठाले जीवनको रहनसहनलाई प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।

 

 

पदमार्गमा यार्सागुम्बा, जटामसी, सतुवा, पाँचऔंले,वन लसुन जस्ता धेरै प्रजातिका जडीबुटी पाइन्छ भने ठाउँठाउँमा हावापानीअनुसारका लालीगुराँस तथा विभिन्न लेकाली फूलहरू अवलोकन गर्दै पदयात्रा गर्न सकिने जनाइएको छ ।

 

 

पदमार्गमा पर्ने गुरुङ गाउँहरूमा घरवास सञ्चालन सँगै घाँटु, सोरठी, कृष्ण चरित्र, आमा समूहका नाच प्रचलनमा छन् । घरवासमा आएका पर्यटकलाई स्थानीय उत्पादनका परिकार खुवाउने गरिएको सिउरुङ सामुदायिक होमस्टेका सञ्चालिका सन्तकाशी गुरुङले जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया