२२ फाल्गुन २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेट : तनहुँ र स्याङजाको लगातार दोस्रो जीत

पोखरा । पोखरा रंगशालामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा तनहुँ र स्याङजाले लगातार दोस्रो जित दर्ता गर्दै फाइनल प्रवेशको ढोका ठोकेका छन् ।

 

समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा तनहुँले म्याग्दीमाथि एकपक्षीय प्रदर्शन गर्दै १७७ रनको फराकिलो जित हात र्पायो । टस हारेर ब्याटिङमा उत्रिएको तनहुँले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२४ रनको विशाल योगफल खडा र्गयो।

 

कृष ऐरले ४८ बलमा ५ चौका र ११ छक्कासहित शतकीय पारी खेले। उनले १०२ रन बनाएर ‘म्यान अफ द म्याच’ बने। दिपेश अधिकारीले पनि २५ बलमा ५१ रन बनाए।

 

लक्ष्य पछ्याउने क्रममा म्याग्दी १४।४ ओभरमै ४६ रनमा समेटियो। रोशन कार्की बाहेक अन्य ब्याट्सम्यान दोहोरो अंकमा पुग्न सकेनन्। तनहुँका सन्दीप पराजुलीले ३, चन्द्रकान्त पौडेलले २ विकेट लिए भने अन्य ५ बलरले समान १–१ विकेट लिए।

 

दोस्रो खेलमा स्याङजाले बाग्लुङलाई ७८ रनले पराजित र्गयो। टस जितेर ब्याटिङ रोजेको स्याङजाले ९ विकेटको क्षतिमा १७८ रन बनायो। कप्तान सन्दीप खत्री क्षेत्रीले ३३ बलमा ६ चौका र ४ छक्का सहित ६१ रन बनाए।

 

जवाफमा बाग्लुङको इनिङ्स १०० रनमै सीमित रह्यो। अश्वनी रानाले ३ ओभरमा मात्र ११ रन खर्चेर ४ विकेट लिएर ‘म्यान अफ द म्याच’ बने।

 

यी जितसँगै समूह ‘ए’ मा स्याङजा र तनहुँ दुवैले २ खेल जित्दै ४–४ अंक बनाएका छन् भने म्याग्दी र बाग्लुङ अंकविहीन छन् । आज हुने अन्तिम लिग खेलमा तनहुँ र स्याङजाबीचको भिडन्तले समूह विजेता तय गर्नेछ । पहिलो खेल म्याग्दी र बाग्लुङबीच हुनेछ ।

 

प्रतियोगिता गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा प्रदेश खेलकुद परिषद्को प्रवद्र्धनमा सञ्चालित भइरहेको छ। विजेता टिमले नगद १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।