News and Updates

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान अनुसार गर्नुपर्ने कामहरु धेरै नै बाँकी रहेको बताएका छन् । उनले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास आवश्यक रहेको पनि औंल्याए ।
शुक्रबार राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले आयोजना गरेको राजनीतिक अधिकार सम्बन्धी प्रशिक्षण तथा प्रथम महाधिवेशन स्मारिका एवम् राजनीतिक अधिकार सहजीकरण पुस्तिका २०८२ को विमोचन गर्दै बोल्दै उनले अबको बाटो संकल्प र कार्यकारी कामको भएकाले पूर्ण बफादारिताका साथ काम गर्न आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘नेपालको संविधान अनुसार हामीले गर्नुपर्ने काम धेरै नै छन् । अबको बाटो संकल्प र कार्यकारी कामको हो । हामीले पूर्ण बफादारिताका साथ काम गर्ने कुरामा ध्यान दिनुपर्ने छ ।’
साथै उनले समावेशी नेतृत्व विकासको लागि लिडरसिप जस्ता कार्यक्रमहरु विस्तार गर्नुपर्ने बताए । उनले कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्दै पार्टीको घोेषणापत्र दस्तावेजहरुमा अपांगता सवालहरु स्पष्ट रुपमा उल्लेख गरिने बताए ।
उनले भने, ‘समावेशी नेतृत्व विकासको लागि लिडरसिप जस्ता कार्यक्रमहरु विस्तार गर्नुपर्ने छ । पार्टीको घोेषणापत्र दस्तावेजहरुमा अपांगता सवालहरु स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने छ । कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्नेछ ।’
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधव चम्लागाईंको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस नेता डा. मिनेन्द्र रिजाललगायतका नेताले आफ्नो धारणा राखेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया