News and Updates

काठमाडौं । शुक्रबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा द्विपक्षीय श्रम सम्झौता भएको मुलुक (युएई) मा बैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गरेको छ ।
सिंहदरवारमा बसेको उक्त समितिको बैठकले श्रम सम्झौता भएको मुलुक (युएई) मा बैदेशिक रोजगारीका लागि घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गरेको हो ।
उक्त छलफलमा रास्वपाका सांसद गणेश पराजुलीले घरेलु श्रमिक कामदारका रुपमा महिलालाई नपठाउने भनेर बारम्बार प्रतिवन्ध लाग्दै आएपनि महिला कामदार अहिले पनि युएईमा घरेलु श्रमिकका रुपमा रहेको बताए । उनले यसरी घरेलु कामदार युएईमा जाँदा पाएको दुःख, र दर्दनाक अवस्थामा राज्यले केहि गर्न नसकेको बताए ।
उनले भने, ‘घरेलु श्रमिक कामदारका रुपमा महिललाई नपठाउने भनेर बारम्बार प्रतिवन्ध लाग्दै गएपनि महिला कामदार अहिले पनि युएईमा घरेलु श्रमिकका रुपमा रहेका छन् । त्यहाँ जाँदा नेपाली कामदारले पाएको दुःख, र दर्दनाक अवस्थामा राज्यले केही गर्न सकेको छैन ।’
यसैगरी नेपाली नागरिकको अन्तर्राष्ट्रिय जगतमा सुरक्षाको पाटोसँग जोडिएर रहेका विषयहरु के छन् भन्दै उनले प्रश्न गरे । उनले अहिले पनि एक लाख भन्दा बढि महिला दिदीबहिनीहरु खाडी मुलुकमा उद्धारको लागि वेदना पोखिराखेको अवस्था रहेको बताए ।
उनले भने, ‘बारम्बार महिला कामदारलाई नपठाउने भनेर प्रतिवन्ध लागे पनि फेरि प्रतिवन्ध खुलाउँदै कामदारहरु गएको अवस्था छ । नेपाली नागरिकको अन्तर्राष्ट्रिय जगतमा सुरक्षाको पाटोसँग जोडिएर रहेका विषयहरु के छन् यसमा मेरो प्रश्न ? खै श्रममन्त्री ? खै कानुनान्त्री ? । नेपाली नागरिकको सुरक्षा अन्तर्राष्ट्रिय जगतमा केही छैन । अहिले पनि एक लाख भन्दा बढि महिला दिदीबहिनीहरु खाडी मुलुकमा उद्धारको लागि वेदना पोखिराख्नु भएको छ । हाम्रो सुरक्षा चाहियो भन्दाखेरि गृहमन्त्री, कानुनमन्त्री र श्रममन्त्री हेरेर बसिरहनु हुन्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया