आगोका लप्काहरू उठिरहेछन्
शान्त मनभित्र
असामञ्जस्यताको तरङ्ग भित्रिएपछि ।
बाटो घुमाउरो छ भन्छन्
यात्रा लम्बिँदै गएको छ
यायावर जस्तै थकेर सुस्केरा हालिरहेछु
भिक्षादान प्राप्त गर्नका लागि ।
कुहिरोमा काग रुमल्लिए जस्तो
म रुमल्लिनु हुन्न
म त्यस्तो योद्धा हुँ
मैले युद्ध हार्नु हुन्न ।
अलिखित इतिहास छ रणवीर दाइको
जसरी मेरो पनि लिखित इतिहास छैन ।
हामी अलिखित कथा बोकी
सँगसँगै गाउँ-बेँसी गरेकै हो
सँगसँगै झ्याउरे गीत गाएकै हो ।
तिमी उकालो चढ्दा
म उकालो चढेकै हो
तिमी ओरालो झर्दा
म ओरालो झरेकै हो
तिमी अविराम यात्रामा थियौ
साथ दिने कोही नहुँदा पनि ।
मैले त साथ दिएकै थिएँ
तिमी अछुत थिएनौ
तिमीलाई अछुत बनाइएको भनेकै थिएँ ।
तिम्रो कर्म खोटिलो थिएन
तिमीलाई भाग्यवादको भुङ्ग्रो खन्याइएको थियो
तिमी पाप-पुण्यको लेखाजोखा गर्थ्यौ ।
तिम्रो मालिक सधैँ
तिमीलाई डस्ने गर्थ्यो
तिमीले पुण्य कर्म गर्दा पनि
तिमीलाई पापीको पगडी गुथाइ बस्थ्यो ।
तिम्रो नाममा
धेरै युद्धहरू लडिए
धेरै बन्दुकहरू पड्किए
सहिद बनाइए दिलबहादुर रम्तेलहरू
बग्यो रगतको खोला
फेरिएन छुवाछूत प्रथा ।
तिम्रो नेता क्रान्तिकारी भाषण गर्छ
तिमीलाई सिरान हाली ता पनि
तिमीले छोएको पानी चलाउँदैन
अनि उठाउँछ दलित मुक्तिको चर्को नारा ।
रणवीर दाइ!
तिम्रो सुजेरोमा बोकेको सियो र कैँची
किन बोल्दैनन् विद्रोहरु
किन काट्दैनन् मुखियाको ओठ ?
किन घोच्दैनन् कुलीनहरूको पैताला ?
तिमीले तुनेको वस्त्र पहिरिएर
तिम्रो मालिक आफूलाई छुट ठान्छ
र उच्च घरानाको दम्भले मात्छ ।
रणवीर दाइ !
थुतिदेऊ मुखियाको पगडी
पढ़ मानवताको कथा
र मेटाऊ
आफ्नो अनुहारको कालो धब्बा ।
– प्रकाशचन्द्र खतिवडा







