काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको ऐतिहासिक ट्रफीका लागि आज अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराज आमनेसामने हुँदैछन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा अपरान्ह ४ बजे फाइनल भिडन्त सुरु हुनेछ।
नेपाली भलिबलको इतिहासमै पहिलो पटक आयोजना गरिएको यो पुरुष फ्रेन्चाइज लिगको उपाधि उचाल्न दुवै टोली उच्च मनोबलका साथ कोर्टमा उत्रँदैछन्।
फाइनलसम्मको यात्रा र अङ्क तालिका:
-
अन्नपूर्ण स्पाइकर किंग्स: लिग चरणमा ५ मध्ये ४ खेल जित्दै १२ अंकका साथ शीर्ष स्थानमा रहेर सिधै फाइनल पुगेको हो। पहिलो खेलमा कर्णालीसँग हार बेहोरे पनि त्यसपछि काठमाडौं रेड्स, मधेश वारियर्स, सुदूरपश्चिम (अप्तड) फाल्कन्स र सगरमाथा स्म्यासर्सलाई लगातार हराउँदै उसले उत्कृष्ट पुनरागमन गरेको थियो।
-
कर्णाली शिवराज: लिग चरणमा ४ खेल जित्दै ११ अंकका साथ दोस्रो स्थानमा रहेको कर्णालीले प्लेअफमा काठमाडौं रेड्सलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो।
बदला लिने र लय दोहोर्याउने होड:
लिग चरणको पहिलो खेलमा कर्णालीले अन्नपूर्णलाई ३-१ को सेटमा पराजित गरेको थियो। त्यसैले अन्नपूर्णका लागि आजको खेल कर्णालीसँग अघिल्लो हारको बदला लिँदै ऐतिहासिक उपाधि जित्ने अवसर हुनेछ। अर्कोतर्फ कर्णाली भने पहिलो खेलकै लय दोहोर्याउँदै पहिलो संस्करणको च्याम्पियन बन्ने दाउमा छ।
६ टोली सहभागी यस प्रतियोगिताको विजेताले आकर्षक ट्रफीसहित नगद २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।







