काठमाडौं। दक्षिण अफ्रिकाका भेट्रान लेग-स्पिनर इमरान ताहिरले ४७ वर्षको उमेरमा टी-२० क्रिकेटमा ५ विकेट लिँदै नयाँ कीर्तिमान कायम गरेका छन्। क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत गयाना अमेजन वारियर्सका लागि खेल्दै ताहिरले सेन्ट लुसिया किंग्सविरुद्ध यो ऐतिहासिक सफलता हासिल गरेका हुन्।
प्रोभिडेन्समा बुधबार भएको खेलमा गयानाका कप्तान समेत रहेका ताहिरले ४ ओभरमा मात्र १७ रन खर्चिएर ५ विकेट लिए। यो उनको ४६१औं टी-२० खेलका साथै यस फर्म्याटकै उत्कृष्ट बलिङ प्रदर्शन हो।
सन् २००६ मा पाकिस्तानको घरेलु क्रिकेटबाट टी-२० खेल जीवन सुरु गरेका ताहिर चार दशक पार गर्दा पनि उत्तिकै उत्कृष्ट लयमा देखिएका छन्। खेलपछि बोल्दै उनले आफ्नो यो निरन्तरताको श्रेय छोरालाई दिएका छन्:
“मेरो छोराले नै मलाई सबैभन्दा बढी प्रेरित गरिरहेको छ। उसले ‘ड्याडी, अझै एक वर्ष, त्यसपछि मसँगै खेल्नुपर्छ’ भनिरहन्छ। उसलाई र विश्वभर मलाई हेरिरहेका युवा खेलाडीलाई प्रेरित गर्न पनि म खेलिरहन चाहन्छु।”
म्याचमा ताहिरले सेन्ट लुसियाका सेट ब्याटर कमिल पूरन (४३ रन) लाई एलबीडब्ल्यू आउट गरे भने म्याथ्यु फोर्डेलाई आफ्नो आकर्षक गुग्लीमा बोल्ड गरे। ताहिरको घातक बलिङसामु सेन्ट लुसिया किंग्स ११९ रनमै समेटिएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको गयाना अमेजन वारियर्सले उक्त लक्ष्य सहजै पूरा गर्यो। टोलीका लागि क्वेन्टिन स्याम्पसनले मात्र ११ बलमा ३३६.३६ को स्ट्राइक रेटमा अविजित ३७ रनको विष्फोटक पारी खेले।
यस सिजनको प्लेअफमा स्थान बनाइसकेको गयाना अमेजन वारियर्सले समूह चरणको अर्को खेल सेप्टेम्बर ११ मा ट्रिनबागो नाइट राइडर्सविरुद्ध खेल्नेछ।







