पोखरा । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपाली क्रिकेट खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्दै स्थानीय नेपाली समुदायलाई खेलकुदका माध्यमबाट जोड्ने उद्देश्यले ‘जीसीडी नेपाली प्रिमियर लिग यूएई’ को पहिलो संस्करण आयोजना हुने भएको छ ।
आगामी सेप्टेम्बर ५ देखि २६ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताका सम्पूर्ण खेलहरू शारजाहको अल बताहस्थित फरहान क्रिकेट मैदानमा हुनेछन् ।
प्रतियोगितामा नेपालिज क्रिकेट क्लब, जीसीडी गोर्खाली राइनोज, एभरेस्ट वारियर्स अबुधाबी र नेपाल टाइटन्स क्रिकेट क्लब गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । लिगमा कुल सात खेल हुनेछन् । खेलहरू प्रत्येक शनिबार राति ९ बजे र ११ः५९ बजे सञ्चालन हुने आयोजकले जनाएको छ । सेप्टेम्बर २६ मा फाइनल खेलसँगै समापन समारोह आयोजना गरिनेछ ।
दुबईस्थित हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा जीसीडी ग्रुप अफ कम्पनीजका अध्यक्ष रमेश श्रेष्ठ र नेपाल कन्सुलेट जनरल, दुबईका कन्सुल कुञ्जन शाहले प्रतियोगिताले प्रवासी नेपाली खेलाडीमा रहेको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
प्रतियोगिताको नियमअनुसार प्रत्येक टोलीमा १७ जना खेलाडी रहनेछन् । खेलका क्रममा मैदानमा उत्रने ११ सदस्यीय टोलीमा कम्तीमा नौ जना नेपाली र बढीमा तीन जना विदेशी खेलाडी समावेश गर्न पाइनेछ ।
प्रतियोगिताको विजेताले पाँच हजार यूएई दिराम तथा उपविजेताले दुई हजार यूएई दिरामसहित ट्रफी, पदक र व्यक्तिगत विधाका पुरस्कार प्राप्त गर्नेछन् ।
दर्शकको सुविधालाई ध्यानमा राख्दै आयोजकले बुर्ज दुबई, अल क्वोज र सोनापुरबाट खेलस्थलसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने जनाएको छ ।
यसैबीच, सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजकले नेपालका बाढीपहिरो पीडितका लागि प्रधानमन्त्री राहत कोषमा एक लाख ११ हजार १११ रुपैयाँ सहयोगसमेत हस्तान्तरण गरेको छ ।
जीसीडी ग्रुप मुख्य प्रायोजक तथा अल फरदान एक्सचेन्ज प्लाटिनियम स्पोन्सर रहेको प्रतियोगिताले यूएईमा नेपाली क्रिकेटको विकास, प्रवद्र्धन र नेपाली खेलाडीलाई थप प्रतिस्पर्धात्मक अवसर प्रदान गर्न नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।







