काठमाडौं । सह–आयोजक संयुक्त राज्य अमेरिकाले घरेलु मैदानमा जारी फिफा विश्वकप फुटबल–२०२६ मा प्रभावशाली प्रदर्शन गर्दै विजयी सुरुवात गरेको छ । लस एन्जलसमा शनिबार बिहान सम्पन्न समूह ‘डी’ को आफ्नो पहिलो खेलमा अमेरिकाले दक्षिण अमेरिकी प्रतिद्वन्द्वी पाराग्वेलाई ४–१ को भारी गोलअन्तरले पराजित गरेको हो ।
घरेलु दर्शकको उल्लेख्य उपस्थिति रहेको खेलमा अमेरिकालाई जिताउन फोलारिन बालोगुनले दुई गोल गरे भने जियोभानी रेयनाले एक गोल थपे । अमेरिकाले एक गोल भने उपहारस्वरूप पाएको थियो । पाराग्वेका लागि मौरिसियोले एक सान्त्वना गोल फर्काए ।
खेलको सुरुवातमै पाहुना टोली पाराग्वे दबाबमा परेको थियो । खेलको सातौँ मिनेटमा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाले आत्मघाती गोल गरेपछि अमेरिकाले १–० को सुरुवाती अग्रता लियो ।
त्यसपछि आक्रामक बनेको अमेरिकाका लागि खेलको ३१औँ मिनेटमा स्टार स्ट्राइकर फोलारिन बालोगुनले प्रहार गरेको बलले जाली चुमेपछि खेल २–० को स्थितिमा पुग्यो । पहिलो हाफको इन्जुरी समयमा बालोगुनले व्यक्तिगत दोस्रो गोल (ब्रेस) गरेपछि अमेरिका पहिलो हाफमै ३–० को सहज र मजबुत अवस्थामा पुगेको थियो ।
तीन गोलले पछि परेको पाराग्वेले दोस्रो हाफमा खेलमा फर्किने प्रयास गर्यो । खेलको ७१औँ मिनेटमा पाराग्वेका मौरिसियोले गोल गर्दै गोलअन्तर ३–१ मा झारेर खेललाई रोमान्चक मोड दिने सङ्केत गरे ।
तर, खेलको इन्जुरी समयको अन्तिम मिनेटमा अमेरिकाका मिडफिल्डर जियोभानी रेयनाले उत्कृष्ट गोल गरेपछि अमेरिका ४–१ को सानदार जितसहित स्पष्ट ३ अङ्क जोड्न सफल भयो ।
यो सानदार जितसँगै आयोजक अमेरिका ३ अङ्क र बलियो गोलअन्तरका साथ समूह ‘डी’ को शीर्ष स्थानमा उक्लिएको छ । विश्वकपको यस समूह ‘डी’ मा अमेरिका र पाराग्वेसँगै अस्ट्रेलिया र टर्की रहेका छन् ।







