काठमाडौं । नेपाली कांग्रेसले दुई भ्रातृ संस्थाको नयाँ नेतृत्व चयनको तयारी गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिले दिएको म्याण्डेटअनुसार नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको नयाँ नेतृत्व चयनका लागि आन्तरिक तयारी थालेको हो ।
नेविसंघ र तरुण दलको अध्यक्षका रुपमा केही व्यक्तिको नाम सामाजिक संजालमा चर्चा भएपछि भने संगठनभित्र कलह पनि सुरु भएको नेताहरुले बताए । नेपाल तरुण दलमा भने विधानअनुसार तदर्थ समिति गठन गर्नुपर्ने आवाज बलियो बनेको छ ।
गत वैशाख २१ गते सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कार्यतालिकाभित्र महाधिवेशन गर्न नसकेका सबै भ्रातृ संस्थाहरू विघटन गर्ने निर्णय गरेसँगै तरुण दलमा नयाँ नेतृत्व चयनको चर्चा सुरु भएको हो ।
विधानविपरीत नेतृत्व चयनको गृहकार्य भइरहेको भन्दै तरुण दलका नेता तथा कार्यकर्ताहरूले यस्तो स्थिति आएमा ‘समानान्तर समिति’ गठन गर्ने चेतावनी दिएका हुन् ।
तत्कालीन केन्द्रीय अध्यक्ष विद्वान गुरुङले राजीनामा दिइसकेका छन् । उनको राजीनामापछि स्वतः विघटन भएको तरुण दलसहितका भ्रातृ संघहरूको महाधिवेशन सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी सभापति गगन थापालाई दिइएको छ ।
पार्टीका तत्कालीन महामन्त्री तथा वर्तमान सभापति गगन थापा नेतृत्वको कार्यसमितिबाट पारित तरुण दलको विधान (सातौँ संशोधन)को दफा ४३ उपदफा (२) ले अध्यक्ष पदका लागि स्पष्ट योग्यता तोकेको छ ।
विधानअनुसार अध्यक्ष बन्नका लागि केन्द्रीय कार्यसमितिमा कम्तीमा एक कार्यकाल सदस्य भएको वा प्रदेश तथा जिल्ला अध्यक्षको रूपमा एक कार्यकाल नेतृत्व गरेको अनुभव अनिवार्य हुनुपर्छ। साथै, संगठनको पूर्ण सदस्य भएको कम्तीमा १० वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था छ।
तर पार्टी नेतृत्वले विधानभन्दा बाहिर गएर नियुक्ति गर्न खोजेको भन्दै आन्तरिक विरोध सुरु भएको हो । नेतृत्वमा पुग्नका लागि विधानको दफा १७ उपदफा (२) र (५)लाई वैधानिकताको आधार मान्नेहरूले नै आज भ्रातृ संगठनमा विधान मिच्न खोज्नु नैतिक रूपमा गलत भएको उनीहरूको तर्क छ ।
तरुण दलको नेतृत्व चयनमा विधि र विधान उल्लघंन भए ‘समानन्तर समिति’ गठन गर्ने चेतावनी







