सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणामले कर्णालीमा पूराना दलहरुका ‘किल्ला’ भत्किए पनि नयाँ दलको प्रभाव भने न्यून देखिएको छ ।
देरभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाई बहुमत ल्याउने आँकलनकाबिच कर्णालीमा भने एक सिटमा सिमित हुन परेको छ । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा नेपाली काँग्रेसले पाँच सिटमा जित हाँसिल गर्दा तत्कालिन युद्धकालिन अवस्थादेखि कर्णालीलाई आफ्नो आधारक्षेत्र मान्दै आएको नेकपा चार सिटमा खुम्चिनु परेको छ ।
एमालेले कुनैबेला ‘लालकिल्ला’ मानेको कर्णालीमा एक सिट जितेको छ । राजतन्त्रको वकालत गर्दै आएको राप्रपा देशभरी खुम्चिँदा कर्णालीमा एक सिट जितेर आफ्नो अस्तित्व जोगाउन सफल भएको छ भने रास्वपाले एक सिटमा जित निकालेको छ ।
कर्णालीको चुनावी परिणामलाई हेर्दा राजावादीदेखि गणतन्त्रवादी र नयाँदेखि पूरानासम्मका सबै दललाई कर्णालीका मतदाताले संघीय संसद पठाएका छन् । यसले कर्णालीका मतदाताले सबै दल र वादलाई उत्तिकै सम्मान गरेको अर्थमा पनि बुझ्न सकिन्छ ।
कर्णाली प्रदेशमा नेपाली कांग्रेस, नेकपा(एमाले) र नेपाली कम्युनिष्ट पार्टी परम्परागत प्रतिस्पर्धीका रूपमा स्थापित थिए । विगतका निर्वाचनहरुमा यिनै तीन दलबीच मुख्य प्रतिस्पर्धा हुने गरेको थियो । तर फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि जित निकालेर पूराना दलहरूलाई धक्का दिएका छन् ।
कर्णाली सभ्यताको उद्गम भनेर चिनिएको जुम्लाबाट ज्ञानबहादुर शाही निर्वाचित भएका छन् भने मुलुक संघीयतामा गएपछि कर्णालीको राजधानी सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश सापकोटा उदाएका छन् ।
नेपाली काँग्रेसले हुम्ला, मुगु, जाजरकोट, सुर्खेत १ र दैलेख १ मा प्रतिनिधिसभा चुनाव जितेको छ । नेकपाले रुकुम पश्चिम, कालिकोट, सल्यान र डोल्पामा जित निकालेको छ भने दैलेख क्षेत्र नम्बर २ मा एमाले, सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपा र जुम्लामा राप्रपाले जित हाँसिल गरेका छन् ।
देशभरी भारी मतान्तरले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपासँग प्रतिस्पर्धामा रहेको रास्वपा कर्णालीको सल्यानमा दोस्रो भएपनि बाँकी निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामै आउन सकेन । दैलेख १ र सुर्खेत १ मा रास्वपा तेस्रो स्थानमा आएको छ ।
काँग्रेसले विरासत फर्कायो, कम्युनिस्ट गढ भत्किए
सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का विजयी भएका छन् । ०४८ सालयता नेपाली कांग्रेसका पूर्व कार्यवहाक सभापति पूर्णबहादुर खड्काको यो क्षेत्रबाट चुनाव लड्दै आएका थिए । फागुन २१ को चुनाव नलड्ने घोषणा गरेर आफ्नै भाइलाई अघिसारेका खड्काले आफ्नो बिरासत कायम राखेका छन् । बिष्णु बहादुर खड्काले २६ हजार आठ सय ९७ मत पाएर चुनाव जित्दा निकटतम प्रतिद्वन्द्वी शाहीले १८ हजार आठ सय ९० मत पाए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर सिंह ठकुरी १४ हजार सात सय २९ मतसहित तेस्रो भएका छन् । पाँचौं भएका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार जितबहादुर रानाले दुई हजार आठ सय २८ मत पाए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रवि हमाल ठुकरीले एक हजार ४९ मत प्राप्त गरेका छन् ।
कांग्रेसले आठ बर्ष अघि गुमाएको हुम्ला, १२ बर्ष अघिदेखिको दैलेख निर्वाचन क्षेत्र नम्बर १, १८ बर्षदेखि गुमेको जाजरकोटमा आफ्नो विरासत फर्काएको छ । हुम्लाबाट नेपाली काँग्रेसका जयपति रोकायाले आठ हजार ७९७ मत ल्याएर प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार दीपेन्द्र रोकायालाई एक हजार ५५४ मतान्तरले पराजित गरेका हुन् । नेकपा उम्मेदवार रोकायाले ७ हजार २ सय ४३ मत ल्याएका छन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका जीवनबहादुर शाही विजयी भएका थिए । २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले यो क्षेत्र गुमाएको थियो ।
जाजरकोटमा १८ वर्षदेखिको कम्युनिष्ट गढ तोड्नै काँग्रेसका खड्कबहादुर बुढाले जित हाँसिल गरे । निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रभावशाली नेता शक्तिबहादुर बस्नेतलाई हराउँदै बुढाले चुनाव जितेका हुन् ।
बुढाले २० हजार १४२ मत प्राप्त गर्दा बस्नेतले १७ हजार ४०७ मत प्राप्त गरे । अर्को उम्मेदवार नेकपा एमालेका डम्बरबहादुर सिंहले १६ हजार ८८३ मत प्राप्त गरेका छन् । बस्नेत यस अघि तीन पटक जाजरकोटबाट विजयी हुँदै आएका थिए ।
यता दैलेख निर्वाचन क्षेत्र नम्बर–१ मा बासना थापाले १२ बर्षपछि कम्युनिस्ट गढ तोडेकी छन् । यहाँबाट थापाले १२ हजार तीन सय ७२ मत ल्याएर पाँच सय ७६ मतान्तरमा नेकपा एमालेका रवीन्द्रराज शर्मालाई हराउँदै उनी विजयी भएकी हुन् ।
शर्माले ११ हजार सात सय ९६ मत प्राप्त गरेका छन् । रास्वपाका नन्दकिशोर बस्नेतले आठ हजार १५१ मत प्राप्त गर्दा २०७० को संविधानसभा, २०७४ को प्रदेशसभा र ०७९ को प्रतिनिधिसभामा जित निकालेका नेकपाका अम्मरबहादुर थापाले चार हजार २५६ मतका साथ लज्जास्पद हार व्यहोरेका छन् ।
नेकपा कायम राख्यो गढ
तत्कालिन नेकपा माओवादी केन्द्रले आफ्नो किल्ला भन्दै आएको रुकुम पश्चिम, कालिकोट, सल्यान र डोल्पामा आफ्नो विरासत जोगाएको छ । कालीकोटबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । शाहीले एमालेका नगिन्द्र शाहीलाई नौ सय ८६ मतान्तरले पछि पार्दै ११ हजार ३३८ मत पाएर विजयी भएका हुन् ।
नगिन्द्रले १० हजार ३५२ मत पाए । कांग्रेसका हर्षबहादुर बमले सात हजार १३३ मत पाएका छन् । त्यस्तै नेकपा (माओवादी)का खड्गबहादुर विश्वकर्माले चार हजार ५९९ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश न्यौपानेले दुई हजार ९३७ मत पाए ।
डोल्पामा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार धनबहादुर बुढा विजयी भएका छन् । ६ हजार ८०२ मत ल्याएर बुढा विजयी हुँदा नेकपा एमालेका उम्मेदवार लंकबहादुर रोकायले पाँच हजार ३९६ मत प्राप्त गरे । बुढा र रोकायाको मतान्तर एक हजार ४०६ छ । नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर बुढाले दुई हजार ९४७ मत प्राप्त गरेर तेस्रो भएका छन् ।
विजयी उम्मेदवार बुढा यसपटकलाई लगातार चौथो डोल्पाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । यसपटक डोल्पामा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका सह–महामन्त्री सहोदर दाइ कर्ण बहादुर बुढालाई पनि पराजित गरेर उनले चौथो जित निकालेका हुन् ।
सल्यानमा नेकपाका उम्मेदवार रमेशकुमार मल्ल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । रास्वपाका ललितकुमार चन्दलाई दुई हजार बढी मतान्तरले पराजित गर्दै मल्लले नेकपाको जित निकालेका हुन् । नेकपा उमेदवार रमेश कुमार मल्लले २३ हजार १ सय ८९ मत ल्याएका थिए भने रास्वपा उमेदवार ललित कुमार चन्दले २० हजार ९ सय ४ मत ल्याएका थिए ।
सल्यानमा एमाले र माओवादीले आलोपालो जित्दै आएका थिए । २०७९को प्रतिनिधीसभा निर्वाचनमा एकीकृत समाजवादीबाट प्रकाश ज्वाला निर्वाचित भएका थिए ।
रुकुम पश्चिमबाट नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्मा विजयी भए । उनले शान्ति प्रक्रिया यता माओवादी नेता जनार्दन शर्माले जित्दै आएको निर्वाचन क्षेत्रमा जनार्दनलाई हराउँदै नेकपाको जित निकाले ।
शर्माले २१ हजार ६०९ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत प्राप्त गरे । केसी र शर्माको मतान्तर चार हजार ९४८ हो । प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा १४ हजार ३४६ मत प्राप्त गर्दै तेस्रो स्थानमा सिमित भए ।
०७९ सालको प्रतिनिधीसभा निर्वाचनमा एमालेले गुमाएको दैलेख निर्वाचन क्षेत्र नम्बर दुई यो पटक फर्काएको छ । यहाँबाट नेकपा (एमाले) का लक्ष्मीप्रसाद पोखरेल विजयी भएका छन् ।
पोखरेलले १३ हजार आठ सय ८९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले नौ हजार पाँच सय ५२ मत पाए । २०७९ मा यो क्षेत्रबाट दिक्पाल शाही निर्वाचि भएका थिए ।
सुर्खेत २ मा बज्यो घण्टी
मुलुकभर रास्वपाको पक्षमा लहर चलिरहँदा कर्णालीको एक मात्र निर्वाचन क्षेत्रमा रास्वपाले जित निकालेको छ । सुर्खेतको क्षेत्र नं. २ बाट रास्वपा उम्मेदवार रमेशकुमार सापकोटा निर्वाचित भएका छन् । उनले ३० हजार आठ सय ४२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण कोइरालाले १६ हजार तीन सय ७८ मत प्राप्त गरे । एमालेका कुलमणी देवकोटाले ११ हजार पाँच सय ११ मत पाए ।
नेपाली कम्युनिष्ट पार्टीका झकबहादुर मल्लले चार हजार एक सय ६६ मत पाएका छन् । विगतमा यो क्षेत्रमा प्रभावशाली मानिने नेपाली कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गर्दै सापकोटाले जित हात पारेका हुन् । यातायात व्यवसायी सापकोटा कांग्रेसबाट रास्वपा प्रवेश गरेका थिए । कांग्रेसमा छँदा वीरेन्द्रनगर नगर कार्यसमितिका सचिव थिए, अहिले रास्वपा सुर्खेतका जिल्ला सभापति छन् ।
दोहोरिए ज्ञानेन्द्र
हरेक चुनावमा नयाँ उम्मेदवार रोज्ने इतिहास बनाएको जुम्लाले पछिल्ला दुवै चुनावमा एकै व्यक्तिलाई जिताएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानबहादुर शाही विजयी भएका छन् । शाहीले १४ हजार आठ सय १६ मत प्राप्त गरेर जित्दा नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारीलाई तीन हजार एक सय ८१ मतान्तरले पराजित गरे ।
भण्डारीले ११ हजार ६ सय ३५ मत प्राप्त गरे । कांग्रेसका दीपबहादुर शाहीले सात हजार एक सय ४३, एमालेका शान्तिलाल महतले चार हजार पाँच सय १८, रास्वपाकी विनिता कठायतले चार सय २१ मत पाइन् । २०७९ मा पनि जुम्लाबाट ज्ञानबहादुर शाही निर्वाचित भएका थिए । उनले लगातार दोस्रो पटक जित निकालेका छन् ।
जनार्दन र प्रकाण्डको संसदीय यात्रामा पूर्ण विराम
१८ बर्ष पछि संसदीय यात्रामा जान तम्सिएका कालिकोटका खड्कबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ र २०६४ यता रुकुम पश्चिमबाट लगातार चुनाव जित्दै आएका जनार्दन शर्मा ‘प्रभाकर’को संसदीय यात्रामा पूर्णविराम लागेको छ । दुवै जनाले प्रतिनिधिसभा निर्वाचनमा जित निकाल्न नसकेपछि दुवैको यात्रा रोकिएको हो ।
२०६४ सालको संविधानसभा निर्वाचनमा प्रकाण्ड कालिकोटबाट २७ हजार भन्दा धेरै मत ल्याएर विजयी भएका थिए । तत्कालिन नेकपा माओवादीबाट चुनाव लडेका उनले १८ बर्षपछि प्रतिनिधि सभा निर्वाचन लडेर हार व्यहोरेका हुन् । उनी विप्लव नेतृत्वको माओवादीका प्रवक्ता हुन् । कालिकोटमा उनले चार हजार ५९९ मत बाट उनी चौथो स्थानमा सिमित बन्न पुगेका छन् ।
तत्कालिन नेकपा माओवादी केन्द्रका उपमहासचिव रहेका जनार्दन शर्मा ‘प्रभाकर’ चुनाव अगाडि अन्य बाम घटकसँगको एकता प्रक्रियामा असहमति जनाउँदै पार्टीबाट अलग भएका थिए ।
उनले प्रगतिशिल लोकतान्त्रिक पार्टी गठन गरी सोही पार्टीबाट रुकुमपश्चिमबाट चुनाव लडेपछि कुनैबेलाको आफ्नै स्वकीय सचिवसंग चुनाव हार्नु परेको छ । रुकुम पश्चिम उनले १४ हजार ३४६ मत प्राप्त गरेर तेस्रो स्थानमा सिमित भएका छन् ।







