काठमाडौँ, २५ पुसः पछिल्लो समय नेपाली राजनीतिमा चर्चाको विषय बन्यो काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेन र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेबीचको सहयात्रा ।
विभिन्न अड्कल, टिप्पणी र ‘अदृश्य शक्ति’को आरोपबीच, यो सहकार्य कसरी सम्भव भयो भन्ने विषयमा राससले यस सहयात्राको संवादको भूमिकामा रहेका प्रतिनिधिसभाका पूर्व सांसद एवं रास्वपाका नेता असिम शाहसँग संवाद गरेको छ ।
फरक पृष्ठभूमि, फरक स्वभाव र फरक राजनीतिक यात्राका दुई पात्र बालेन्द्र शाह र रवि लामिछानेको एकै राजनीतिक सहयात्रा सुरु भइसकेको छ । सोही सहयात्राको पहलका लागि ‘पोस्टम्यान’को भूमिका आफूले खेलेको पूर्व सांसद शाहले बताए ।
संवादका क्रममा उनले दुवै पक्षको मनस्थिति बुझ्ने, सन्देश आदानप्रदान गर्ने र भेटवार्ताको वातावरण बनाउन आफू र अर्का सहकर्मी, आफनै दाजु आसिफ शाहले गरेको पहल स्मरण गरे । औपचारिक वार्ताले मात्र नभइ विश्वासले एकता सम्भव भएको उनको तर्क छ । उनकाअनुसार राजनीतिक गणितले नभएर व्यक्तिगत विश्वास र सम्बन्धले सहमति सम्भव भएको हो ।
अदृश्य शक्ति होइन, दृश्य शक्ति नै हामी दुई जना हौँ, उनले भने, सहयात्रा सहज थिएन । रवि लामिछानेको जेल बसाइ, अदालती प्रक्रिया, प्रमुख बालेनको पारिवारिक शोक, धेरै अवरोध आए । अन्तत सभापति रिहा भए। पुस ७ गते भेट सम्भव भयो । कति समय मिडियाबाट जोगिँदै, स्थान परिवर्तन गर्दै राति गरिएको भेटले नयाँ राजनीतिक समीकरणको आधार तयार ग¥यो ।
यस सहयात्रा चुनावी रणनीति मात्र हो कि दीर्घकालीन राजनीतिक परिवर्तनको सङ्केत हो भन्ने प्रश्नमा नेता शाहले भने, सातरआठ घण्टासम्मको गहिरो संवाद, आपसी समझदारी र देश विकासको समान लक्ष्यले यो सहयात्रालाई दीर्घकालीन बनाएको छ ।
शाह मन र दिमाग दुवै मिलेर भएको एकता भएको बताउनुहुन्छ । यो सहयात्रा लामो समयसम्म जाने विश्वास उनको छ । वैकल्पिक शक्ति छरिएर हैन एकजुट हुनुपर्ने आवश्यकता बोध भएपछि दाजु आसिफ र आफूले पहल थालेको उनको भनाइ थियो । रास्वपाले जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा वैकल्पिक शक्ति एक ठाउँमा उभिने क्रमलाई जारी राखेको बताए ।
छरिएर रहेका वैकल्पिक शक्ति एउटै प्लेटफर्म, एउटै भाँडो आवश्यक थियो । आजको मितिमा त्यो प्लेटफर्म रास्वपा नै हो, उनले भने । निर्वाचनअघि नै कतिपयले रास्वपा प्रधानमन्त्री र सरकार बनाउन हतार गरेको भन्ने प्रतिक्रियामा आफूहरु स्पष्ट रहेको उनले बताए।
उनकाअनुसार सहयात्राको मुख्य राजनीतिक सन्देश नै दुई तिहाइको सरकार र बालेन शाह प्रधानमन्त्री हो । अहिले रास्वपाले संसदीय दलको नेताका रूपमा बालेनलाई अघि सारिसकेको छ । एक महिना अघि देश चुनावतर्फ जान्छ कि जाँदैन भन्ने अनिश्चितता थियो । संसद् पुनःस्थापनाको चलखेल र सरकार ढाल्ने प्रयास चलिरहेका थिए । तर बालेन र रवि एक ठाउँमा आएपछि देश चुनावतर्फ होमिएको छ, उनले भने, “बालेन पक्ष चुनावका लागि अत्यन्तै निर्णायक छ । देशभर फैलिएको ऊर्जाले चुनाव टार्ने तत्वहरूलाईसमेत पछि हट्न बाध्य बनाएको छ ।







