काठमाडौँ । मानवसेवा आश्रममा आश्रित व्यक्तिहरूसँग मन र शरीरबीचको सम्बन्धबारे समूहगत मनाेसामाजिक परामर्श दिइएकाे छ । नेपाल सरकारद्वारा सञ्चालित ‘स्वस्थ मनः स्वस्थ जीवन’ मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ लाई समर्थन गर्दै “मनका कुरा गरौँ” भन्ने मूल नारासहित आश्रमको रानीवन शाखामा मंगलबार कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा सामान्य रूपमा मानिसका भावना खुसी, डर, रिस, घृणा, दुःख र चिन्ताकसरी शरीरमा देखा पर्छन् र शरीरका कुन अंगमा कस्तो अनुभूति हुने गर्छ भन्ने विषयमा छलफल गरिएको थियो। आश्रितहरूले आफ्ना व्यक्तिगत अनुभवहरू साझा गर्नुका साथै जिज्ञासा समेत राखेका थिए। सहभागीहरूको प्रश्नको उत्तर व्यवहारिक उपाय र उपलब्ध स्रोतका आधारमा दिइनुका साथै भावनात्मक अवस्थाको व्यवस्थापनबारे जानकारी प्रदान गरिएको थियो।
छलफलका क्रममा केही आश्रितहरूले ‘रिस धेरै आउने र नियन्त्रण गर्न गाह्रो हुने’ तथा ‘सुत्न खोज्दा मनमा धेरै कुरा खेलिरहने’ समस्याबारे जिज्ञासा राखेका थिए। ती विषयमा व्यावहारिक सुझाव दिइनुका साथै आवश्यक देखिएका केसहरूलाई व्यक्तिगत परामर्श (Individual Counseling) मार्फत अघि बढाउने योजना बनाइएको छ। आगामी दिनहरूमा यस्ता विषयमा निरन्तर समूहगत छलफल सञ्चालन गरिने जनाइएको छ।
कार्यक्रममा सहभागीहरूलाई मानसिक स्वास्थ्यको महत्व, नेपाल सरकार तथा मानवसेवा आश्रमले सञ्चालन गरिरहेका सेवाहरू र ११६६ निःशुल्क मानसिक स्वास्थ्य हेल्पलाइनको प्रयोगबारे जानकारी गराइएको थियो। कार्यक्रममा मनोपरामर्शकर्ता एकता श्रेष्ठले सहजीकरण गर्नुभएको हाे।







