काठमाडौँ, १० मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल मा जनकपुर बोल्ट्सले आमा स्पेसल जर्सी लगाएर खेल्ने भएको छ । जनकपुरले बिहीबार हुने पोखरा एभेन्जर्सविरुद्धको खेलमा आमा स्पेसल जर्सी लगाएर खेल्ने भएको हो ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जनकपुर बोल्ट्सका व्यवस्थापक निरोज खतिवडाले बिहीबार हुने खेलमा सबै खेलाडीले आआफ्नो आमाको नाम लेखिएको जर्सी लगाउने जानकारी दिए । उनले भने, आमाको सम्मानमा उक्त जर्सी लगाउने निर्ण भएको हो ।
बिहीबार पनि उक्त जर्सी लगाएर खेल्ने र त्यसपछि ती जर्सीलाई बिक्रीका लागि अक्सनमा राखिने जनाइएको छ । जर्सी बिक्रीबाट सङ्कलन भएको रकम आमा समूहलाई प्रदान गरिने खतिवडाले बताए । सुरुआती दुवै खेलमा पराजित भएको साविक विजेता जनकपुर बोल्ट्स बिहीबार भने पहिलो जितेको खोजीमा हुनेछ ।







