१० मंसिर २०८२, बुधबार
कोशी मुख्‍य समाचार समाज

झापामा दोस्रो जिल्लास्तरीय ‘डोरीतान आउटडोर’ च्याम्पियनसिप

सुरुङ्गा झापा, ९ मङ्सिरः यहाँ जिल्लास्तरीय दोस्रो डोरीतान आउटडोर च्याम्पियनसिप आयोजना गरिएको छ । यही मङ्सिर ११ गते हल्दीबारी गाउँपालिका–५ स्थित मोति आधारभूत विद्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतियोगिताको उद्घाटन कोसी प्रदेशका सभामुख अमरबहादुर विष्टले गर्ने कार्यक्रम तय भएको सोमबार विर्तामोड पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । प्रतियोगितामा तीन विभागीय र १५ वटा पालिका गरी १८ समूहले सहभागिता जनाउने जिल्ला डोरीतान सङ्घकी अध्यक्ष युनिता दवाडीले जानकारी दिए ।

प्रतियोगिता बिहान ११ः०० बजेदेखि सुरु हुने र साँझ ५ः०० बजे समापन हुने छ । प्रतियोगिताका विजेताले रु ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु ३१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिताको आयोजना जिल्ला डोरीतान सङ्घ र हल्दीबारी जेसिजको संयुक्त आयोजनामा हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, कोशी प्रदेश डोरीतान सङ्घ र हल्दीबारी गाउँपालिका संरक्षकका रूपमा रहेका छन् ।

नेको इन्स्योरेन्स, कामाक्षा टी प्रोसेसिङ प्रालि र मोती आधारभूत विद्यालय सहयोगीका रूपमा रहेको हल्दिबारी जेसिजका महासचिव प्रायुष पौडेलले जानकारी दिनुभयो । डोरीतान खेलमार्फत युवालाई सक्रिय, अनुशासित र दक्ष जनशक्तिमा रूपान्तरण गर्न प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी २०० बढी खेलाडीका लागि खाजा तथा खानाको व्यवस्थासमेत गरिएको पत्रकार सम्मेलनमार्फत सङ्घकी अध्यक्ष दवाडीले जानकारी दिए । उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न रु नौ लाख ८२ हजार खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगिताको पहिलो संस्करण विसं २०७९ मा आयोजना गरिएको थियो । अघिल्लो संस्करणमा कचनकवल गाउँपालिकाले उपाधि हात पारेको थियो भने बुद्धशान्ति गाउँपालिका फस्र्ट रनर–अप भएको थियो । उक्त संस्करणमा ११ पालिका र तीन विभागीय समूहसहित १४ वटा समूहको सहभागिता थियो ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व