दोधारा चाँदनी कञ्चनपुर, २८ कात्तिकः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म फर्निचरको काम गर्थे ।
उक्त कामबाट परिवारको जोहो गर्न मुस्किल पर्न थालेपछि त्यसको विकल्पको खोजी गरे । एक दिन उनका साथीले काष्ठकलाका सामग्री बनाउने भिडियो उनको मोबाइलमा पठाए । इन्टरनेटमा भिडियो देखेपछि मलाई काष्ठकलाका सामग्री बनाउने इच्छा लाग्यो र यसमै लागेँ, महराले भने, हाउस डेकोरेसनको काम गर्दा कहिले काम पाइन्थ्यो, कहिले पाइँदैनथ्यो घर खर्च चलाउनै समस्या हुन्थ्यो, अहिले मजदुरी भन्दा यसमा फाइदा छ । उनले दुई वर्षअघिदेखि विजयसालको काठ र बाँसबाट गिलास, जग, बोत्तल, अम्खोरा, कचौरा, फूलदानी, मसलादानी, बेलनालगायत सामग्री बनाउने गरेको बताए ।
उत्पादन गरिएका काष्ठ र बाँसका सामग्री रु पाँच सयदेखि रु दुई हजारसम्ममा बिक्री हुने गरेका छन् । युट्युबकै सहायताबाट अहिले उनले काठका भाँडाकुँडा तयार पार्दै आएका छन् । अहिले मासिक रु ४० हजारभन्दा बढी आम्दानी हुन्छ, पहिला महिनौँसम्म खाली बस्नुपथ्र्यो, महराले भने, यसरी राम्रो आम्दानी गर्न सकिएला भन्ने साचेकै थिइनँ । अहिले उनले उत्पादन गरेका सामग्री खरिद गर्न घरमै पुग्नुहुन्छ । उनले उत्पादन गरेका सामग्री बिक्री गर्न समस्या नरहेको बताए। माग त धेरै आउँछ, मागअनुसार मैले उत्पादन गर्न सकेको छैन एक्लै छु, उनले भने, यहाँका सामुदायिक वनले राम्रो गरेका छौँ भनेर कच्चा पदार्थ दिने गरेका छन् ।
पछिल्लो समय युट्युबलगायत विभिन्न सामाजिक सञ्जालमा मानिस लामो समय बिताउने गरेका छन् । तर यी सञ्जालहरूको सदुपयोग गर्न जानेमा धेरै लाभ लिन सकिन्छ भन्ने एक उदाहरणीय पात्र बनेका महरा । उनले पारिवारिक समस्याका कारण ज्याला मजदुरी गर्दागर्दै यहाँसम्म पुगेको महराको भनाइ छ । आर्थिक अभावले छिटो पैसा कमाउने भन्ने सोच थियो ।
यसमा मलाई यति राम्रो आम्दानी होला भन्ने कल्पना गरेको थिइनँ, महराले भने, अहिले सन्तुष्ट छु राम्रै कमाइ भइरहेको छ । उनले स्वदेशमै लगनशील भएर आफ्नो सीपको सदुपयोग गरे यहाँ मनग्य आम्दानी गर्न सकिने बताए ।







