Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो : सभामुख घिमिरे

रातो कागज
15 मिनेट अघि

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा संघीय संसद प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुभकामना सन्देश जारी गरेका छन् । सन्देशमार्फत सभामुख घिमिरेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

सभामुख घिमिरेले संविधान निर्माणमा योगदान पु¥याउने सम्पूर्ण व्यक्तित्वहरूप्रति उच्च सम्मान व्यक्त गर्दै विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनले नेपाली जनताको करिब सात दशक लामो संघर्ष, त्याग र बलिदानबाट वि.सं. २०७२ साल असोज ३ गते जारी भएको संविधानले नेपाललाई सहभागितामूलक, समावेशी र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा अगाडि बढाउने महत्त्वपूर्ण दस्तावेजका रूपमा स्थापना गरेको उल्लेख गरेका छन् ।

सन्देशमा संविधान जारी भएको एक दशकको यात्रामा नेपालले लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्दै महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको सभामुख घिमिरेको भनाइ छ । संघ, प्रदेश र स्थानीय तहका निर्वाचन सम्पन्न भई जनप्रतिनिधिहरूको सहभागितामा सरकार सञ्चालनको नयाँ अभ्यास अघि बढिरहेको पनि उनले बताए ।

हालै भदौ २३–२४ गते भएको भ्रष्ट्राचार विरोधी आन्दोलनका क्रममा हिंसा र क्षति भएको उल्लेख गर्दै, त्यस घटनाबाट संविधानप्रति जनभावना र संवेदनशीलता स्पष्ट देखिएको भन्दै लोकतन्त्रको अभ्यास संविधानमै सुरक्षित रहेको कुरामा उनले जोड दिएका छन् ।

‘लोकतान्त्रिक शासन प्रणालीको विकल्प अझ उन्नत लोकतन्त्र मात्र हुन सक्छ,’ भन्दै उनले संविधानको रक्षा गर्दै आवश्यक परे विधिसम्मत् परिमार्जनमार्फत समुन्नत र सभ्य समाज निर्माण गर्नु आजको आवश्यकता भएको दोहोर्याएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ ले नेपालीहरूमा संविधानप्रति सम्मान, राष्ट्रिय एकता, गौरव र समर्पणको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै सभामुख घिमिरेले पुनर्निर्माणको अभियानमा सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया