Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

कांग्रेस जनसम्पर्क समिति समन्वय विभागको बैठक सम्पन्न, आन्दोलनको नाममा भएको हिंसा र अराजकता विरुद्ध घोर निन्दा

रातो कागज
1 घण्टा अघि

काठमाडौं । नेपाली कांग्रेसको जनसम्पर्क समिति समन्वय विभागको बैठक आइतवार सानेपास्थित पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवन परिसरमा सम्पन्न भएको छ । विभाग प्रमुख तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलको अध्यक्षतामा बसेको बैठकले हालै देशभर भएका अराजक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै घोर निन्दा र भत्र्सना गरेको छ ।

बैठकले भदौ २४ गते सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री डा. आरजु देउवामाथि आफ्नै निवासमा गरिएको सांघातिक आक्रमणको कडा शब्दमा निन्दा गर्दै उनीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

साथै, सोही दिन विभिन्न नेताहरुको निवास, नेपाली कांग्रेसको केन्द्रीय तथा जिल्ला कार्यालयहरु, सिंहदरबार, सर्वोच्च अदालत, संघीय संसद भवन, सरकारी कार्यालयहरु, प्रदेशसभा तथा मन्त्रालयहरु, उद्योग तथा निजी व्यापारिक प्रतिष्ठानहरुमा गरिएको आगजनी र तोडफोडप्रति बैठकले गहिरो चिन्ता व्यक्त गरेको छ ।

बैठकले नेपाली कांग्रेसले देशमा निरंकुश राणा शासन, पञ्चायत र राजतन्त्र अन्त्य गरी लोकतन्त्र स्थापना गर्न पु¥याएको योगदानलाई स्मरण गर्दै, वर्तमान किशोर पुस्ताको आन्दोलनको आडमा नियोजित ढंगमा भएको हिंसात्मक प्रहारलाई अस्वीकार्य ठहर गरेको छ ।

बैठकले नेपाली कांग्रेसले सधैँ लोकतन्त्रको संरक्षण र संवद्र्धनमा अग्रसर रहेको स्पष्ट पार्दै, ‘हामी फेरि जुट्नेछौं, एकजुट भई उठ्नेछौं, खरानीबाटै उठेर देशलाई समुन्नतिमा पु¥याउनेछौं’ भन्ने दृढ संकल्प व्यक्त गरेको छ ।

बैठकले हालै संविधानको मर्म र मान्यताको उल्लंघन गर्दै प्रधानमन्त्री नियुक्ति र त्यसपछिको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक करार दिएको छ। साथै, संसदमार्फत सम्बोधन गर्न सकिने मागहरुप्रति आन्दोलनकारी पक्षलाई संवैधानिक प्रक्रिया अपनाउन आह्वान गरिएको छ ।

२०८२ भदौ २३ गते जेनजी पुस्ताले गरेका प्रदर्शनका क्रममा प्रहरीले संयमता गुमाएर गोली प्रहार गर्दा ज्यान गुमाएका किशोरकिशोरीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बैठकले शोकसन्तप्त परिवारप्रति समवेदना जनाएको छ । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ ।

समन्वय विभागको बैठकले सम्पूर्ण पार्टी नेता तथा कार्यकर्तालाई लोकतन्त्र, संविधान र शान्तिपूर्ण समाजका पक्षमा दृढ रहन आग्रह गर्दै, आमनागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्न स्थानीय तह र जिम्मेवारी क्षेत्रमार्फत सक्रिय भूमिका निर्वाह गर्न अपिल गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया