Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

न्यायलयमा महिलाहरुको उपस्थिति बढाउन जरुरी भइसक्यो

रातो कागज
4 घण्टा अघि

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले न्यायको मूर्तीमा महिलाको परिकल्पना गरिएको पनि संरचनामा पुरुषको सहभागिता बढि भएको बताएकी छन् ।

सोमबार काठमाडौंमा आयोजित प्रथम महिला सरकारी वकिलहरुको प्रथम राष्ट्रिय  सम्मेलनमा बोल्दै उनले न्यायालयमा विस्तारै महिलाको उपस्थिति बढाउनुपर्ने भन्दै न्यायको मान्यतामा पनि परिवर्तन भइरहेको बताइन् ।

उनले भनिन्, ‘न्याय भन्ने वित्तिकै हामीले आँखा बन्द गर्ने हो भने एउटा महिलाको मूर्ती आँखामा आउँछ । तर न्याय दिने ठाँउमा अहिले हेर्ने हो भने धेरै प्रभुत्व पुरुषको छ । हुन त पुरुषको पनि महत्व त छ । पहिला न्यायको मूर्तिको आँखा बन्द हुन्थ्यो भने अहिले खोलिएको हुन्छ यसको अर्थ अब उसले आँखा खोलेर हेरेर बुझेर समाजलाई हेर्नुपर्छ भन्ने सोच आएको हो । यसको साथै न्यायालयमा विस्तारै महिलाको उपस्थिति बढिरहेको छ र न्यायको मान्यतामा पनि परिवर्तन भइरहेको छ ।’

साथै, उनले विविधता आवश्यक भएपनि विविधताभित्र महिलाको सहभागिता धेरै महत्वपूर्ण रहेको बताइन् ।

छोटो रुपमा महिलाको लागि सांस्कृतिक, सामाजिक चुनौती त छदै छ साथै वर्तमान अवस्थामा पनि कानून पनि चुनौतीको रुपमा देखा परेको उनको भनाई छ ।

सोही कार्यक्रममा बोल्दै महान्यायाधिवक्ता रमेश बडालले महिला आन्दोलनको कारणले कानुनमा मात्रै परिवर्तन नभइ संस्कारमा पनि परिवर्तन भएको बताए । संकारमा भएको परिवर्तनले कानुन परिवर्तनमा सजिलो बनाइदिएको उनको भनाई छ ।

उनले भने,‘हामीहरुले यो कुरा बिर्सन हुँदैन् । महिला आन्दोलनको कारणले कानुनमा मात्रै परिवर्तन भएको छैन् । संस्कारमा पनि परिवर्तन भएको छ । संकारमा भएको परिवर्तनले कानुन परिवर्तनमा सजिलो बनाइदिएको छ ।’

त्यस्तै उनले सम्पतिको विषयमा महिलाको स्वामित्वमा भएन भने जतिसुकै कानुनी अधिकारको प्रत्याभूति गरेपनि महिलालाई उठाउन सकिँदैन् भन्ने भनाई स्थापित भएको धारणा राखे ।

‘सम्पतिको विषयमा महिलाको स्वामित्वमा भएन भने जतिसुकै कानुनी अधिकारको प्रत्याभूति गरेपनि महिलालाई उठाउन सकिँदैन् भन्ने भनाई स्थापित भयो त्यो कुरालाई बुझिसकेपछि महिलाको सम्पतिको हक बढाउने कसरी ?’ उनले भने ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया