Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

संसारमा सबैभन्दा ठूलो कर्म भनेको श्राद्ध हो’

रातो कागज
1 घण्टा अघि

प्रत्येक महिनामा सामान्यतया दुई पक्ष पर्दछ । यसमा कृष्ण पक्ष र शुक्ल पक्ष पर्छ । तर, प्रत्येक वर्ष दसैँ आउनुभन्दा अगाडि आश्विन कृष्ण पितृपक्ष आउँछ । यसलाई नै सोह्रश्राद्ध अर्थात् पार्वण श्राद्ध भनिन्छ । श्राद्ध भन्नाले सामान्य अर्थमा बुझदा आ–आफ्नो योग्यता एवम श्रद्धा अनुसार गरिने कार्य भन्ने बुझिन्छ । यसमा यति नै गर्नुपर्छ भन्ने हुँदैन ।

पितृपक्षका १६ दिन विभिन्न तिथिहरूमा विभिन्न कारणले मृत्यु भएका पितृहरूको श्राद्ध गरिन्छ । उनीहरूको आत्मालाई शान्ति मिलोस् भनेर सम्मान, कृतज्ञता र योगदानलाई स्मरण गर्दै आशीर्वाद लिने गरिन्छ । सोह्रश्राद्ध जसलाई पितृपक्ष वा महालय श्राद्ध पनि भनिन्छ । सोह्रश्राद्धको महिनाभर चोखो निधो गर्नुपर्ने पण्डित डा.उत्तम लोचन न्यौपानेले बताए ।

उनले  श्राद्ध गर्ने मान्छेले करिब २४ घण्टा अगाडि कपाल खौरिनु पर्ने, देउता वस्त्र अनुसार धोती धारणा गर्ने, एक छाक शुद्ध खाने र स्नान गर्नपर्ने बताए । उनले श्राद्धमा महिलाको भूमिका सबैभन्दा धेरै हुने बताए । उनले श्राद्धमा ९० प्रतिशत भूमिका  रहने बताए । उनले नारीहरुको कर्मको प्रभावको कारणले गर्दा खुशी, उत्साह र उमङ्ग पितृहरुले प्राप्त गर्र्ने समेत बताएका छन् ।

‘जो श्राद्धकर्ता हो, उसले करिब १२–१५ घण्टा अगाडि अर्थात् २४ घण्टा अगाडि कपाल खौरिनुपर्ने हुन्छ अनि देउता वस्त्रमा धोती धारणा गर्नुपर्छ । सकेसम्म सेतो वस्त्र लगाउने, एक छाक शुद्ध खाने, स्नान जस्ता कर्महरु गर्नुपर्छ । पहिलो दिन पितृको स्मरण गर्ने अनि भोलिपल्ट श्राद्धका कर्महरु विशेष रुपले गर्नुपर्छ । विशेष गरेर श्राद्धमा महिलाको को ९० प्रतिशत नै भूमिका रहन्छ’, उनले भने ।

महिलाहरुले बिहान चारबजे उठेर घरलाई लिपपोत गर्ने, चोख्याउने कर्म गरेर त्यसपछि भोजन बनाउने कार्यहरु गर्नुपर्ने हुन्छ  । ती सारा काम गरेर पनि जति इष्टमित्रहरु, कुल कुटुम्ब, दाजुभाइहरु आदीलाई खुवाईपियाइ गरेर राति अबेरसम्ममा भाँडाहरु माझेर सबै थनक्याउनुपर्ने बाध्यतामा पर्छन । त्यसैले पनि महिलाको भूमिका बढी देखिन्छ । नारीहरुको कर्मको प्रभावका कारण पितृहरुले खुशी, उत्साह र उमङ्ग प्राप्त गर्न गर्छन् भन्ने विश्वास पनि छ,’ उनले भने ।

उनले पितृलाई विशेष सेतो–पहेंलो बढी मनपर्ने, सेतो–पहेंलो फूलहरु चढाउनुपर्ने पनि बताए । सोह्रश्राद्धका दिनमा जसले श्राद्ध गरिदिन्छ र श्राद्ध लिन भनेर पितृहरु लोकमा आउने भएकाले श्राद्ध गरिदिनले हर्षोल्लास वा आनन्दका साथ, भक्तिका साथ अर्पण गर्नाले पितृले आशिर्वाद दिने पनि बताए ।

‘पितृका लागि विशेष गरेर सेतो–पहेंलो कपडा वा फुलहरु बालुवाका आकृतिहरु, गंगाजल, आफ्नो खेतीबाट उब्जनी भएका अन्नहरु दान गर्ने, आलु, चामल आवश्यक पर्छ । १६ श्राद्धका दिनहरुमा पितृहरु अब मेरो नातीले या मेरा सन्तानले वा जसले श्राद्ध गरिदिन्छ श्राद्ध लिन भनेर पितृहरु लोकमा आउँछन् भन्ने विश्वास छ,’ उनले भने ।

उनले सोह्रश्राद्धमा जसको मृत्यु भएको छ, उनीहरुको स्मरण गर्दै पिण्ड दिने चलन रहेको बताए ।  श्राद्धका १६ दिनसम्म रहने दिवंगत पितृहरुलाई मात्र नभई जुनसुकै शुभकार्य गर्दा वा विवाहको पूर्वसन्ध्यामा पूर्वाङ्ग गर्नपर्ने चलन रहेको बताए ।

‘भाद्र शुक्ल पुर्णिमा पर्यन्त १६ दिनसम्म आश्विन कृष्ण प्रतिपदा आश्विन कृष्ण औसी पर्यन्तसम्मको र प्रतिपदादेखि सोह्रश्राद्ध प्रारम्भ हुन्छन् । उक्त समय दिवंगत पितृहरु साथै तीन पुस्ताको स्मरण गरिन्छ । जसको मृत्यु भएको छ, उनीहरुको स्मरण गर्दै पिण्ड दिने चलन छ । श्राद्धका क्रमहरु जुन १६ दिनसम्म रहने दिवंगत पितृहरुलाई वा जुनसुकै शुभकार्य गर्दा श्राद्धका विधिहरु अपनाइन्छ । जस्तै विवाहको पूर्वसन्ध्यामा पूर्वाङ्ग गरिन्छ चाहे कुमारीको होस् चाहे कुमारको । श्राद्ध अर्थात् शुभकार्य गर्दा पहिले पितृलाई बुझाउँछौं । त्यसपछाडि देवकर्म पक्षका कामहरु गरिन्छ । त्यस कारण श्रद्धासाथ गरिने विषयलाई नै श्राद्ध भनेर भनिन्छ ।’

उनले तीन पुस्ता भित्रकाहरुका लागि तिथि मानेर पुरुष प्रधान मानेर श्राद्ध गर्ने प्रचलनहरु अर्थात सोह्रश्राद्धको नियमहरु रहेको बताए ।  पिताको तिथि अगाडि आयो भने पिताकै तिथिमा श्राद्ध गर्ने प्रचलन रहेको छ । यदि हजुरबाको तिथि अलि चाँडै आयो हजुरबाकै तिथिमा गर्ने पनि रहेको छ । यदि बुढो हजुरबाको आयो भने तीन पुस्ता भित्रका तिथि आयो भने पुरुष प्रधान मानेर श्राद्ध गर्ने प्रचलनहरु अर्थात सोह्रश्राद्धको नियमहरु रहेका छन् ।

उनले सोह्रश्राद्धभरी शंख घण्ट बजाउन नहुने बताए । नवरात्र प्रारम्भ भए पछाडि दुर्गाको लागि उत्साह र उमंगका साथ मठमन्दिर जाने शंखघण्ट बजाउने, रातो वस्त्रहरु लगाउने चलन रहेको समेत बताए ।

‘सोह्रश्राद्धभर शंख घण्ट बजाउन पनि हुँदैन । शालिग्रामको पूजा गर्दा शंखघण्ट पनि बजाउन भएन । जब नवरात्र प्रारम्भ हुन्छ त्यस पछाडि दुर्गाको लागि उत्साह र उमंगका साथ मठमन्दिर गएर शंख घण्ट बजाउने, रातो वस्त्रहरु लगाउने लगायतका कर्महरु गर्न पाइन्छ,’ उनले भने ।

त्यस्तै अर्का पण्डित विदुरलोचन न्यौपानेले सोहश्राद्धभरि शुद्ध पवित्र खानुपर्ने  माछा–मासु, लसुन, प्याज, यसको सम्झन नहुने भन्दै व्रत बस्दाखेरि घाम अस्ताउनु भन्दापूर्व शुद्ध पवित्र खाना खानुपर्ने बताए ।

सोह्र दिनसम्म नै स्नान, संध्या, वन्दनादी कर्म गरेर शुद्ध पवित्र हुनुपर्छ भन्ने शास्त्रीय मान्यता रहि आएको सुनाए ।

उनले सोह्रश्राद्धमा आफ्ना इष्ट–मित्र, नाता–गोता, बन्धु वर्ग, विशेष गरेर ब्राम्हणहरू, वेदाध्यायी ब्राम्हणहरू, कन्या कुमार र आफ्ना नातिहरू, पनातीहरू, मामाहरूले भान्जालाई बोलाएर खुवाउनाले लोकमा बस्नुभएका पितृहरूले जीवनमा कुनै प्रकारको अप्ठ्यारो नपरोस भनेर आशिर्वाद प्राप्त हुने बताए ।

त्यसरी श्रद्धा गर्नाले लोकमा बस्नुभएका पितृहरूले जीवनमा कुनै प्रकारको अप्ठ्यारो नपरोस भनेर पितृले आशिर्वाद प्रदान गर्ने विश्वास छ । संसारमा सबैभन्दा ठूलो कर्म भनेको श्राद्ध भएकाले यदि श्राद्ध गरिदैन्, पितृलाई मानिदैन भनियो भने कुनै प्रकारको धर्मकर्म गरेको अर्थ नहुने उनले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया