Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

अन्य विद्यार्थीसँगै पढ्छन् अपाङ्गता भएका विद्यार्थी

रातो कागज
7 घण्टा अघि

दोधारा चाँदनी कञ्चनपुर, १२ भदौः कञ्चनपुरको लालझाँडी गाउँपालिका–३ बल्मीस्थित पूर्णिमा आधारभूत विद्यालयमा शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई पनि अन्य विद्यार्थीहरुसँगै कक्षाकोठामा राखिएको छ । यस्ता विद्यार्थीका लागि छुट्टै शिक्षकको व्यवस्था गरिए पनि अन्य विद्यार्थीहरुसँगै राखेर पढाइन्छ ।

शारीरिक रूपमा अशक्त बालबालिका शिक्षाबाट वञ्जित नहोऊन् भन्ने उद्देश्यले अन्य विद्यार्थीसँगै कक्षा कोठामा राखेर पठनपाठन गर्ने गरिएको पूर्णिमा आधारभूत विद्यालयका प्रधानाध्यापक लोकबहादुर वडायकले जानकारी दिए । उनका अनुसार यस वर्ष मात्रै विद्यालयले चार जना अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा भर्ना गरेको छ ।

बालविकास कक्षामा अपाङ्गता भएका बालबालिकालाई पठनपाठनका लागि दातृ निकायको सहयोगमा छुट्टै शिक्षकको व्यवस्था गरिएको छ । हामीले वडामा रहेका अपाङ्गता भएका बालबालिकाको पत्ता लगाएर विद्यालयमा भर्ना गर्न लगायाँै प्रधानाध्यापक वडायकले भने, अरूलाई देखेर पनि बालबालिकाको मनोबल बढ्छ कि भनेर हामीले विद्यालयमा भर्ना गरेका हौँ ।

विद्यालय भर्ना भएपछि बालबालिकामा सुधार आइरहेको उनको भनाइ छ । “कक्षा ५ मा एक जना बच्चा देख्न र बोल्न सक्दैनन्, तर पनि हामीले पढाइमा लगाव बढाउन उत्प्रेरित गरिरहेका छौँ, वडायकले भने ।

अपाङ्गता भएकै कारण घरको कोठाबाट बाहिर आउन नसक्ने लालझाडी गाउँपालिका–३ बल्मीकामयन्क राना हाल कक्षा कोठामा अन्य विद्यार्थीसँगै पढाइ गर्छन् । मैले त छोरा यसरी विद्यालयमा भर्ना होला भन्ने कल्पनासमेत गरेकी थिएन, आमा श्रीमतु रानाले भने, हाल छोरा अलिअलि हिँड्छ, विद्यालयमा भर्ना भएको छ । विद्यालयमा ल्याउने लिने काम म आफैँले गरिरहेकी छु ।

उनले छोराको खुट्टामा समस्या भएका कारण विगतमा हिँडडुल गनए सकिँदैन भनेर घरमै राख्ने गरेको भए पनि नजिकैको विद्यालयले भर्नौ लिने र पढाउने भनेपछि हाल केही सहज भएका भन्दै खुसी व्यक्त गरे । छोरो बस्न र हिँड्डुल गर्न सक्दैन थियो,धेरै अस्पतालमा उपचारका लागि गए, केही सुधार भएन । विद्यालय भर्ना भएपछि पहिलाको तुलनामा धेरै फरक आएको छ । धेरै खुसी छु, रानाले भने ।

हाल उक्त विद्यालयको बालविकास कक्षामा तीन जना अपाङ्गता भएका बालबालिका छन् ।

यहाँको भानु माध्यमिक विद्यालयमा पनि अपाङ्गता भएका विद्यार्थीलाई अन्य विद्यार्थीसँगै राखेर अध्यापन गरिँदै आइएको छ । विद्यालयका प्रधानाध्यापक वेदप्रसाद उपाध्यायले हाल अपाङ्गता भएका विद्यार्थीलाई लक्षित कक्षा कोठा व्यवस्थापन गरेर पठनपाठन भइरहेको जानकारी दिए ।

कक्षामा कम सुन्ने, पछाडिबाट बोर्डमा लेखेको नदेख्ने र शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई कक्षामा छुट्टै बस्ने व्यवस्थापन गरेर पठनपाठन गरिरहेका छौँ, उनले भने, अझै पनि धेरै अपाङ्गता भएका विद्यार्थीहरू शिक्षाको पहुँच बाहिर छन् । यस पटक हामीले विद्यार्थी भर्ना अभियानमा अपाङ्गता भएका बालबालिकालाई समेत भर्ना गरेका छौँ । यहाँ २३ जना अपाङ्गता भएका विद्यार्थीले अध्ययन गर्ने अवसर पाएका छन् ।

सामान्यतः अपाङ्ता भएका बालबालिकाका लागि छुट्टै विद्यालय हुनुपर्ने व्यवस्था छ, तर यस क्षेत्रमा त्यस्तो विद्यालय छैन । जसले गर्दा धेरैजसो अभिभावक शिक्षाबाट वञ्चित भइरहेका छन् । यहाँका दुई विद्यालयले अन्य विद्यार्थीसँगै राखेर अपाङ्गता भएका बालबालिकालाई पनि अध्ययन गराउन थालेपछि केही सहज भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया