रातो कागज

काठमाडौं । अस्ट्रेलियामा जारी टप इन्ड सिरिज क्रिकेट प्रतियोगितामा नेपाली टोलीले लगातार दोस्रो जीत हासिल गरेको छ । नेपाली टोलीले बुधबार आफ्नो पाँचौं खेलमा मेलबर्न रेनगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो ।
नेपालले टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो ।
मेलबर्न रेनगेड्सलाई लक्ष्यसम्म पुग्न नदिन नेपाली टोलीका बलर सोमपाल कामी एक्लैले पाँच विकेट लिए । उनले चार ओभरमा केवल १५ रन खर्चिए । उनले अन्तिम ओभरमा दुई विकेट लिए । कुशल भुर्तेलले पनि दुई विकेट लिए । साहब आलम र रुपेश सिंहले पनि एक–एक विकेट हात पारे ।
त्यसअघि, पहिले ब्याटिङ गरेको नेपालले सन्तोषजनक शुरूआत गर्न सकेको थिएन । नेपाली टोलीका कप्तान रोहित पौडेलसँगै नियमित ओपनर आसिफ शेख, प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेलगायतका खेलाडी मेलबर्न रेनगेड्स एकेडेमीविरुद्धको खेलमा मैदानमा ओर्लिएका थिएनन् ।
ओपनर कुशल भुर्तेल एक रन बनाउँदै पेभेलियन फर्किए । अर्का ओपनर भीम सार्की पनि १७ रनभन्दा अगाडि बढ्न सकेनन् । तेस्रो नम्बरमा क्रिज सम्हाल्न आएका आरिफ शेख पनि १२ रनमै आउट हुँदै पेभेलियन फर्किए ।
अनुभवी खेलाडी दीपेन्द्रसिंह ऐरीले २७ रन जोडे । उनले २८ बलको सामना गरी दुई चौका हिर्काए ।
जारी प्रतियोगितामा नेपाली टोलीले हात पारेको यो दोस्रो जीत हो । यसअघि, आफ्नो चौथो खेलमा नेपाली टोलीले होबर्ट हरिकन्स एकेडेमीलाई ६६ रनको फराकिलो अन्तरले हराएको थियो । नेपाली टोली तीन खेलमा भने पराजित भएको थियो ।
नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाली टोली बंगलादेशको ‘ए’ टोलीसँग ३२ रनले हारेको थियो । तेस्रो खेलमा नेपाली टोली मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो । टप इन्ड सिरिज अगस्त २४ तारिखसम्म सञ्चालन हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया