Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

कुवेतमा विषाक्त मदिरा सेवनबाट ९ जना नेपालीको मृत्यु, ३५ जना बिरामी

News and Updates
2 घण्टा अघि

काठमाडौं । खाडी मुलुक कुवेतमा तीन दिनको अवधिमा ९ जना नेपालीको मृत्यु भएको छ । विषाक्त मदिरा सेवनका कारण तीन दिनको अवधिमा ९ जनाको मृत्यु भएको नेपाली दूतावासले जनाएको छ । कुवेतमा विषाक्त मदिरा सेवनबाट करिब ३५ जना नेपाली अस्पतालमा भर्ना भएकोमा केही नेपालीको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालमा भर्ना भएकामध्ये केहीको अवस्था गम्भीर रहेको र केही अवस्था सामान्य रहेको जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुन साथ विभिन्न अस्पतालमा पुगेर नेपाली बिरामीहरूको अस्थाबारे जानकारी लिने काम भएको विज्ञप्तिमा उल्लेख छ ।

घटनाबारे सम्बन्धित अस्पताल र कुवेतको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग निरन्तर सम्पर्क गरी अस्पतालमा उपचाररत बिरामीहरूको उपचारको व्यवस्था मिलाउन निरन्तर समन्वय गर्ने काम भइरहेको दूतावासले जनाएको छ ।

घटनाप्रति दुःख व्यक्त गर्दै दूतावासले स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थ सेवनबाट टाढा रहन समेत अनुरोध गरेको छ । दूतावासले निकालेको विज्ञप्तिमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको यकिन संख्या उल्लेख छैन ।

‘तीन दिनको बीचमा ९ नेपालीको मृत्यु भएको छ । कुवेतस्थित स्वास्थ्य मन्त्रालयले मेथानोल मदिराका कारण बिरामीहरू धमाधम अस्पताल भर्ना हुने क्रम बढेको उल्लेख गरेको छ । नेपाली ९ सहित अन्य एसियाली मुलुकका २३ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको छ ।

१ सय ६० जनाभन्दा बढी उपचारका क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

कुवेतस्थित आदान, फर्वनिया र मुबारक अलकबी अस्पतालमा बिरामीहरूको उपचार भइरहेको छ ।  कुवेतमा मदिरा पूर्णरूपमा प्रतिबन्धित छ । तर, पनि लुकिछुपी हुने उत्पादन गरी अवैधानिक बेचबिखन भएको पाइएको हो । विषाक्त मदिराको स्रोत पत्ता लगाउन अनुसन्धान भइरहेको स्वास्थ मन्त्रालयले जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धानमा मदिरामा मेथानोल प्रयोग भएको देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पुष्टि गरेका छन् । मेथानोल एक विषालु रसायन हो ।

उद्योगहरूमा एन्टिफ्रिज, सोल्भेट र इन्धन बनाउन प्रयोग गरिने मेथानोल मदिरामा प्रयोग भएको देखिएको अधिकारीहरूले बताएका छन् । सामान्य मदिरामा पाइने एथानोल मानव उपभोगका लागि प्रयोग हुने भएपनि मेथानोल खाद्य प्रयोजनमा प्रयोग गरिँदैन ।

मेथानोलयुक्त पेय पदार्थ पिउँदा टाउको दुखाइ, बान्ता, दृष्टि धमिलो हुने, कोमामा पुग्ने लक्षण देखिन्छ भने व्यक्तिको मृत्यु समेत हुनसक्छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया