Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

‘प्राकृतिक सम्पदा जोगाउन सामुदायिक वनको योगदान अतुलनीय’

रातो कागज
2 घण्टा अघि

विराटनगर, ३० साउनः कोशी प्रदेशमा वन संरक्षण एवं व्यवस्थापनमा सामुदायिक वनले ठूलो सफलता हासिल गरेको छ । सामुदायिक वन दिवसको अवसरमा देशभरमै उत्कृष्ट स्थान हासिल गरी मोरङको केराबारी गाउँपालिका–९ स्थित देवीझोडा सामुदायिक वन उपभोक्ता– समूहले रु एक लाख राशिको गणेशमान सिंह राष्ट्रिय सामुदायिक वन प्रथम पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

नेपाल सरकार, वन तथा भू–संरक्षण विभागद्वारा सो दिवसको अवसरमा समुदायमा आधारित वन व्यवस्थापन समूह, निजी वन धनी र वन कर्मचारीलाई विभिन्न पुरस्कार दिएर सम्मान गरेको हो । कबुलियती वनतर्फ म्याङ्लुङ–१, तेह्रथुमको प्रमाने पखेरा कबुलियती वन उपभोक्ता समूहले प्रथम स्थान हासिल गरी रु ७५ हजार तथा साझेदारी वनतर्फ मोरङ, बेलवारीस्थित बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहले देशभरमै द्वितीय स्थान हासिल गर्दै रु ५० हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।

यसैगरी, निजी वनतर्फ झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीका भरतकुमार बस्नेतले प्रथम स्थान हासिल गरी रु ५० हजार तथा मोरङ ग्रामथान–४ की पुनमकुमारी भगतले द्वितीय स्थान हासिल गरी रु २५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेकी छन् ।

आफ्नो कार्य अवधिभर उत्कृष्ट र निष्ठावान भई वन संरक्षण तथा व्यवस्थापनमा काम गर्ने कर्मचारीतर्फ मोरङ डिभिजन वन कार्यालयअन्तर्गत बेलबारी सब डिभिजन वन कार्यालयमा कार्यरत सशस्त्र वन रक्षक गणेशबहादुर कार्कीलाई रु एक लाख राशिको गणेशबहादुर शाही वन संरक्षण प्रथम पुरस्कार तथा डिभिजन वन कार्यालय इलाममा कार्यरत सहायकस्तर पाँचौंँ तहमा कार्यरत फरेस्टर वन प्राविधिक मनिषा कार्कीलाई रु २५ हजार राशिको तृतीय पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ । यसका अतिरिक्त डिभिजन वन कार्यालय इलाम, झापा, मोरङ र तेह्रथुमलाईसमेत सम्मानित गरिएको छ ।

पर्यटन, वन तथा वातावरण मन्त्रालयका योजना अधिकृत विनिता सुवेदीका अनुसार कोशी प्रदेशमा सरकारद्वारा व्यवस्थित वनको सङ्ख्या पाँच, सामुदायिक वन तीन हजार ७१२, साझेदारी वन चार, कवुलियती वन ९८२, धार्मिक वन ५४ तथा निजी वन दुई हजार ८७ वटा रहेका छन् ।

यसैगरी, मोरङमा सामुदायिक वन १४१ र निजी वन ६१८ रहेका वन डिभिजन कार्यालय मोरङका सहायक वन अधिकृत रामलखन ठाकुरले जानकारी दिए । उनका अनुसार मोरङमा साझेदारी वन सात हजार २६२ हेक्टर, सामुदायिक वन २२ हजार ७६३ हेक्टर र निजी वन ७६० दशमलव ७५ हेक्टरमा फैलिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया