Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

तनहुँ जलविद्युत् आयोजनामा पानीको सतहबारे सूचना दिने सेन्सर जडान

रातो कागज
20 घण्टा अघि

दमौली तनहुँ, १५ साउनः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण स्थलमा पानीको सतहबारे सूचना दिने सेन्सर जडान गरिएको छ । आयोजनाले आपत्कालीन पूर्वतयारीका रूपमा सेती नदीमा पानीको सतह मापन, अस्थायी बाँधको सुरक्षाका लागि निरन्तर निगरानी र आपत्कालीन पूर्वतयारीलाई प्रभावकारी बनाउन पानीको सतह मापन गर्न सेन्सर जडान गरिएको हो ।

सेन्सर जडान गर्नुको मुख्य उद्देश्य मनसुनको बाढीबाट अस्थायी बाँध भत्किन सक्ने जोखिम न्यूनीकरण गर्नु रहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य योजना अन्तर्गत उक्त प्रणालीले बाढीको सतहको वास्तविक समयमा निगरानी गर्न मद्दत पुग्नुका साथै सार्वजनिक तथा अन्य सरोकार भएकासँगको सञ्चारलाई थप प्रभावकारी बनाउने उनले बताए ।

भण्डारीले भने, पानीको सतहसम्बन्धी जानकारी सहितको विवरण ‘मल्टिस्क्रिन डिस्प्ले’ बोर्डमा देखिन्छ, जसले महत्त्वपूर्ण सूचना समयमै र तत्कालै प्रवाह गर्न सहयोग पुग्नेछ । अस्थायी बाँध रहेको स्थान भौगोलिक रूपमा दुर्गम भएकाले रातिको समयमा त्यहाँ पुगेर स्थिति अवलोकन गर्न जटिल हुने भएकाले यस्तो प्रविधिले विपद् न्यूनीकरणमा सहयोग पु¥याउने उनले विशवास व्यक्त गरे ।

आयोजनाले मुख्य बाँधस्थल भन्दा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सेती नदीको जलसतह सतर्कता तहभन्दा बढेमा सतर्कताको पूर्वसूचना दिन आपत्कालीन अवस्थामा प्रभावकारी सञ्चार सुनिश्चित गर्न मोबाइल नम्बरमा सन्देश पठाउन सेवा प्रदायकसँग सम्झौता भइसकेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए । उनका अनुसार आयोजनाले आपत्कालीन अवस्थाको पूर्वसूचना दिन तल्लो तटीय क्षेत्रभित्रका समुदायलाई एकैपटक मोबाइल फोन प्रयोगकर्तालाई सतर्कता अपनाउने सन्देश समेटिएको एसएमएस पठाउनेछ ।

भण्डारीले भने, “यसका लागि त्यस क्षेत्रका बासिन्दाको मोवाइल नम्बर सङ्कलन गरिसकिएको छ । यस प्रणालीको उद्देश्य बाढीजस्ता आपत्कालीन अवस्थामा सम्भावित जोखिममा रहेका तल्लो तटीय बस्तीलाई समयमा सूचना प्रवाह गराई सार्वजनिक सुरक्षा र तयारी क्षमता अभिवृद्धि गर्नु हो । आयोजनाले बाढीका कारण नदीको बहावमा हुने वृद्धि र बाँधको गेट खोलेको पूर्वसूचना दिन १७ स्थानमा साइरन जडान गरिसकेको जनाएको छ । आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत बाँध निर्माणस्थलभन्दा तल्लो तटीय क्षेत्रमा पर्ने होक्सेटारबाट घुमाउने क्षेत्रका समुदायलाई पूर्वसूचना दिन साइरन जडान गरिएको भण्डारीले उल्लेख गरे।

उनले भने, “सेती नदीमा निर्माण हुने १४० मिटर अग्लो बाँध र सोबाट तल्लो तटीय क्षेत्रमा पानीको सतहमा आउन सक्ने उतारचढावका विषयमा अग्रिम सूचना दिन साइरन जडान भएर सञ्चालनमा आइसकेको छ । साइरन जडानपश्चात् बाँधमा जम्मा भएको पानीलाई प्राविधिक कारणले एकैचोटी छाड्नुपर्दा नदीमा अकस्मात आउन सक्ने बाढीबाट मानवीय क्षति नहोस् भन्नका लागि नदीमा नुहाउने, लुगा धुने, माछा मार्ने र पौडी खेल्नेकार्य गरिरहेका सर्व साधारणलाई पूर्वसूचना दिइने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया